सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सुरुमा नेताहरु श्रेष्ठ र पोखरेल गरी दुई कित्तामा देखिएका कार्यकर्ता सचिवालय बैठकले यससम्बन्धि निर्णय नगरी स्थगित भएपछि भुसालद्वयको पक्षमा मोडिएका हुन् ।
नरेश न्याैपानेकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभाग प्रमुखमा स्थायी समिति सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले दाबी गर्नुभएको छ । नौ जना नेता रहेको सचिवालयमा पार्टीको स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्ने विषयमा मतान्तर देखिएपछि स्थायी समितिमा रहेका नेता भुसालद्वयले दाबी प्रस्तुत गर्नुभएको हो ।
पार्टीमा महत्वपूर्ण मानिने स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले आ -आफ्नो दाबीसहितकाेअडान राखेपछि यससम्बन्धि निर्णय गर्न बसेको बैठक समेत स्थगित भएको थियो । श्रेष्ठ र पोखरेलको दाबीका कारण अध्यक्षद्वयलाई निर्णय गर्न समेत अफ्ठ्यारो परेको छ ।
पार्टी स्कुल विभाग कसले पाउने भनेर सचिवालय तहमा तानातानी चलिरहेका बेला भुसालद्वयको दाबी बाहिर आएको हो ।
तत्कालिन नेकपा एमालेमा वैचारिक छवि बनाउनुभएका भुसालद्वय पार्टीमा समेत स्वच्छ छवी भएका नेतामध्येमा पर्नुहुन्छ । घनश्याम भुसाल पार्टीमा लामो समयदेखि वैचारिक अभियान सञ्चालन गर्दै आउनुभएको छ भने वेदुराम भुसालले पनि लामो समयदेखि स्कुल विभागमा रहेर काम गरेको अनुभव संगाल्नुभएको छ । सादा जीवनशैली र विचार खारिएका भुसालद्वय दर्शनशास्त्र र माक्र्सवादमा उत्तिकै दख्खल राख्नुहुन्छ ।
तत्कालिन नेकपा एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका घनश्याम भुसाल माक्र्सवादी प्रशिक्षण र त्यससम्बन्धि अध्ययनबाट पार्टीको विचार निर्माणमा खेलेको भूमिकाको कदर गर्दै आफुलाई स्कुल विभागको जिम्मेवारी दिइनु न्यायसंगत हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पार्टीभित्र न्याय छ भने त्यो विभाग मलाई दिनुपर्छ ।’
त्यस्तै, यही विभागमा दाबी प्रस्तुत गर्नुभएका नेता वेदुराम भुसालले दर्शनशास्त्र र माक्र्सवादकै विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । आफुले अरु नेताहरु जस्तो प्रचार नगराएपनि शीर्ष नेताहरुलाई आफ्नो दाबीबारे अवगत गराइसकेको उहाँको भनाई छ । पार्टी स्कूल विभागमा आफुले जति अन्य कुनै नेताले काम नगरेको भुसालको तर्क छ । भुसाल पूर्व एमालेमा स्कुल विभागको प्रमुख हुँदा पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी कक्षासमेत सञ्चालन गर्ने गरिएको थियो ।
तत्कालिन एमालेले नेता मोदनाथ प्रश्रित को पालामा निर्माण गरिएको पाठ्यक्रम परिमार्जन गर्दै कार्यकर्तालाई प्रशिक्षित गराउने गरिएको थियो ।
भुसालद्वयको दाबी पछि पार्टीमा तरंग
पार्टीको स्कुल विभागका लागि नेता नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच टक्कर चलेपनि कार्यकर्ता तहमा भने भुसालद्वयमध्येबाट विभाग प्रमुख बनाउनुपर्ने आवाज उठेको छ ।
सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह - इन्चार्ज टुंग्याएपछि सुरु भएको स्कुल विभागको बहसले नेकपाका नेता कार्यकर्ताहरु तरंगित बनेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सुरुमा नेताहरु श्रेष्ठ र पोखरेल गरी दुई कित्तामा देखिएका कार्यकर्ता सचिवालय बैठकले यससम्बन्धि निर्णय नगरी स्थगित भएपछि भुसालद्वयको पक्षमा मोडिएका हुन् ।
पार्टी स्थायी समिति सदस्य एवं युवा नेता योगेश भट्टराई सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ-
नेकपामा कार्यविभाजन र जिम्मेवारी बाँडफाँडका बारेमा बहस भईरहेको सन्दर्भमा निम्न विषयमा नेतृत्वकाे ध्यानाकर्षण गर्दछु ।
१) कुनै पनि व्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊँ ।२) कुनै पनि व्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवारी नदिऊँ । हरेक एक वर्षमा सबैको जिम्मेवारी हेरफेर गरौं ।३) पार्टीमा भूगोल, विभाग र फाँट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा व्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अवसर दिऊँ ।४) प्रत्येक व्यक्तिको कार्य मुल्याङ्कनलाई वैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊँ । हरेक वर्ष व्यक्तिको मुल्याङ्कन प्रतिवेदन सार्वजनिक गरौं । त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारीपाटी बसालौं ।५) कुनै पनि व्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई विर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौं र बुझाऔं ।
पाेखरेललाई पत्यायनन् अनेरास्ववियूका संयोजक ऐन महरले पनिनेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले बुधबार बिहान मात्रै आफ्नो फेसबुक वालमा नेता वेदुराम भुसाललाई पार्टीले स्कुल विभागको जिम्मा दिन किन नहुने ? भन्ने प्रश्न गर्दै लेखेका छन्-
हाम्रो पार्टी लेनिनवादी संगठनात्मक पद्धतिमा संचालन हुने पार्टी हो। एउटा तहका बारेमा छलफल भइरहेका बेलामा बिषयबस्तुलाई दिग्भ्रमित बनाएर त्यो भन्दा तल गएर योग्य ब्यक्तिको खोजी गरिरहँदा पार्टीमा पुराना भनेर चिनिएका इमानदार, कृयाशिल, अध्ययनशील अनुशासित जहिले पनि पार्टीको पक्षमा उभिने त्रिभुवन विश्वबिद्धालय बाट एम.ए गर्नुभएका पार्टीमा सधैंभरी विभिन्न प्रशिक्षण कार्यक्रममा दर्शनशास्त्र सम्बन्धी प्रशिक्षण गर्नुभएका डा. बेदुराम भुसाललाई पार्टी स्कुल बिभागको प्रमुख बनाउन किन नहुने ??
पार्टी अध्यक्ष ओलीका निकटस्थ मानिने अनेरास्ववियू संयोजक ऐन महरले समेत ईश्वर पोखरेललाई नपत्याउनु र नेता वेदुराम भुसाललाई सामाजिक सञ्जालमा स्टाटस नै लेखेर समर्थन गर्नुले पोखरेललाई स्वयम संस्थापन समूहले नै नरूचाएकाे देखिन्छ ।