विनु तिम्सिनामोरङ । वर्षाका कारण बक्राहा खोलाले अत्याधिक जमिन कटान गरेपछि उर्लाबारी–८ बगरे टोलमा स्थानीयले आफैं बाँध निर्माण गरेका छन् ।
सरकारी निकायमा गुहार माग्दा प्रक्रिया पुरा गर्नुपर्ने भन्दै आलटाल गरेपछि स्थानीय अगुवाको पहलमा झण्डै पाँच सयमिटर लामो पर्कुपाइन विधिको बाँध निर्माण भएको हो ।
उर्लाबारी–८ बगरे टोलमा बक्राहाको बाढीका कारण २०७४ सालमा १४ घर विस्थापित भएका थिए । ८ घरपरिवाले वैकल्पिक व्यवस्था गरेर अन्यत्र सरे । तर, त्यहाँ रहेका ६ घरपरिवार भने पुनः यस पटकको वर्षा र बाढीका कारण विस्थापित भएर स्थानीय बहादुर बाबा चौधरी प्राथमिक विद्यालय आश्रय लिएर बसेका छन् । यसपटक २०७४ सालमा भन्दा तीव्र गतिमा बक्राहाले जमिन कटान शुरु गरेपछि स्थानीयले सरकारी निकायमा हारगुहार गरे । तर कसैले बेलैमा चासो नदिएपछि सोही क्षेत्रका प्रदेश सांसद कूलप्रसाद साम्बाको पहलमा स्थानीयले बाँसको बाँध (पर्कुपाइन) निर्माण गरे । पर्कुपाइन निर्माणपछि घर सुरक्षित भएको विस्थापित जेठा मरडीको भनाइ छ ।
जेठा मरडी जस्तै लक्ष्मी मरडीको पनि समस्या उस्तै छ । ‘वर्षैपिच्छे बाढीका कारण विस्थापित हुनुपर्दा धेरै नै पीडित भएका छौं’, लक्ष्मी भन्नुहुन्छ, हाम्रो वैकल्पिक व्यवस्थाको तुरुन्तै पहल गर्नुपर्छ ।’
सांसद साम्बाका साथै स्थानीय नारायण बस्नेतले रकमको जोहो गरेर विस्थापितहरुकै बाँस काटेर खोलामा अल्पकालिन बाँध निर्माण गरिएको छ । त्यसो नगरेको भए उर्लाबारी–८ को कृषिको पकेट क्षेत्र, रतुवामाईको २ वडा र गोविन्दपुर, हसन्दहको केही क्षेत्र डुबानमा पर्न सक्ने अवस्था थियो । स्थानीय नारायण बस्नेतले नगरपालिकाले कर वृद्धि गरेर उठाउने तर जनताको समस्यामा पहल नगरेको कारण आफूहरुले केही युवा समूह तथा प्रहरीको सहयोगमा बाँध निर्माण गरेको बताउनुभयो ।
बाँध निर्माणमा लागिरहेका सांसद कूलप्रसाद साम्बाले सरकारले बक्राहा नदी नियन्त्रणका लागि ८ करोड छुट्याएको आफूले थाहा पाएको भन्दै त्यतिले नपुग्ने बताउनुभयो । ८ अर्ब भन्दा बढी बजेट लाग्ने स्थानमा ८ करोड छुट्याएर काम हुन नसक्ने भन्दै उहाँले उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनसँग आफूले कुरा गरिरहेको बताउनुभयो ।
जनताको पहलमै इञ्जिनियरहरुको सहयोगमा झण्डै १० लाख बढीको उक्त बाँसको बाँध दीर्घकालिन समाधान नभएको स्थानीय बताउँछन् । जसका लागि तीन तहको सरकारले आपसी समन्वयमा बक्राहा नदी नियन्त्रणको योजना ल्याउनुपर्ने उनीहरुको माग छ । त्यसतर्फ सरोकारवालाले ध्यान दिनु आवश्यक छ ।