नेपाल संसारको सबैभन्दा अग्ला हिमशृङ्खला र महाभारत पर्वत तथा चुरे श्रृङ्खलाबीच अवस्थित भित्री मैदान तथा तराईका मैदानहरूसमेत समेटी विधिवत भू-बनोट समेटेर निर्माण भएको सार्वभौम हिमवत् खण्ड हो । यसर्थ पनि नेपालमा मधेस नरहेको पुष्टि हुन्छ ।
मानव सभ्यताको प्रारम्भिक चरणदेखि नै यस भू-खण्ड नेपाल नामले परिचित हुँदै आएको हो । नेपाल शब्दको पहिलो उल्लेख एवम् लेखन अथर्व परिशिष्टमा भएको पाइन्छ । यसमा भनिएको छ, ‘नेपालं कामरूपं विदेहोदुम्वरं तया तथावन्त्याः कैकयश्च उत्तरपूर्वे हते कृयन्तात्’ भनेर नेपाललाई कामरूप, विदेहउदुम्वर, अवन्ती र कैकय देशहरू सँगै राखी परिचर्चा गरेको पाइन्छ । मूलसर्वास्तिवाद विनय–सङ्ग्रह नाम गरेको बौद्ध ग्रन्थमा समेत नेपालको चर्चा भएको छ । त्यस्तै महाभारत वनपर्वमा नेपाललाई विषय (जिल्ला) का रूपमा वर्णित गरिएबाट यहाँको ऐतिहासिक कर्ताको थप महत्व उजागर भएको छ । जैनग्रन्थ आवश्यक सूत्रमा पनि नेपालको वर्णन पाइन्छ । ऐतिहासिक व्यक्तित्व आचार्य चाणक्यको कौटिल्यको अर्थशास्त्रमा (इ.पु.चौथो शताब्दी) मा पनि नेपालको उल्लेख हुनुका साथै नेपालको कम्वल पाटली पुत्रमा व्यापार गर्ने गरिएको वर्णनबाट नेपालको ऐतिहासिकता पुष्टि हुन्छ । साथै भारतीय गुप्त सम्राट समुन्द्र गुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख ‘छिमेकी राज्य’का रूपमा गर्न पुगेबाट नेपालको प्राचीन इतिहास पुष्टि हन्छ । नेपाल राज्य विगतदेखि नै स्वतन्त्र सार्वभौम र अखण्ड राज्यको रूपमा परिचित मात्र होइन सिंगो मानव सभ्यताको नेतृत्व गरेको हिमवत्खण्डको रूपमा विराजमान रहँदै आएको छ ।
दीर्घकालीन रूपमा भू-गर्भीय हलचलको परिणती हिमालयको सृष्टि भएपछि हिमालबाट उत्पन्न जलाधार नदीहरूले दक्षिणकाे भण्डारामा आच्छादन कार्य जारी राखे । यसरी नदीहरूले बगाएका पदार्थले दक्षिणका खाडलहरू पुरिँदै गए । हिमालय निर्माणको पश्चातकालमा दक्षिणमा मैदानहरू देखा परे । हिमालय पर्वत श्रृङ्खलाहरूको निर्माणकालमा उत्तरतिर आउने भू-सञ्चालन शक्तिले धसिएको खाडल, भूमि कालान्तरमा हिमालयमा उत्पत्ति भएका जलाधार नदीहरूले बगाएर ल्याएका ढुङ्गा, माटो, पतझर आदि पदार्थहरूले भरिन–पुरिन पुगे । कालान्तरमा यही प्रक्रियाबाट यस मध्यवर्ती मधेस भागमा ठूलाठूला मैदानी भू-भागहरू निर्माण भए । जुन अहिले उत्तर भारतस्थित गंगा मैदानको रूपमा रहेको पाउँछौँ ।
नेपालमा आरम्भदेखि नै उत्तर र दक्षिणतीरबाट आउने यात्रीहरूको सुरक्षित आश्रयस्थल बन्न पुगेको हो । नेपालको दक्षिणमा तराई भू-भाग छ । जसलाई हामी तराईको रूपमा चिन्दछौँ । यस भूमिलाई भारतबाट बसाइँ सरेर आएका जनसमुदायले मधेस भनेर भन्ने गरेको पनि पाइन्छ । विभिन्न भू-खण्डहरूबाट विविध भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन भएका मानिसहरूको समूह यहाँको मोहित वातावरण एवम् उत्पादनशील भूमिको कारण यस क्षेत्रमा शरणार्थीको रूपमा आउने गरेको दृष्टान्त पाइन्छ । नेपालमा आगमनपश्चात उनीहरू नेपालमै स्थायी रूपमै बस्न रूचाउने प्रक्रियाबाट नेपाली समाज र संस्कृतिमा वृहत परिवर्तन आएको जगजाहेरै छ ।
नेपालको तराई समुद्री सतहदेखि ६० किलोमिटरभन्दा कम उचाइमा भारतको गंगा मैदानकै उत्तरी अंशका रूपमा नेपाल राज्यको अभिन्न अङ्गका रूपमा अवस्थित छ । यसको चौडाई २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म रहेको छ । तराई भू-भाग अन्तर्गत भित्री मधेस, भावर प्रदेश र तराईको मैदानी भू-भाग रहेको छ । तराईको उत्तरी भू-भाग तथा सिरानमा चुरे महाभारत पर्वत श्रृङ्खला पाइन्छ । जसलाई भावर र चुरे पनि भनिन्छ । तराई भू-भागले नेपालको कूल क्षेत्रफलको १७ प्रतशित भूमि ओगटेको छ ।
भौगोलिक दृष्टिले नेपाल राज्य करोडौं वर्षअघि पृथ्वीमा सिर्जित हलचल एवम् दीर्घकालीन शक्ति प्रस्फुटनबाट निर्माण भएको हो । प्राचीन भौगर्भिक कालमा उत्तरमा अङ्गारा (लरेसिया) दक्षिणमा द्विपीय भारतको गोडवाता भनिने गरिएका महाभूमिहरूको बीचको चिरामा रहेको (हाल अवस्थित हिमालय श्रृङ्खला, आल्पस र भेडिटरानियन सीसम्म कायम) टेथिस सागरको अस्तित्व रहेको थियो । जुन भारत र तिस्वटको आधा भू-भागमा समेटेर भूमध्य सागरको रूपमा अवस्थित थियो । यसरी उत्तरी साइबेरिया र दक्षिणमा भारतस्थित यी भूमिहरूदेखि नदी, नाला, खोला, खहरे भेलहरूले बगाएर ल्याएका माटो, ढुङ्गा, पतपञ्जर पदार्थहरूको आदान कार्य निरन्तर जारी रह्यो । अनि प्लेट टेक्टोनिक सिद्धान्तअनुसार प्रवाहित अभ्यान्तरिक शक्तिको कारण दक्षिणको भारतीय र हिन्द अष्ट्रेलियाली भू-खण्ड उत्तर सर्दै गएको भन्ने वैज्ञानिक मान्यता छ ।
यसरी अति कमजोर सामुद्रिक भूभाग पत्रे चट्टानी लघु पर्वतको रूपमा सिर्जित हुँदै मध्य एसिया र दक्षिण एसियाको बीच सुन्दर नवस्थलको सिर्जना भएको हो भन्ने भूगर्वविद्हरूको भनाइ रहेको छ । यहि नवस्थलमा नेपालको पहिचान एक युगान्तकारी राष्ट्रको रूपमा पाउँछौं । दीर्घकालीन रूपमा भू-गर्भीय हलचलको परिणती हिमालयको सृष्टि भएपछि हिमालबाट उत्पन्न जलाधार नदीहरूले दक्षिणमा भण्डारामा आच्छादन कार्य जारी राखे । यसरी नदीहरूले बगाएका पदार्थले दक्षिणका खाडलहरू पुरिँदै गए । हिमालय निर्माणको पश्चातकालमा दक्षिणमा मैदानहरू देखा परे । हिमालय पर्वत श्रृङ्खलाहरूको निर्माणकालमा उत्तरतिर आउने भू-सञ्चालन शक्तिले धसिएको खाडल, भूमि कालान्तरमा हिमालयमा उत्पत्ति भएका जलाधार नदीहरूले बगाएर ल्याएका ढुङ्गा, माटो, पतझर आदि पदार्थहरूले भरिन–पुरिन पुगे । कालान्तरमा यही प्रक्रियाबाट यस मध्यवर्ती मधेस भागमा ठूलाठूला मैदानी भूभागहरू निर्माण भए । जुन अहिले उत्तर भारतस्थित गंगा मैदानको रूपमा रहेको पाउँछौँ ।
संवेदनशील बनेर विशिष्ट भू-प्राकृतिक स्वरूपमा हिमवत्खण्ड नेपाल र भारतको अध्ययन गर्दा मधेस नेपालको भूखण्डभित्र पर्दैन । विशेषतः भारत राज्यको निर्माण पाँच भौगोलिकताको विशिष्ट समष्टिबाट भएको देख्दछौँ । काश्मीर तथा उत्तराखण्ड, पूर्वोत्तर भारत, गंगाको मैदानी भाग, नर्मदा–तापी–माही–सावरमतीले निर्माण गरेको रिफ्ट भ्याली मैदान र दक्षिणको महानदी–गोदावरी–कृष्ण–काभेरी जलाधारको रूपमा समेटिएको पठारी भू-भाग नै मुख्य हुन् ।
यसरी दृष्टिगोचर गर्दा गंगोत्रीदेखि कन्याकुमारीसम्मलाई तीन विशेष प्रारूपमा बुझ्न सकिन्छ । गंगा मैदान र दक्षिणको पठारबीच अवस्थित चोटीबाट सुरू भएका विध्याञ्चल पर्वत श्रृङ्खला र सतपुदा पर्वतमाला सीमावद्ध वर्तमानमध्य प्रदेश महाराष्ट्र, राजस्थान र गुजरातसँग आवद्ध नर्मदा तापीको खम्वत खाडीसम्म पैmलिएको मैदानी भूभागमा समेटिन पुगेको विशिष्ट भूभाग मध्य देश हो । जसको शब्द सन्धी गर्दा मधेस स्पष्ट बुझ्न सकिन्छ । द्वापर युगमा यो विस्त्री वंशको राज्य थियो र यसको राजधानी द्वारका हो । यस्तो प्राचीन प्राकृतिकदेखि ऐतिहासिक मिहिन अध्ययन, अनुसन्धानसहितको यथार्थ पृष्ठभूमिको तोडमोड गर्दै नेपालको तराईलाइ मधेस हो भनी अपव्याख्या गरी नेपालको प्राचीन इतिहासको उपहास गर्नु शोभनीय विषय हुनै सक्तैन । यस मामलामा हिमाल, पहाड र तराईका विविध वर्ग, जाति, लिङ्ग, समुदाय तथा राज्य आफ्नो प्राचीन इतिहासको उचित मूल्याङ्कनमा चुक्नुहुँदैन ।
यसरी इतिहासका विभिन्न चरणहरू पार गरेर प्राचीन नेपालले आफ्नो अस्तित्व रक्षा गर्दै आजसम्म जीवन्त रहँदै आएको हिमवत् खण्ड सभ्यतामाथि प्रश्न उठाउनु उल्टो गंगा बगाउनुजस्तै हो । कूल क्षेत्रफलको ६८ प्रतिशत भूभाग पहाडी, १५ प्रतिशत भूभाग हिमालले ढाकेको छ । १७ प्रतिशत भू-भाग तराई क्षेत्रले ओगटेको छ । तराई क्षेत्रमा थारू, मैथिली, भोजपुरी, अवधि, राजपुत, राजवंशी, बाहुन, क्षेत्री, सतार प्रायः हिमाली जाति पहाडी तराईबासी सबैको अन्तरघुलित जाति बस्ती पाउँछौं । इतिहासका हरेक चुनौतीहरूलाई चिर्दै आफ्नो ऐतिहासिक पहिचानको संरक्षण, प्रवद्र्धन एवम् विकास गर्दै नेपालले आफ्नो युगीन सभ्यता संस्कृतिलाई भोलिको पुस्तालाई समेत सुरक्षित गर्ने आधार निर्माणमा सबै पक्ष उत्तिकै जिम्मेवार हुन जरुरी छ ।
स्मरणीय छ, नेपाल संसारको सबैभन्दा अग्ला हिमशृङ्खला र महाभारत पर्वत तथा चुरे श्रृङ्खलाबीच अवस्थित भित्री मैदान तथा तराईका मैदानहरूसमेत समेटी विधिवत भू-बनोट समेटेर निर्माण भएको सार्वभौम हिमवत् खण्ड हो । यसर्थ पनि नेपालमा मधेस नरहेको पुष्टि हुन्छ । त्यसैले नेपालमा राजनीतिलगायतका अन्य रुचीका आधारमा ‘मधेस मधेस’ भनेर उछालिरहनुको कुनै अर्थ छैन ।
(लेखक प्रगतिशील लेखक संघ, नेपालका उप–महासचिव हुनुहुन्छ)