काठमाडौं । सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ शुक्रबार सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार तारानाथ शर्मा, माया ठकुरी, प्रतिक ढकाल, निर्माेही ब्यास, हरिमाया भेटवाल, कुर्मराज शाही र लेखिका सरिता अर्याल लगाएतले पुस्तकको संयुक्त विमोचन गर्नुभएको हो ।
पुस्तक नायक एवम् कालिकोटका प्रदेश सभा सदस्य कुर्मराज शाहीले ढुङ्गाको जिल्लाको विषयमा कृति आउनु नै ठुलो विषय भएको बताउनुभयो । युद्धबिरामका बेला कालिकोटका गाउँ बुझ्न त्यहाँ आएकी सरिता अर्यालसँगै अपहरणमा परेको पीडादायी क्षण सम्झनुभयो । ‘त्यो कथा बिर्सिसकेको थिएँ, दिदीले किताब लेख्दैछु भन्नुभएपछि घटना झल्झल्ती याद आयो’ शाहीले भन्नुभयो, ‘अहिले पार्टी पनि एक भएको छ, यो त अब नबिर्सी नहुने भएको छ ।’
किताबबारे साहित्यकार एवम् समीक्षक हरिमाया भेटवालले ‘युद्धको बेला परिवार छोडेर कालिकोट जानु ठूलो बहादुरी भएको’ बताउनुभयो । ‘यस पुस्तकले द्वन्द्वरत सरकार र माओवादी पक्षद्वारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनलाई जस्ताको तस्तै पस्केकाले युद्धभित्रको प्रताडना बुझ्न पुस्तक उपयोगी देखिन्छ ।’ भेटवालले भन्नुभयो, ‘शाहसिक लेखनको उच्च प्रशंसा गर्न चाहन्छु ।’
साहित्यकार प्रतीक ढकालले ‘किताब पाँच घन्टाको फिल्मजस्तो बनेको र लेखिकाले शाहसपूर्ण काम गरेको’ बताउनुभयो ।
आफ्ना अनुभूति सुनाउदै लेखिका सरिता अर्यालले ‘मनभित्रको पीडा पन्ध्र सोह्र वर्षपछि पाठकसामु बिस्कुन झै सुकाएको’ बताउनुभयो ।
२ सय २२ पृष्ठको किताब बिएन पुस्तक संसारले प्रकाशमा ल्याएको हो । किताबको मुल्य ३ सय ५० रुपैयाँ रहेकोे छ ।