ललितपुर । विप्लव समूहका ब्यूरो सदस्यसहित ८ जना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा विप्लव समुह परित्याग गरी नेकपामा प्रवेश गर्ने ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताउनुभएको छ । अध्यक्षले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताउनुभयो । दाहालले भन्नुभयो, ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।’
दाहालले थप्नुभयो, ‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धीमा टेकेर अगाडि जाने भनेर आएको हो ।’
नवप्रवेशी नेता रमण घिमिरेले आफूले बाटो बिराएको महसुस भएपछि विप्लव समुह परित्याग गरेको बताए । कार्यक्रममा घिमिरेसहित आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मा रहेका छन् ।