डेराबाटै समातिए लागूऔषध कारोबारी

सुखिलाल चौधरी
उदयपुर । ठूलो परिणाममा लागूऔषधसहित एक जना युवालाई प्रहरीले सोमबार साँझ पक्राउ गरको छ । त्रियुगा नगरपालिका–१३ असारीका अन्दाजी २३ वर्षीय मिलन खतिवडालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका–११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाले कोठामा लुकाइ राखेको अवस्थामा प्रहरीले लागूऔषधसहित पक्राउ परेको हो । प्रहरीले कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो स्पोजीभन १३ पत्ता, रेस्कोकफ डिएस ४ बोतल, नोफिन १० एम्पुल, डाइजेल्याब १० एम्पुल, फेनरागन १० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले जानकारी दिनुभयो । प्रहरीले कोठाबाट आईफोन १ थान, नोकिया मोबाइल १ थानसमेत बरामद गरेको छ ।
राजकुमार राईको नाम लेखिएको राष्ट्रिय वाणिज्य बैंक गाईघाट शाखाको चेक (पाना संख्या १०) र सोही चेकबाट रोशनकुमार कोइराला नाममा काटेको २० हजारको चेक र नगद २ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।
कोठामा लागूऔषधको कारोबार हुन्छ भन्ने सूचनाका आधारमा खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खतिवडालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको एसपी बुढाले जानकारी दिनुभयो ।