हेमराज हत्यामा लडाकुको हात ?

गणेश आचार्य
दाङ ।
सञ्चारउद्यमी देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको नौ वर्ष पुगेको छ । तर, उनको हत्या कसले र किन ग¥यो भन्ने प्रश्न अझै अनुत्तरित छ । प्रहरीले हत्यारा पहिचान गर्नु त क्षितिज पारिको कुरा, हत्यामा संलग्नहरुको स्पष्ट स्केचसम्म तयार गर्न सकेको छैन ।

२०६७ साउन ६ गते सञ्चारउद्यमी हेमराज नेपाली कांग्रेसको जिल्ला अधिवेशनक्रममा साविकको उरहरीस्थित हेमनगरका गुरुप्रसाद शर्माको घर पुगेका थिए । उनका साथमा कान्तप्रसाद वली र घरधनी गुरुप्रसाद रेग्मी । हेमराज कहाँ छन् भन्ने स्वयम् हेमराज, कान्तप्रसाद र गुरुप्रसाद बाहेक अरुलाई थाहा थिएन । उनीहरुबीच कांग्रेसको जिल्ला अधिवेसनबारे छलफल भएको थियो । छलफल चलिरहँदा नरेन्द्र बुढाथोकीले कान्तप्रसादलाई फोन गरेर लोकेसन मागेका थिए ।

नरेन्द्रसँग मोबाइलमा कुराकानी भएको केही समयमै कान्त र हेमराज गुरुप्रसादको घरबाट निस्किए । कान्त गेटभित्र सुर्ती मिच्न थाले भने हेमराजले बाइक स्टार्ट गरे । हेमराज बाइकमा चढ्ने बित्तिकै उनीमाथि गोली वर्षाइयो ।

हेमराज त्यो दिन कहाँ छन् भन्ने स्वयम् हेमराज, कान्त र गुरुप्रसादबाहेक अरु कसैलाई थाहा थिएन । त्यो भेटघाट अत्यन्त गोप्य थियो । गोप्य भेटघाट भइरहेको घरको गेटमा ढुकेर आपराधिक समूहले हेमराजको हत्या कसरी ग¥यो ? प्रश्न गम्भीर छ । हेमराज कहाँ छन् भन्ने कुरा कान्तलाई फोन गर्ने नरेन्द्र बुढाथोकीले थाहा पाए । स्वयम् हेमराज, कान्त र गुरुप्रसादसँगै हेमराजको लोकेसन थाहा पाउने नरेन्द्र चौथो व्यक्ति हुन् । नरेन्द्रले लोकेसन मागेको केहीबेर पछि हेमराजमाथि गोली हानिएको छ । तर, प्रहरीले नरेन्द्रले किन लोकेसन मागे ? यस विषयमा अनुसन्धान गर्न आवश्यक ठानकोे छैन । गुरुप्रसादको घरको गेटमै गोली हानिएपछि हेमराज गेटभित्र जान खोजे । तर, गेट लगाएर उनलाई भित्र पस्नसमेत दिइएन । आफैँले गेट बन्द गरेका गुरुप्रसादले भने आफूले गोली चलेको थाहा नपाएको दाबी गर्छन् ।

प्रत्यक्षदर्शी उमा बस्नेतका अनुसार गेटभित्र पस्न नदिइएपछि हेमराज छेउमै रहेको घरतिर भागे । उनलाई आपराधिक समूहले लखेटिलखेटी गोली हानेर ढाल्यो । हेमराज छट्पटाइरहे ।  हेमराजलाई गोली हानेपछि हत्यारा घटनास्थलबाट पूर्वतर्फ भागे । गोली लागेर छट्पटाइरहेका हेमराजलाई उपचारका लागि तुलसीपुर ल्याइँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो । उनको हत्या भएको नौ वर्ष पुगिसक्यो तर, प्रहरी भने घटनामा संलग्नको पहिचान गर्न सकिरहेको छैन ।

हत्यामा देवराज, गुरुप्रसाद र कान्तको हात : परिवार
सञ्चार उद्यमी हेमराज मारिएको नौ वर्षसम्म पनि हत्यारा पहिचान नहुँदा परिवारका सदस्यका आँखाबाट झरेका आँशु ओभाएका छैनन् । स्वर्गीय हेमराजका भाइ पुष्करका अनुसार, हेमराजको हत्यामा संलग्न भएको आरोपमा तुलसीपुर–११ नवलपुरका तुलसीराम विक उर्फ देवराज ठाकुरलाई पक्राउ गर्न नेपालगञ्जस्थित उनको होटेल हंगेरीमा छापा हानियो ।
तर, देवराज प्रहरीलाई झुक्याउँदै भाग्न सफल भए ।

देवराज त्यहीबेला कपडा नै नलगाई टाबेल र गन्जीमै भागेर भारत पुगेर फोन गरेको पुष्कर सुनाउँछन् । भन्छन्, ‘दाइको हत्यामा कुनै न प्रकारले देवराजको हात छ । यदि हत्यामा संलग्न नभएको भए प्रहरीले पक्राउ गर्न खोज्दा किन भाग्नु परेको थियो ?’

प्रहरीले छापा मार्दा भाग्ने देवराजलाई पक्राउ गरी अनुसन्धान गरे हत्यारा पत्ता लाग्ने पुष्करको दाबी छ । देवराज भारतीय व्यापारी निर्मल सिंह भंगुका घरेलु कामदार हुँदा त्यहाँबाट दाङका केही युवाले हीरामोतीसहित केही नगदसमेत चोरेर ल्याएपछि हेमराजले ती हीरामोती फिर्ता गराइदिएका थिए । हेमराज केही साथी र प्रहरीका साथ भारत पुगेर हीरामोती भंगुलाई बुझाइएको जानकारहरु बताउँछन् ।

३२ वर्षका उमेरमा श्रीमान् गुमाएकी हेमराजकी पत्नी मन्जु हेमराजकोबारे कसैले सोध्दा भकानिन्छिन् । बोल्दा आँखाबाट आँशु बग्छ, गला अवरुद्ध हुन्छ । बोल्दा बोली बीचमै अडिन्छ । यस्तै अवस्थामा उनले जनता समाचारलाई प्रतिक्रिया दिँदै भनन्, ‘प्रहरी आर्थिक प्रभाव र राजनीतिक दबाबमा परी श्रीमान्का हत्यारा खोज्नतिर लागेन ।’
भाइटीका आउन तीन महिना मात्रै बाँकी रहँदा जेठो भाई गुमाएकी हेमराजकी दिदी पार्वता हत्यामा संलग्न भएको दावीसहित गुरुप्रसाद शर्मा र कान्तराम ओलीविरुद्ध किटानी जाहेरी दिँदासमेत प्रहरीले उनीहरुलाई पक्राऊ नगरी अपराधीको पक्षपोषण गरेको बताउँछिन् ।

यस्ता छन् हत्याका कारण
हेमराज त्यतिबेला सामुदायिक रेडियो तुलसीपुरका अध्यक्ष थिए । रेडियोमा अध्यक्ष हुँदै नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि बन्ने योजनामा थिए । जानकारहरुका अनुसार, उनी महाधिवेसन प्रतिनिधि बनेर दाङ कांग्रेसमा हावी हुने भित्री मनोकांक्षा थियो । त्यतिबेलै उनको हत्या भयो । त्यतिबेला दाङमा टाइगर ग्रुपले श्रृंखलावद्धरुपमा आपराधिक घटना दोहो¥याइरहन्थ्यो । कहिले व्यापारीसँग चन्दा आतंक त कहिले अपहरणदेखि व्यक्ति हत्यासम्म ।

हेमराज त्यहिबेला ठेक्कापट्टा पनि गर्थे । तुलसीपुरस्थित १९ नम्बर बाहिनीको रासनको ठेक्का उनैलाई परेको थियो । टाइगर ग्रुपले सबै व्यापारी र ठेकेदारसँग तोकेरै चन्दा माग्थे । तर, टाइगर ग्रुपको निसानामा हेमराज कहिल्यै परेनन् । अनौपचारिक रुपमा प्रहरी अधिकारीहरु टाइगर ग्रुप सञ्चालनमा उनको पनि हात थियो भन्छन् । उनी तुलसीपुरमा युवाको समूहलाई हातमा लिएर ठेक्कापट्टा मिलाउने काम गर्थे । अझ भनाैं तुलसीपुरमा एकछत्र राज चल्थ्यो उनको । हेमराज आफैँमा पैसावाल मान्छे थिए । त्यसमा पनि चोरी भएका बहुमूल्य हीरामोती फिर्ता गराइदिएपछि भारतीय व्यापारी निर्मल सिंहका विश्वास पात्र भइसकेका थिए । त्यसकारण पनि उनलाई पैसाको कमी थिएन भनिन्छ ।

त्यति नै बेला खुमबहादुर खड्का शक्तिमा थिए, हेमराज खुमबहादुरका दाहिने हात नै थिए । खुमबहादुरको दाहिने हात भएकै कारण दाङमा प्रहरी, प्रशासनमा उनको बोली बिक्थ्यो । कुनै कुरा सिफारिस गरे प्रहरीका हाकिमहरु काट्न सक्दैनथे । कुटपिट र युवाबीचको ग्याङवार उनी एक कल फोनका भरमा मिलाउँथे । यसैले हेमराज तुलसीपुरमा सबैका ‘दाइ’ बनेका थिए । तर, खुमबहादुरसँग हेमराज निकट भएको उनका राजनीतिक प्रतिस्पर्धीलाई मन परेको थिएन ।
जानकारहरुका अनुसार टाइगर ग्रुपको संरक्षण गर्नेमा उनीसँगै तुलसीपुरका अरु व्यापारी र यातायात व्यवसायी पनि थिए । उनीहरुसँग हेमराजको अघोषित ‘टसल’ सुरु भइसकेको थियो । त्यही टसलका कारण उनको हत्या गर्ने योजना भित्रभित्र बनिरहेको पनि हुन सक्छ । प्रहरी अधिकारीहरुका अनुसार, तीन समूहको स्वार्थ बाँधिएपछि हेमराजको हत्या गरिएको हो । यद्यपि प्रहरी अधिकारीहरु चेन अफ कमान्डका कारण औपचारिक रुपमा यो कुरा बोल्दैनन् । उनीहरुका अनुसार, दाङमा खुमबहादुरको नजिक को बन्ने भन्ने राजनीतिक प्रतिस्पर्धा, भारतीय व्यापारी निर्मल सिंह भंगुसँग को नजिक बन्ने भन्ने होड र तुलसीपुरका गुन्डा कसले कब्जा गर्ने भन्ने स्पर्धाका कारण तीनवटै समूह मिलेर लामो योजना बनाएर हेमराजको हत्या गरिएको हो ।

कहाँ पुग्यो अनुसन्धान ?
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल प्रहरी हेमराज हत्यारा पत्ता लगाउन लागिरहेको र अनुसन्धान नसकिएकाले केही भन्न नमिल्ने बताउँछन् । दाङ प्रहरी प्रमुख एसपी बेलबहादु पाण्डेका अनुसार, हेमराजको हत्यामा प्रयोग गरिएको हतियार अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन । ‘उहाँको हत्या भएको स्थानमा फेला परेको गोलीको खोका हाम्रो ल्याबमा छ,’ उनले भने, ‘तर, हत्यामा प्रयोग भएको हतियार बरामद भएको छैन । त्यो हतियार अझै आपराधिक समूहसँगै छ ।’

अनुसन्धान जारी छ भन्ने सुरक्षा संयन्त्रको पुरानै बनिबनाउ जवाफ हो । प्रहरीले मान्छे मारिएको नौ वर्षसम्म पनि एकजना अभियुक्त पक्राऊ गर्न त परको कुरा हत्यामा संलग्नको स्पष्ट स्केचसम्म तयार नगरी अनुसन्धान जारी भन्नु संसारकै उत्कृट मजाकबाहेक अरु केही हुन सक्दैन ।

अहिले हेमराज हत्याकाण्ड अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ । सिआइबी स्रोतका अनुसार, यो घटनाको अनुसन्धान करिब अन्तिम चरणमा छ । सिआइबी हेमराजको हत्यामा तत्कालीन माओवादीका शिविरमा रहेका लडाकु प्रयोग भएको निष्कर्षमा पुगेको स्रोतको दाबी छ । सिआइबीले हत्यामा संलग्न भएको आशंकामा माओवादीका पूर्व लडाकुलाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरिसकेको छ । विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको सिआइबीको टोली हत्यामा संलग्नलाई पक्राउ गर्न दाङ आएका बेला ती संदिग्ध व्यक्ति पक्राउ पर्ने सूचना पाएर भागेका थिए ।

हेमराजको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सिआइबीको टोली आएको इप्रका तुलसीपुरलाई मात्रै थाहा थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरले नै सिआइबीको टोलीलाई गाडीको बन्दोबस्त मिलाएको थियो । तैपनि हत्यामा अभियुक्त आशंका गरिएका फरार हुनुले तुलसीपुरमै कार्यरत प्रहरीले त अभियुक्त भगाएका होइनन् भन्ने आशंका संगठनमा छ । त्यति मात्रै होइन, सिआइबीलाई हेमराज हत्याका अभियुक्तलाई पक्राउ नगर्न पूर्व माओवादी र नेपाली कांग्रेसका हाइप्रोफाइलका नेताहरुले दबाब दिँदै आएको सिआइबी स्रोतको भनाइ छ । सिआईबी एक अनुसन्धान अधिकारीका अनुसार हेमराज हत्याका मुख्य योजनाकार कांग्रेस सम्वद्ध व्यक्ति हुन् ।

तत्कालीन समयमा माओवादी नेताहरुसँग राम्रो हिचमिच भएका उनले माओवादीका एक जिल्लास्तरका नेतालाई ‘हेमराज’ले तपाईंको हत्या गर्ने योजना बनाएका छन् । विचार गर्नुस् भनेर त्रसित पारेको र सोही त्रासका कारण ती माओवादी नेताले संग्रामस्थित लडाकु शिविरबाट लडाकु ल्याएर हत्या गरेको निष्कर्षमा सिआइबी पुगेको उच्च प्रहरी अधिकारी ‘घुमाउरो’ सँग बताउँछन् । ती प्रहरी अधिकारीले हत्या योजना बनाउने र हत्या गर्ने व्यक्तिका नाम भने खुलाएनन् । प्रहरी स्रोतका अनुसार, हेमराजको हत्यामा प्रयोग गरिएको हतियार अनमिनले प्रमाणिकरण गरेको हो । त्यो हतियार अहिले माओवादीले राज्यलाई बुझाइसकेकाले राज्यकै नियन्त्रणमा छ ।

हेमराजका हत्यारालाई पक्राउ गरिएको भए अपराधीको मनोबल घट्थ्यो र त्यस्ता किसिमका आपराधिक घटना दोहोरिने सम्भावना कम हुन्थ्यो । त्यसैले प्रहरीले उनको हत्यामा संलग्न अपराधीलाई कसैको दबाब र प्रभावमा नपरी कानुनको पासोमा बल्झाउन जरुरी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…