काठमाडौं । संघीय संसदमा बिहीबार प्रतिनिधिसभा बैठकअघि सर्वदलीय बैठक हुने भएको छ । प्रतिपक्ष सांसदहरुले सानोतिनाे बिषयमा सदन अवरुद्ध पार्न थालेपछि सभामुख कृष्णबहादुर महराको पहलमा सर्वदलीय बैठक गर्न लागिएको हो ।
प्रतिनिधिसभा बैठक दिउँसो २ बजेको लागि बोइएको छ । सर्वदलीय बैठक त्यसअघि बस्ने भएको हो । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ‘राजपा’ को अवरोधका कारण प्रतिनिधिसभाको बुधबारको वैठक स्थगित भएको थियो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्री वास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ‘पहिलो संशोधन’ विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची छ।
त्यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल ‘प्रशासकीय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्ने तयारी छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वातावरण संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ प्रस्तुत गर्ने कार्यसूची छ।बैठकमा कृषि तथा पशुपंछी मन्त्री चक्रपाणी खनालले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।