काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शुक्रबार फरक – फरक विषयका खबरलाई प्राथमिकतामा राखेर समाचार छापेका छन् ।
बिहीबार जनता समाचार डट कम मा संसद सुचारु गर्न आन्तरिक छलफलमा जुट्दै दलहरू,भक्तपुरमा ट्रयाक्टर र मोटरसाइकल ठोक्कियो, समाजवादीका नेतामाथि गोली प्रहार, जवरजस्ती करणीका अभियुक्त पक्राउ, उपनिर्वाचनका तयारी, सर्वदलीय बैठक हुँदै, यती एयरको भैरहवा–पोखरा हवाई उडान शुरुर शिवहरि अब चलचित्र निर्देशनमा लगायतका समाचार प्रकाशित भए ।
कान्तिपुर दैनिकमा कोसी र गण्डक ब्यारेजका नेपाली कर्मचारीले भारतबाट तलब बुझ्ने गरेको समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरिएको छ । समाचारमा समेटिए अनुसार कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले खटाएका झन्डै दुई दर्जन कर्मचारीले भारतबाट तलब बुझ्ने गरेकाे खुलेकाे छ । परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृतसहित सबै नेपाली कर्मचारीले भारतको बिहार राज्य सरकारबाट नियमित तलब थाप्दै आएको पत्रिकामा उल्लेख छ ।
कान्तिपुरले कोसी योजनाका सम्पर्क अधिकृत सन्तोषकुमार चोङबाङ र गण्डक योजनाका अधिकृत तारा सिंहको तस्बीर नै छापेर यससम्बन्धि अनुसन्धानमुलक समाचार छापेको छ । सिंहलगायतका नेपाली कर्मचारी बस्ने सम्पर्क कार्यालय पनि बिहार, पश्चिम चम्पारण जिल्लाको वाल्मीकिनगरमा राखिएको पाइएको छ । तर अधिकृतद्वय चोङबाङ र सिंहले याे कोसी र गण्डक सम्झौतामा भएकै प्रबन्धअनुसारको व्यवस्था रहेको जिकिर गरेका छन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताउनुहुँदै दुई देशीय परराष्ट्र मन्त्रीस्तरीय बैठकमा यसबारे कुरा उठाउने प्रतिबद्धता जनाउनुभएको समेत समाचारमा उल्लेख छ ।
यसैगरी बालुवाटार जग्गा किनबेचमा सर्वोच्च अदालतका न्यायाधिश कुमार रेग्मी संलग्न भएको समाचार प्राथमिकताका साथ छापिएको छ । समाचारमा तत्कालीन कानुन व्यवसायी रेग्मीले २०६१ माघ ११ तीन कित्ता जग्गा मीनबहादुर गरुङबाट किनी साढे दुई वर्षपछि टुक्रा टुक्रा पारेर बेचेको उल्लेख छ । रेग्मीले फी बाँकी भएकाले जग्गा लिएर बेचेको स्विकार गरेका छन् ।
अन्नपूर्ण पोष्ट दैनिकले एनसेलका ३५ टावरमा आगजनी गरिएको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले २१ जिल्लाका एनसेलका कम्तीमा ३५ टावरमा आक्रमण गरेकको उल्लेख छ । आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ ओख्रेको डाँडाखर्कमा रहेको एनसेल टावरको सोलार प्यानल तोडफोड गरेको भने मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मंगलबारेस्थित एनसेल टावरमा आगजनी गरिएको छ ।
नुवाकोट, मकवानपुर,सिन्धुपाल्चोक, कपिलवस्तु, बागलुङ, अर्घाखाँची लगायतका जिल्लामा विप्लव समूहका कार्यकर्ताले एनसेल टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ र घटनाको सम्पूर्ण जिम्मा विप्लव समूहले लिएको पत्रिकामा खबर छ ।
राजधानी दैनिकले १४ मंसिरमा उपनिर्वाचन गर्ने सरकारको निर्णयलाई प्रमुख समाचार बनाएको छ ।
गोरखापत्र दैनिकले भने प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पौने २ लाखले रोजगारी पाएको खबरलाई शीर्ष समाचारका रुपमा प्रकाशित गरेको छ ।