Logo मंसिर ९, २०७७ मंगलबार


‘नजिक नआऊ होश हराएका बेला’

प्रख्यात अमेरिकी मोडल, अभिनेतृ, गायिका मेरिलिन मोन्रोइले भनेकी छिन्, ‘म स्वार्थी छु, ससाना कुरामा चिढिन्छु, घमण्डी नै ठान, बारम्बार गल्ती दोहो¥याउँछु, आफूलाई नियन्त्रण गर्नै सक्दिनँ । यस्तोबेला तिमी मलाई क्षमा दिँदै वशमा राख्न सक्दैनौ भने तिम्रो प्रेम मेरा लागि नर्क हुनेछ, भो चाहिएन तिम्रो प्रेम ।’

यो त अमेरिकी समाजको विषय भयो । स्वतन्त्रताको अनावश्यक र मांशहारी उपभोगमा थोरै अल्कोहलिक सोडा हालेपछि समाज कसरी जाग्छ, लुकेर बसेको प्रतिभाले कसरी आफैँ मध्यराति मञ्चविनै माहौल बनाउँछ, दुनियाँ भुक्तभोगी छ । हाम्रो समाज पनि विस्तारै बिहान उठ्न छाड्दैछ । रातभर रमाइलोमा हराउन खोज्दैछ । कार्यालय समयमा गधा झैँ खटिने र झम्के साँझपछि मदिराको मातमा पीडा भुलेर एक्लोपन दूर गर्ने विकल्पको खोजीमा छ । अझ मन मिलेका कुमार–कुमारीसँग पर पुगेर वितृष्णा विसर्जन गर्ने लहर चल्दो छ । कति त अपरिचितसँग कालो रातमा हराउन लालयित देखिन्छन् । कयौँ बसाइमा केश पाकेकाहरुको कुरा सुन्छु, अन्त्यमा गएर जवानीको एक घान तातो पानी समापन नै जिन्दगी हो भनेको देख्छु । यसमा गरम मसला बन्ने गरेको छ मदिरा । केही पर एकान्तमा नारायण गोपालको गीतमा रमाउन चाहन्छ दुनियाँ ः नजिक नआऊ होश हराएका बेला ।

काठमाडौंको कुइरीमण्डल धूँवाधूलोमा केहीबेर हराउँदै नागढुंगाबाट ओरालिँदै थियौँ । सलाइका बट्टा झैँ लाइन थिए गाडीका जाम । ६७ जिल्लाका मान्छे काठमाडौं आउने एउटै बाटो हो । मान्छे कुखुराका भाले किने झैँ दिनहुँ गाडी किनिरहेका छन् । हामीलाई न एउटा कुखुराको भाले किनेर खान अनिकाल हो, अफिसबाट बिदा मिलाएर, तलबबाट केही काटकुट पारेर, हिसाबमा श्रीमतीलाई ढाँटेर, मन मिल्ने साथीभाइ जम्मा पारेर जानुपर्छ कतै भालेको सुप खान । दुनियाँ त यसै उसै धनी छ, गाडी किनेकै छन् । जनताले गाडी किने भनेर सरकारले बाटो नबनाएपछि नागढुंगा मात्रै होइन, सबैतिर अचेल जाम उस्तै देखिन्छ ।

गफले देश बन्दो हो त चन्द्र शमशेर किन गिद्दे प्रेस ल्याएर गोरखापत्र छाप्थे ? गोरखपुरतिरैबाट छापेर ल्याउन पनि मिल्थ्यो । अहिले एउटा फिल्मको पोष्टर छाप्न परे भारत जान्छन् हाम्रा निर्माताहरु । कुरा कति मीठा गर्छन् गीतमा, देशको मायाले छाति पोलिरहेको छ ! 

टाटासुमो हुइँकिरहेको छ । बिहानै टाटा सुमोका चालकले देशको चिन्ता गर्दैन । राष्ट्रभक्ति पनि गर्नु पर्दैन । देशका लागि गर्नु पर्ने नै के पो छ र ? लडे भक्ति थापाले, अमरसिंह थापाले, शेरिए भीमसेन थापाले । सरकारी मुकाम बनाइदिए सिंह शमशेर राणाले । त्यही भवनमा बसेर अहिले गणतन्त्र बहादुरहरु बैठक बसिरहेका छन्, ‘अब दस्तावेजमा श्री ५ राख्ने कि नराख्ने ?’ गफले देश बन्दो हो त चन्द्र शमशेर किन गिद्दे प्रेस ल्याएर गोरखापत्र छाप्थे ? गोरखपुरतिरैबाट छापेर ल्याउन पनि मिल्थ्यो । अहिले एउटा फिल्मको पोष्टर छाप्न परे भारत जान्छन् हाम्रा निर्माताहरु । कुरा कति मीठा गर्छन् गीतमा, देशको मायाले छाति पोलिरहेको छ !

हो, कुरा टाटा सुमोको पो थियो । चालक गीत बजाइरहेका थिए, ‘गुरास फुल्यो वनैमा, वनै कस्तो भो, तिम्ले हे¥यौँ मतिर, मनै कस्तो भो ?’ बिहानै मन कस्तो हुने गीतहरु बज्छन् । हजुरबा र नातिनी चढेको बसमा घन्किने गीत पनि यस्तै छन्, ‘मेरो ज्यानमा त्यस्तो चिज के रै’छ, यो मान्छेले हेरेको हेर्यै छ ।’

समाज गीतमा रमाइरहेको छैन । बरु गीतमा समाज अटाइरहेको छ । टाटासुमो अलि पर पुगेपछि खाना खाने ठाउँमा रोकियो । धर्के टीका लगाउने निख्खर बाहुनहरु चढेका छन् । कुरा सुन्दा त अण्डा पनि नखालान् । खाजा खाने ठाउँबाट फेरि टाटा सुमो हुइँकियो । तर्पाया बाटो । हिलो, छिनमै सिमसिम पानी । छिनमै साउनमा पनि जाडो जगाउने, कसैको पच्छ्यौरी याद दिलाउने जाडोको एक छिमल हावा कान हुँदै मुटुसम्म चिसो पार्दै डाँडाकाँडा दौडिरहेको छ ।

उसै पनि मकवानपुर गाडीवालाहरुको शहर हो । यहाँ कसैको परिचय दिनु पर्यो भने अहिले पनि भन्न बाँकी राख्दैनन् । हाम्रो कालेले पनि ३२७८ को छोरी मन पराए’छ । यहाँ सजिलै बुझ्नु होला । ३२७८ भन्नाले केटीको बुबा हो । उनको ट्रकको नम्बर हो ३२७८ । केही साथीहरु जिस्कन्छन् : ‘७४९० कि बुहारीले पनि जुगेडीतिर गएर होटल थापेकी छे ।’ पैसा कमाएपछि गाडी किन्ने होड झन बढ्दो छ । अहिले त झन सिमेन्ट उद्योगहरु खुलेका छन् । ट्रिपर किन्ने होड अनि टाट पल्टिने पनि ।

तपाईंलाई यहाँसम्म कुराउनु पर्ने विषय अब जोड्छु । कम्तीमा यहाँसम्म त पढिदिनु भयो । अब झन पढ्नुहुनेछ । कुरो के हो भने, हाम्रो गाउँको झिल्केकुमारले विहे गरेको गाइँगुइँ काठमाडौंमै सुनेको थिए । उसले विहे गर्नु पर्ने कारण थिएन । अँगालोभरिकी भर्खर २५ की श्रीमती थिई । श्रीमती गाउँको औसत महिलामा कुलघरानाकै थिई । पढेकी थिई । २३ वर्षमा विवाह गरेर झिल्केलाई काखभरि हुने घुतुमुने छोरो पनि दिएको थियो । बरु उसका उमेरका रहरहरु पूरा गर्न झिल्केले सकेको थिए । लगाउने उमेर हो यो । खाने उमेर हो । शहरमा बसेर एक प्लेट मःम खान पनि गाउँलेले कुरा काट्छ कि भनेर डराउँथी बुहारी । अरुका श्रीमती, बुहारीको धेरै बखान नगरौँ । सम्झनुहोस्, ऊ अशल थिई, सुन्दरी थिई, कुलीन थिई । तपाईंको दिमागमा जे–जे आयो, त्यस्तै थिई, अर्काको बुहारीको शिरदेखि पाउसम्मका कुरा लिएर पापको भारी म किन बोकौँ तपाईं नै बोक्नुहोस् ।

ऊ छोरा पाएर सुत्केरी बस्न माइततिर गएपछि झिल्के पनि काम खोज्न पारि गाउँ गयो । उतै कसैको घरमा काम गर्दै थियो । सुनाउँथे बेलाबखत गाउँ जाँदा । कसैको किराना पसलमा भरिया भयो । छोरा र श्रीमती छ । पाखोबारीमा फल्ने ९ पाथी मकैले १२ महिना पेट धान्ने कुरा पनि भएन, सरकार त बाली लगाऊ भन्छ । बाँझो नराख भन्छ, ९ पाथी मकै फल्ने बारीमा खर्च २७ पाथी मकै किन्ने पैसा भन्दा बढी हुन्छ भन्ने कुरा गमलामा धान रोप्ने सरकारलाई के थाहा ? झिल्केको बाध्यतामा मलेसिया जानै पर्ने थियो । तर गाउँमै रमाउन खोज्यो उ ।

तर समाज सधैँ एकनास कहाँ हुन्छ र ? ११ महिना २२ दिन खोलामा घर बनाएर रमाउनेहरु त ८ दिन घरमा खोला आउने हो कि भनेर त्राहीत्राही हुन्छन् । कथाले के पो माग्दैन र हाम्रो देशमा ? मन्त्रीले कार्यकर्ता भगाएर राजनीति सिध्याएका छन् । रेडियोमा अंग्रेजी समाचार भन्नेको स्वर सुनेर पछि लाग्ने पुरुष त प्रधानमन्त्री भएको देश हो । जंगबहादुर राणाले त बेलायत भ्रमणबाट फर्कने क्रममा भनेका थिए रे, ‘यहाँका सुन्दरीहरु अति राम्रा, मेरो चैँ बसाइ छोटो भयो ।’ अझ कतिले लेखेका छन्, ‘जंगबहादुरले रमाइलोमा पैसा सकिएपछि छोरा जगतजंगलाई पैसा लिन चाँडै नेपाल फर्काएका थिए ।’ इतिहासका कुरा रामजाने ।

वाचा सम्झन्छ । प्रहरी कार्यालय सम्झन्छ । खाताको पैसा सम्झन्छ । पुर्पुरोमा हात राख्छ । पाइन्टको भित्री गोजीबाट एकसयको नोट निकालेर साहुलाई दिँदै भन्छ, ‘बाँकी भोलि तिर्छु है

अब झिल्केकै कुरा गरौँ । जहाँ ऊ काम गथ्र्यो । त्यस घरका मालिक मरेछन् । छोराहरु सहरमा जागिरे । छोरीहरु विहाबारी भएर घरजममा । केही महिनामै झिल्के र तिनै बूढीमाउको पिरती बसेछ । वडाका जनताले धोबीधूलाइ गर्दै प्रहरीमा ल्याउँदा झिल्केले बयान दियो रे, ‘बिगा¥यो रक्सीले, उहाँ र म मात्रै हुँदा राति रक्सी पिउन थाल्यौँ, त्यसपछि कुरा नागबेली हुन थाले । खातामा पैसा पनि रहेछ उहाँको । छोराछोरी सहरमा, मलाइ एक्लो पारे भन्न थाले । पैसा, रक्सी र रमाइलो, उनकै प्रस्ताव मानेँ, भूल भयो, झुन्ड्याए पनि झुन्ड्याउ, रोएकी थिए घरकी पियारी, हो धोका दिएँ उनीलाई, अब स्वीकारेँ यिनैलाई ।’

झिल्केकै हुबहु बयान दिइछन् बूढीमाउले पनि । समाज जुटे । दुवैलाई विवाह गरेर पठाइदिए । गाउँ बस्न सकेनन् । खाताको पैसा पनि छोराहरुले रोकेछन् । घरजग्गा गाउँमा अहिले बेवारिस छ । झिल्केलाई लागेको थियो, सुखको दिन आउँछ, सम्पत्ति छ । तर कहाँ त्यस्तो भयो र ? टाटा सुमोका धर्के टीका लगाउने बाहुन भन्दै थिए, ‘मैले त त्यसको नामै २७५६ राखेको छु, अस्ति पहिलेको बुढी चैँ काम माग्न आएकी थिई हाम्रै बोर्डिङमा, त्यस्ती चन्द्रमाजस्ती बूढी छाडेर ५६ वर्षकी आमाजस्तो विहे गर्ने झिल्केकै कारण बदनाम छौँ हामी पुरुष ।’

झिल्केको पहिलो श्रीमतीको छोरा बोर्डिङ पढ्ने भएको छ । गाउँकै बोर्डिङमा पियन काम गरेर पढाएकी छिन् छोरा । पारिपट्टि गाउँमा छ झिल्केको नयाँ पिरतीको घरबार । बिहानै उठ्छन् : क्रसरमा मजदुरी गर्छन् । दिउँसो केहीबेर झगडा पनि गर्छन् । साँझ परेपछि थाकेको हुन्छ ज्यान । भट्टी छिरेर घुट्क्याउँछन् एक–एक माना कोदोको तेल (गाउँघरतिर ऐराक, सोड्के पनि भन्छन्) । चबाउँछन् राँगाको चोक्टा । हरियो खुर्सानी टोक्छन्, आँसु आएपछि गर्छन् स्वाँस्वाँ । अनि लाग्छन् त्रिपालमुनि विस्तरामा । भोलि फेरि उज्यालोमा जानु नै छ क्रसरमा बाँकी जिन्दगी भुक्तान गर्न ।

‘आज त पैसा दिएन साहुले, भोलि दिन्छु है,’ ५६ वर्षीयाको निस्कन्छ बोली । साहु देखाउँछ आवारा पुँजीवाद । ‘रातभरिमा तँ मरिस् भनेर मेरो पैसा कसले तिर्छ, रक्सी र मासु पनि उधारो चाहिन्छ नकच्चरी, पैसा नभए नधोके हुन्न ?’ एक माना कोदो झोलको रंगले तुरुन्तै छाड्छ । तै पनि संयमित भएर भन्छे, ‘म मरे यसले तिर्छ नि, यो त जम्मा २७ वर्षको हो । म पो मरुँला, यो बूढो मूर्दार त मर्दैन होला नि ?’
बूढातिर फर्केर झर्किन्छे र पोख्छे साहुको पनि रिस, ‘ओइ, एक माना कोदोको रक्सी पनि खुवाउन सक्दैनस् तँ ?’

झिल्के आमाबाबु सम्झन्छ । अँगालोभरिको श्रीमती सम्झिन्छ । बाबा खोइ भन्दै पारि पिँढीमा दौडिरहेको छोरा सम्झन्छ । जागिर सम्झन्छ ।

वाचा सम्झन्छ । प्रहरी कार्यालय सम्झन्छ । खाताको पैसा सम्झन्छ । पुर्पुरोमा हात राख्छ । पाइन्टको भित्री गोजीबाट एकसयको नोट निकालेर साहुलाई दिँदै भन्छ, ‘बाँकी भोलि तिर्छु है ।’ किन धनीमानीको मात्रै प्रेम बिक्छ सहरमा ? संघर्षको प्रेम त सधैँ बिक्नु पर्ने हो । अनमेल विवाहले गाउँमा कयौँको प्रेम टाटा सुमोको यात्रा पार गर्ने कथा भइरहेको छ । सम्झेँ, ‘कुरा काटेरै हामी बाँचिरहेका छौँ ।’ त्यो जोडीलाई सम्मान र माया नगरे पनि घृणा मात्र नगरे उनीहरु अलिक वर्ष काम गरेर बाँच्थे कि ?

मान्छेहरु एकलकाँटे भइरहेको देख्छु । भ्रमित देख्छु । विखण्डन भइरहेको देख्छु । तनावमा देख्छु । विपश्यनामा देख्छु । कोही बिहानै उठेर ‘म पनि रामको, उ पनि रामको, हामी सबै रामको’ भनिरहेको देख्छु । तर बिहानै उठेर नौनाडी खियाउनेहरुको प्रेम किन समाजलाई पचेन ? त्यो भन्दा त म झिल्केकै काउकुतीलाग्दो मायाजाल उचित देख्छु ।

यस्तै हो संसार । जल्नेहरु जलिरहन्छ । झिल्केको पिरतीको गाडी चलिरहन्छ । सायद झिल्केले माथि भनिएको प्रख्यात अमेरिकी मोडल, अभिनेतृ, गायिका मेरिलिन मोन्रोइको आग्रह मानेर अथाह प्रेम गरे र मलाइ एउटा कथा बुन्ने मौका थिए । यो कथामा तपाईं आसपासका कसैको जीवनसँग मेल खान गएमा संयोग ठानिदिनुहोला । सामाजिक सञ्जालमा शेयरको जमाना छ, पढेपछि एक शेयर हानिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।