पुष्पराज अधिकारीहेटौंडा । प्रदेश ३ मा एउटा बधशाला चारपटकसम्म उद्घाटन गरिएको छ। आइतबार मुख्यमन्त्री डोरमणि पौडेलले ‘बफेलो फुड क्वालिटी’ नामको बधशाला चौंथेपटक उद्घाटन गर्नुभएको हो ।
एभरेष्ट बफेलो फुड प्रा.लि नामको २०२८ सालमा पहिलोपटक बधशाला उद्घाटन गरेर सञ्चालनमा ल्याइयो । बिचमा बन्द भएपछि २०५६ सालमा बफेलो फुड प्रा.लि नामको बधशालाको उद्घाटन गरियो । त्यो पनि बन्द भयो । २०६८ सालमा पुनःउद्घाटन गरियो । २०७१ सालमा बन्द भयो । अहिले २०७६ सालमा पुनःउद्घाटन गरिएको छ। निजी लगानीमा सञ्चालित बधशाला पटक–पटक बन्द हुँदै खुल्दै आएको छ ।
उद्योग सञ्चालनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निजी लगानीको कम्पनीलाई ७१ लाख अनुदान दिएको छ । बधशाला १८ करोड लगानीमा पुनः स्थापना गरिएको हो ।
उद्योग सञ्चालनमा आएसँगै अब बजार क्षेत्रमा जथाभावी पशुवध निषेध गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । प्रदेशका सर्वसाधारणलाई स्वस्थ्य मासु खुवाउन सक्ने वातावरण निर्माण गरेको मुख्यमन्त्रीले दाबी गर्नुभयो । चौंथो पटक उद्घाटन गरिएको उद्योगको अनुगमन हेटौंडा उपमहानगरपालिकाले गर्ने भएको छ ।
२०५५ सालमा पहिलोपटक मासु ऐन लागू गरेको हेटौंडा उपमहानगरपालिकाले ऐन कार्यान्वयनका लागि बजार क्षेत्रमा जथाभावी पशुबध निषेध गर्ने तयारी गरेको छ ।
उद्योगको प्रतिघण्टा ४० वटा राँगा बध गर्ने क्षमता छ । तर हाल स्थानीय खपतका लागि दैनिक २० वटा राँगा, बध गरिने छ ।
उद्योग सञ्चालनमा आएपछि सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदो राँगा, भैंसी प्रवेश निषेध गर्ने अभियानलाई समेत कार्यान्वयन गराउन सहयोग पुग्ने बताइएको छ ।