नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवस घोषणा गर्न माग

हिमलाल पराजुली
स्याङ्जा । एक धार्मीक गोष्ठीमा सरोकारवालाहरुले नागपञ्चमीलाई राष्ट्रिय सर्प दिवस घोषणा गर्नुपर्ने माग गरेका छन् ।
गल्याङ नगरपालिका -१ मालुङ्गास्थित कालीगण्डकी उत्तर बाहिनीमा आयोजित ‘सर्पको धार्मीक एवं वैज्ञानिक महत्व’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीका सहभागिले यस्तो माग गरेका हुन् ।
गण्डकी प्रदेशको स्याङ्जा र पाँच नम्बर प्रदेशको पाल्पाको सिमानामा पर्ने कालीगण्डकी नदीको हुगी र मालुङ्गा क्षेत्रमा अवस्थित उत्तर बाहिनीमा आयोजित गोष्ठीका सहभागिले नागपञ्चमीको धार्मीक एवं वैज्ञानिक महत्व रहेकाले नागपञ्चमीलाई अन्तराष्ट्रिय सर्प दिवस घोषणा गर्नुपर्ने माग गरेका हुन् ।
हिन्दुधर्म अनुसार सर्पलाई नाग देवताको अवतार मान्ने गरिए पनि वैज्ञानिकहरुले सर्पले दुषित बस्तुलाई खिचेर वातावरण स्वच्छ बनाउन सहयोग गर्ने मान्यता राख्दै आइरहेका छन् ।
गोष्ठीमा सर्प विशेषज्ञ डा. देवप्रकाश पाण्डेले सर्पको विषयमा अध्ययन गर्दा अधिकांश सर्प विषालु नहुने भएकोले असावधानीले मात्र समस्या आउने गरेको बताउनुभयो ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सर्प बचाउ अभियानका अभियन्ता डा. प्रमोद ढकालले सर्पसँग डराउनु नपर्ने बताउँदै सर्प मानिसको साथि भएको उल्लेख गर्नुभयो । ढकालले भन्नुभयो, ‘सर्पले इकोलोजिकल सिष्टममा सहयोग पुर्याइरहेको हुन्छ र देख्ने बित्तिकै आत्तिनु हुँदैन ।’
कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अनुसार गोष्ठीमा देश भरका ५० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको थियो ।