काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन दर्जन नेता तथा कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । नेकपा र कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले समाजवादी पार्टी प्रवेश गरेका हुन् ।
समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार आयोजित पार्टी प्रवेश समारोहमा अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सक्रिय नेता लक्ष्मण सिंहको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता कांग्रेस परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेमा सदानन्द पाठक, दिपेश भट्ट, रोहित पाठक, पुरुषोत्तम उपाध्याय र ललितपुरका समाजसेवी सबिना कायस्थ, इन्दिरा शाक्य लगायतका सक्रिय नेता कार्यकर्ता रहेका छन् । नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्षद्वय भट्टराई र यादवले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न निर्देशन दिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई, उपप्रधान मन्त्री एवम् स्वास्थ्य मन्त्री समेत रहेका यादव, पार्टी उपाध्यक्ष युवराज कार्की, उपमहासचिव प्रकाश अधिकारी, सचिव प्रशान्त सिंह, केन्द्रीय सदस्य एवा् स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. केके राई र केन्द्रीय दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।