संघका होउन् कि प्रदेशका, हाम्रा प्रतिनिधि अकल्पनीयसँग हलुङ्गा भए । जुन कामका लागि चुनिएको हो, त्यो काम नगरेर फजूल काम गर्दाको परिणाम हो यो । प्रतिनिधि सभा, प्रदेश सभाका सदस्यलाई देश र जनताका लागि आवश्यक ऐन कानुन, योजना र नीति बनाउन चुनिएको हो । तर विडम्बना, तिनीहरुको यो कार्य पहिलो बनेन–परेन ।
पहिलो बन्यो : मतदाताहरुका न्वारन, पास्नी, कुल पूजा, छेवर । वर्षैपिच्छेका बर्थ डे । विवाह डे । उस्तै परिवारका गर्भधारण डे । बिहा–जन्ती, भोज । मृत्यु–मलामी, अन्त्येष्टि, शुद्घाँइ, बर्खी । सत्यनारायणको पूजा । मह पूजा । सप्ताह पूराण । यस्तै इद, बकरीदका समारोह ।
अनि त्यस्तै, आफूलाई भोट हाल्नेका सन्तान दर सन्तानलाई जागिर, प्रमोसन, मालदार अड्डामा सरुवा, विदेशमा रोजगारी । फेरि त्यस्तै लगौँटिया कार्यकर्ता जो चुनावखर्च जोहो गर्ने पनि हुन् तिनलाई ठेक्कापट्टा, उद्योग व्यवसायको लाइसेन्स, अपराध कर्म गरी जेल परेकालाई मुक्ति, जेल पनि रोजेर बस्न प्रहरी, जेलरलाई फोनफान । भ्रष्टाचार गरे सफाइ दिलाउन पहल ।
तोकिएको पहिलो काम दोस्रो बन्दा फुटकर कामका रुपमा दोस्रो रहेको काम पहिलो बन्यो । यसो हुँदा व्यक्ति व्यक्तिलाई त फाइदा भएको छ । राष्ट्रलाई घाटा भएको छ । तोकिएको काम गरेर मतदातालाई रिझाउन पर्नेमा व्यक्तिगत काम गरेर रिझाउने प्रयास गरेका छन् यिनीहरुले । अनुत्पादक छ यो काम । सबैको न्वारान र बर्खीमा हाजिरी सम्भव छैन । जसजसका घरमा हाजिरी हुँदैन, तिनीहरु रुठिन्छन् । राष्ट्रियहितमा काम गर्न सके सबै रिझिन्थे ।जनप्रतिनिधिलाई व्यक्तिगत भेटघाट र काम काजमा भ्याइनभ्याइ छ । संसदको बैठकमा न्युन उपस्थिति । हाटा अर्थात् हाजिरी गरेर टाप । भत्ता मात्र झ्वाम ।
मन्त्रीहरु, सांसदहरुले मन्त्रालय र संसद जस्ता सुकै कार्यक्रमको उद्घाटन र बिर्सजनमा दौड्दा आफ्नो मोल आफैँ घटाए । व्यक्तिगत सम्पर्कबाट जनमत बढाउँछु र निर्वाचनलाई कब्जा गर्छु भन्ने भम्रबाट प्रतिनिधि नेताहरु मुक्त भए हुन्छ
नेपाली जनमतका दुई तिहाइ प्रतिनिधिले आफ्नो मुख्य एजेन्डा गौण बनाउँदा अप्रिय परिणाम आइरहेको छ । प्रशस्त अध्ययन, मनन, चिन्तन गरेर ऐन नियम, योजना बनाउने काममा लाग्नुपर्नेमा अन्यत्र समय खर्चदा विधेयकहरु कमजोर परे । धेरै समय फजूल काममा खर्चिदा विधेयक फिर्ता लिनुपर्नेसम्मको कमजोरी भयो । कतिपय विधेयक कमजोर हुँदा विवाद बढी भयो । दुई तिहाइ सरकारका कतिपय राम्रा कार्यक्रम प्रभावित भए । तुरुन्तै निर्णय गर्ने, तुरुन्तै फिर्ता गर्ने जस्ता कमजोरी भए । भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी जाँचको निर्णयको मसी सुक्न नपाउँदै निर्णय फिर्ता गरियो । यसमा एकजना सरोकारवाला मन्त्रीले भने, ‘हामीलाई सचिवहरुले झुक्याए ।’ मन्त्रीले बुझ्नुपर्छ, ‘सचिवले झुक्याउन सक्ने जनताले चुनेका हामी मन्त्री कस्ता हौँ ?’
यस्ता कमजोरी धेरै नै भए । अध्ययन, मनन, चिन्तन, गरी परिणाम समेतलाई विश्लेषण गरेर निर्णय लिनुपर्नेमा हत्पतमा सस्तो लोकप्रियताका लागि निर्णय गर्दा दुई तिहाइको कम्युनिष्ट सरकारकाे मुलुक समृद्धि पार्ने संकल्प तथा लोककल्याणकारी कार्यक्रम ओझेलमा पर्छन् कि भन्ने चिन्ता जनमानसमा परिरहेको छ । मन्त्रीहरु, सांसदहरुले मन्त्रालय र संसद जस्ता सुकै कार्यक्रमको उद्घाटन र बिर्सजनमा दौड्दा आफ्नो मोल आफैँ घटाए । व्यक्तिगत सम्पर्कबाट जनमत बढाउँछु र निर्वाचनलाई कब्जा गर्छु भन्ने भम्रबाट प्रतिनिधि नेताहरु मुक्त भए हुन्छ । सम्पूर्ण अंङ्गको न्यानो एउटा परिपक्व स्थापित ‘सिष्टम’ मा निर्भर हुन्छ ।
समाजवादका कार्यक्रम बनाउने जनताका प्रतिनिधि, समृद्घ नेपाल र सुखी नेपाली बनाउन खाका कोर्ने जनताका प्रतिनिधि व्यवहारमा कताकता आलाकाँचा देखिन थालेका छन् । यस्तो हुन हुने स्थिति पटक्कै होइन । आफूलाई तत्काल सच्याइहाल्नुपर्ने समयको तकाजा छ । केटाकेटी आए, गुलेली खेलाए भन्ने होला । हुनै नहुने यस्तो नहोस् । दुई तिहाइ जनमत लिएका जनताका प्रतिनिधिलाई चेतना भया ।