काठमाडौं । निजामती कर्मचारीले सरोकारवाला निकायसँग छलफल नै नगरी ल्याइएको संघीय निजामती सेवा ऐन नमान्ने चेतावनी दिएका छन् ।
राजधानीको एक साक्षात्कारमा बोल्दै कर्मचारी संगठनका प्रमुखहरूले सरोकारवालाले दिएको सल्लाह सुझावलाई आत्मसाथ गर्नुको सट्टा मनोबल गिराउने काम भएको भन्दै आक्रोश पोखेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले ऐन बनाउँदा सरोकारपक्षसँग छलफल नगरेकोमा आक्रोश पोख्नुभयो । विद्येयकमा गरिएको सामुहिक राजीनामाको व्यवस्था सम्बन्धमा उहाँले कसैको लहड र आक्रोशका विषय ऐन बन्न नसक्ने दाबी गर्नुभयो । ‘यो बोल्न सजिलो हुन्छ तर कार्यान्वयन गर्न सजिलो छैन, २५ जना एनेस्थेसिया डाक्टरले एकैपटक राजीनामा दिए भने कुनैपनि शल्यक्रिया हुन सक्दैन’, कोइरालाले भन्नुभयो, ‘ट्रेड युनियन भनेका अरिङ्गाल हुन् विष निस्कन्छ, माहुरी हुन् मह निस्कन्छ ।’ मन्त्रालय र राज्यव्यवस्था विष निकाल्न चाहन्छन् कि मह निकाल्न चाहन्छन् ? भन्दै प्रश्न गर्नुभयो।
कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामुहिक राजीनामाको कुराले थप उत्तेजित र आतंकित बनाउने काम गरेको टिप्पणी गर्नुभयो । समायोजनमा गएका कर्मचारीलाई हाजिर गर्न नदिएर बिचल्लीमा पार्ने काम भएको उल्लेख गर्दे उहाँले आफूहरुको संयमता र धैर्यतालाई कमजोरीको रुपमा नलिन चेतावनी दिनुभयो ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन बनाउने प्रक्रियामा आफ्नो संगठनको गम्भीर आपत्ति र असहमति रहेको बताउनुभयो । कर्मचारीको वास्तविक पीरमर्का सम्बोधन गर्ने काम नभए सरकार स्वयं असफलताको बाटोमा अघि बढ्ने चेतावनी दिनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावलले सरोकारवाला पक्षसँग छलफलविना ल्याइएकाले संघीय निजामती सेवा ऐन आफूहरुलाई मान्य नहुने चेतावनी दिनुभयो । कर्मचारीको भूमिकालाई नजरअन्दाज नगर्न सरकार सचेत हुनुपर्ने रावलको भनाइ थियो ।
राज्यव्यवस्था समितिबाट हालै पारित निजामती सेवा ऐनमा राखिएको सामुहिक राजीनामा लगायतका विषयमा कर्मचारी संगठनले तीव्र विरोध गरेका छन्।