आइसक्रिम प्रेमिका !

-कविता
मैले सँधै आइसक्रिम बन्नुपर्ने
तिमीले मजा लिई -लिई चुस्न मिल्ने
म खिइँदै -खिइँदै जानुपर्ने
तिमी हौंसिदै जान मिल्ने
म खिइँदै -खिइँदै जानुमा
तिमीले बहादुरी सोच्ने
चुस्ने चिज सकिएपछि
म फालिने रछ्यानमा
र तिमीले भन्ने
आहा ! आइसक्रिम स्वादिलो थियो ।
म तिम्री आइसक्रिम प्रेमिका
प्रत्येक पटकको तलतलमा
बदलिंदै जाने र खिइँदै जाने
अघि भर्खरसम्म थिएँ
तिमीसँगको प्रेमालापपछि
खिइदै गएँ, रित्तिदै गएँ
र ऐले सकिएँ !
म,
कुनै पसलेको फ्रिजभित्र
चुस्ने बस्तु बनेर थुनिएकी हुन्छु
तिमी आउँछौ
प्यारको गीत गाउँदै
पसलेसँग सोध्छौ
चकलेटी वाला
खुवा वाला
बदाम वाला
स्ट्रावेरी वाला
पाउ वाला
कुन -कुन फ्लेवरमा छ आइसक्रिम ?
पसले देखाउँदै जान्छ
तिमी छान्दै -छान्दै जान्छौ
आफ्नो रुची अनुसार
आफ्नो गच्छे अनुसार
कुनै एउटा छान्छौ
र एक पटक आँखा पनि नजुधाई
हतार – हतार चुस्न थाल्छौ !
कैले
तिम्रो रोजाईको चुरोट बनेर
मैले हरदम जल्नु पर्ने
धुवाँ बनेर उड्नु पर्ने
म उडेको धुवाँका गुच्छाहरू हेरेर
तिमी रोमाञ्चित हुने प्रेमले
अन्तिममा म
फालिनु पर्ने ठूटो बनेर
कैले,
तिम्रो रोजाईको आइसक्रिम बनेर
मैले लगातार पग्लनु पर्ने
हरेक मेरा घुट्काहरूमा
तिमीले तप्तिको महसुस गर्ने
मैले भने अन्तिममा
फालिनु पर्ने सिन्का बनेर
यो कुन खाले प्यार हो यार ?
मैले त सुनेको हो
प्यारमा बराबरी त्याग हुन्छ
बराबरी छनौट हुन्छ
र बराबरी आनन्द हुन्छ !
यो तिमीले चुस्ने
म पानी बनेर पग्लनु पर्ने
र एक्लै आनन्द लिने
यो तिमीले तान्ने र हावामा उडाउने
यो तिम्रो आइसक्रिम प्यार
मलाई अस्विकार्य छ यार !
म तिम्रो प्यारले अघाइसकें
यो लुटेरा प्यार भन्दा
मलाई घृणा मन पर्छ धेरै ।
म तिम्री आइसक्रिम प्रेमिका
आजबाट माग्दै छु
तिमीसँग घृणाको उपहार !