काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनुभएको छ ।
राजधानीमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरणसहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नुभएको हो ।
परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै दाहालले इतिहास उल्ट्याउन गरिने प्रयास र तिनका अगुवा अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताउनुभयो ।
‘जनतामा राजनीतिक र सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन, इतिहासको चक्का निरन्तर अगाडि बढ्छ’, दाहालले भन्नुभयो, ‘पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याइने नै गरेका छन्, नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।’
प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको प्रष्ट पार्दै दाहालले पुराना सोच, संरचना, मुल्य मान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिवर्तन पक्षधरहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठुलो भूमिका रहेको भन्दै दाहालले प्रभावकारी भूमिका निर्वाहका लागि शिक्षकलहरूसँग आग्रह गर्नुभयो।