ऊ : न त मौका न त जिम्मेवारी

उच्च वर्गका छोरीहरु बढी सुरक्षित मानिन्छन्, किनकी उनीहरुको परिचय समाजमा उपल्लो दर्जाको बुवाको नामसँग जाेडिन्छ। त्यस्तै, सानो भाइसँग हिंडिरहेकी दिदी सुरक्षित मानिन्छे, किनकी उसको साथमा भाइ (पुरुष) छ । समाजमा एउटा महिला यसकारण  मात्रै सुरक्षित मानिन्छे, जब अरुले ऊ कसैकी र केही हो भन्ने महसुस गर्छन् । यदि ऊ कसैकी केही हो भन्ने महसुस गरिएन भने कसैका लागि ऊ जिम्मेवारी कहलिन्छे त कसैका लागि मौका ।

“तेरो घरमा आमा, दिदी बहिनी छैनन् ? “ चलचित्रमा ‘गुण्डा’ हरुले केटी जिस्क्याउँदा प्रायः नायिकाको डायलग हुन्थ्यो त्यो । गुण्डाले हिरोइनलाई जिस्क्याउँदा खुम्चिएको मेरो निधार हिरोइनको उक्त डायलग पछि फराकिलो हुन्थ्यो । गर्व लाग्थ्यो ।  त्यसपछि बल्ल मज्जा लाग्थ्यो, जब बाँसले बारेको फिल्म हलमा बाँस र बोराबाट बनाइएका सिटमा बसेर त्यो साँघुरो पर्दामा फिल्म हेरिन्थ्याे। एक घण्टा हिंडेर फिल्म हेर्न पुगेको त्यो आफ्नो मेहनत सार्थक भएको भान हुन्थ्यो ।

उही हिरोइन जस्तै आफू सशक्त केटी भएको कल्पना गर्दै गाउँबाट सपनाको भारी सहित काठमाडौं आइपुगियो । काठमाडौंले पत्रपत्रिका र पुस्तकहरुप्रति मोहनी लगाइदियो । विभिन्न पुस्तक, महिला सरोकारका लेख रचनाहरु, बहसहरु, प्रतिक्रियाहरुमा उल्लेखित वाक्यांश सशक्त लाग्न थाले । ‘बुहारी पनि त कसैकी छोरी हो ।’, ‘त्यो केटी कसैकी दिदी हो, कसैकी बहिनी हो ।’,  ‘त्यो कसैकी आमा हो ।’ यी लिखित डायलग पढ्दा मनमा तुफान चल्थ्यो । ‘म पनि त कसैकी बहिनी हूँ, कसैकी छोरी हूँ ।’ किन ट्युसन् पढाएर फर्किंदै गर्दा बाटोमा साइकलमा हुइँकिरहेको त्यो मान्छेले मेरो छातीतिर हात तेर्स्यायो ? के उसको घरमा दिदी बहिनी छैनन् ? उसको दिदी या बहिनीलाई कसैले त्यस्तो गरेको भए ? अब मलाई त्यस्ता मान्छेलाई ठाउँको ठाउँ यस्तै जवाफ दिन सक्ने बन्नु थियो ।

विस्तारै सामाजिक सञ्जालमा पनि अभ्यस्त हुन थालियो । ‘बाटोमा हिंडिरहेकी केटी तिम्रो लागि मौका होइन, जिम्मेवारी हो।’ महिला हिंसा र बलात्कारका घटनाले गर्दा सामाजिक सञ्जालमा यी डायलगहरु छाउन थाले । तर बाँसले बारेको फिल्म हल देखी मोबाइलमा औंला दौडाएर संसार थाहा पाइने स्मार्ट फोनको युगसम्म आइपुग्दा मेरो मस्तिष्कमा सशक्त र समानताको अर्थ फेरिएछ । अब यी डायलगले मेरो मन मस्तिष्कमा कब्जा जमाउन छोडिसकेछन् । सायद मैले भोगेका, पढेका, सुनेका कुराहरुले मलाई, ‘तँ कसैकी जिम्मेवारी या मौका होइनस्’ भन्ने बुझाएछन् ।

बाटोमा एक्लै हिंडिरहेकी महिला न त कसैको जिम्मेवारी हो, न त कसैको मौका । ऊ मानिस हो । ऊ स्वतन्त्र व्यक्ति हो । उसको आफ्नै परिचय छ । उसको आफ्नै अस्तित्व छ । ऊ त्यसरी नै निस्फिक्री हिंड्न पाउनुपर्छ । जसरी हरेक पुरुष हिंडिरहेका हुन्छन् । उसको आफ्नो शरीर र परिचय माथि केवल उसको आफ्नै हक लाग्छ । ऊ कसैकी होइन । ऊ ‘आफू’ हो ।

हाम्रो मन मस्तिष्कमा हाम्रो हुर्काइकाे परिवेश र संस्कारले प्रभाव पार्छ । त्यसपछि हामीले देख्ने, पढ्ने, सुन्ने, भोग्ने बाहिरि कुराले प्रभाव पार्दै जान्छन् । हाम्रो संस्कार, परिवेश र हुर्काइले कहिल्यै पनि महिलाको परिचयलाई प्राथमिकतामा राखेन । ऊ ‘कसकी हो’ भन्ने कुरालाई प्राथमिकतामा राखियो र अहिले पनि राखिन्छ । समाजमा उच्च वर्गका छोरीहरु बढी सुरक्षित मानिन्छन्, किनकी उनीहरुको परिचय समाजमा उपल्लो दर्जाको बुवाको नामबाट सुरु हुन्छ । त्यस्तै, सानो भाइसँग हिंडिरहेकी दिदी सुरक्षित मानिन्छे, किनकी उसको साथमा भाइ (पुरुष) छ । समाजमा एउटा महिला यसकारण  मात्रै सुरक्षित मानिन्छे, जब अरुले ऊ कसैकी र केही हो भन्ने महसुस गर्छन् । यदि ऊ कसैकी केही हो भन्ने महसुस गरिएन भने कसैका लागि ऊ जिम्मेवारी कहलिन्छे त कसैका लागि मौका ।

महिलामाथि शासन चलाएको देख्दै आएको हाम्रो हुर्काइले ‘महिला पनि मान्छे हो’ भन्ने नै बुझाउन सकेन । महिलालाई कसैकी छोरी, कसैकी दिदी या बहिनी, कसैकी बुहारी, कसैकी श्रीमतीको रुपमा परिचय दिने हाम्रो संस्कारले उसको स्वतन्त्रतालाई  पनि पचाउन सकेन । समाजमा बढ्दै गइरहेका महिला हिंसाका घटना यसका उदाहरण हुन्। त्यसमाथि चलचित्र, लेखन वा सामाजिक सञ्जालमा ‘के त्यो तिम्रो छोरी जस्तै होइन’ भन्ने जस्ता तर्कले महिला सशक्तिकरणलाई भावनामा बगाइदिन्छन् । यही आदर्शवादले महिलाको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा गरिदिन्छ ।

सशक्तिकरणको लागि आत्मनिर्भरता, महिलाको स्थान र उसको परिचयको आवश्यकता पर्दछ । तर, महिलाको सुरक्षाको नाममा ’कसैकी’ जोडेर उसलाई झन् परनिर्भर बनाइन्छ, उसको क्षमतालाई छायाँमा राखिन्छ, उसको आफ्नो परिचय गुमनाम गराइन्छ । एउटी महिलामाथि उसको परिवार, प्रेमी या श्रीमानले मात्र नभएर समग्र समाजले नै हक जमाउन खाेज्छ। यस्तै मानसिकताका कारण, आफ्नो सुरक्षाकाे  डरले  महिलाले पुरुषलाई आफ्नो सर्वश्व ठान्छन् र हिंसा समेत सहेर बसिरहेका हुन्छन् । समाजमा सम्बन्ध विच्छेद भएका महिला र विधवा माहिलामाथि हुने हिंसाले पनि यस विषयलाई थप प्रष्ट पार्छन् ।

अर्कोतर्फ, शिक्षित र आधुनिक भनिएका महिलाहरु समेत हरेक कुरामा आफूलाई श्रीमानको नामबाट चिनाउन पाउनु ठूलो भाग्य सम्झिन्छन् । त्यस्तै, ‘म आफू को हूँ’ भन्ने प्रश्नको उत्तर खोजि गर्नुभन्दा कसैकी बनेर सुरक्षित रहनुलाई नै उनीहरु उत्तम विकल्प ठान्छन् । जसले गर्दा शिक्षित रहेर पनि उनीहरु आत्मनिर्भर हुन सकिरहेका छैनन् । महिला हिंसाका घटना त्यतिन्जेलसम्म बढिरहन्छन् जबसम्म समाजले महिला मानिस हो भन्ने स्विकार्दैन । जबसम्म एउटी महिलाले म स्वतन्त्र मानव हूूँ भन्ने बुझ्दिन र जबसम्म हाम्रो संस्कारले महिलाको स्वतन्त्रतालाई पचाउन सक्दैन ।

बाटोमा एक्लै हिंडिरहेकी महिला न त कसैको जिम्मेवारी हो, न त कसैको मौका । ऊ मानिस हो । ऊ स्वतन्त्र व्यक्ति हो । उसको आफ्नै परिचय छ । उसको आफ्नै अस्तित्व छ । ऊ त्यसरी नै निस्फिक्री हिंड्न पाउनुपर्छ । जसरी हरेक पुरुष हिंडिरहेका हुन्छन् । उसको आफ्नो शरीर र परिचय माथि केवल उसको आफ्नै हक लाग्छ । ऊ कसैकी होइन । ऊ ‘आफू’ हो । अबका महिला अरु कसैकी भएर होइन, ‘आफू’ भएर जिउन थाल्नुपर्छ । चलचित्रमा वा साहित्यमा अब उसलाई ‘कसैकी’को रुपमा चित्रण गर्न छोड्नुपर्छ । महिलाको चरित्रलाई भावनामा बगाउन छोडेर अब वैचारिक विषयलाई केन्द्रमा राखिनुपर्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…