सन्तोष श्रेष्ठ धादिङ। राजधानी भित्रिने र विभिन्न जिल्ला जाने पृथ्वी राजमार्ग पछिल्लो समय लागूऔषध ओसारपसारको मुख्य ट्रान्जिट नाका बनेको छ। ७० जिल्लालाई जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा लागुऔषध कारोबारीले ट्रान्जिट बनाउँदै अवैध लागूऔषध ओसारपसार गर्ने गरेको प्रहरी तथ्याङ्क देखाएको छ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा गाँजा १७ के.जी, चरेस १ सय १७ के.जी, आर्थिक वर्ष २०७४/७५ मा गाँजा १ सय ९२ के.जी, चरेस ३ सय ३४ र आर्थिक २०७५/७६ मा १ हजार ४ सय २८ क.जी, गाँजा र १ हजार ३१ चरेस प्रहरीले बरामद गरेको छ।
२०७३/७४ मा कोरेक्स ५ बोटल, स्पास्मो प्रोक्सोभोम प्लस १ सय ५२ क्याप बरामद गरेको छ। एक भारतीय महिलासहित २ जना पुरुषसमेत गरी ३२ जनालाई प्रहरीले पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा चरेस‚नाईट्राभेट ट्याब्लेट १ सय ७६‚ नुर्फिन १० एम्पुल‚ डाईजेपाम १० एम्पुल‚फेनारागन १० एम्पुल‚ बरामद गरेको छ भने ३७ जना २२ वटा लागूऔषध कारोबार मुद्दाका छन् ।
अहिलेसम्म १ हजार ४ सय २८ के.जी, ३ सय ७९ ग्राम गाँजा‚१ हजार ३१ के.जी ८५ ग्राम चरेस‚ अफिम ९ सय ७८ ग्राम, नाइट्रोभेट ५९ ट्याब्लेट स्पास्मो १० ट्याब्लेट, कफट्याब १० ट्याब्लेट, ट्रमा लेखिएको क्यापसुल १६ पिस, कलभम ६ सय २५ लेखएको क्यापसुल ४ डिआरेड्डीयस १०० एमएल पदार्थ, १८ थान बोतल प्रहरीले बरामद गरेको छ ।
लागूऔषधसँग संलग्न ५२ जना पक्राउ परेका छन्। ३० वटा लागूऔषध कारोबारका मुद्दा दर्ता छन् भने पक्राउ परेका ३९ पुरुष र ७ महिला छन्। पक्राउ पर्नेमा ६ जना भारतीय पनि छन्।
सामान्य खालका लागूऔषधदेखि ठूला मात्रामा भेटिने गरेको छ। सामान लिएर नेपालमा आउने र फर्कदाँ लागुऔषध लैजाने गरेका छन्। भारतीय लागूऔषध कारोबारीले नेपाललाई लागुऔषध कारोबारको ‘हब’ बनाएका छन्। लागूऔषध कारोबारमा पक्राउ पर्नेमध्ये अधिकांश भारतीय कन्टेनर र भारतीय नागरिक हुने गरेका छन्।
लागूऔषध ओसार-पसारमा भारतीय नागरिकको संलग्नता बढ्दै गएको छ। लागूऔषध ओसार-पसार गरेको आरोपमा पक्राउ परेकाको प्रहरीको तथ्याङ्कले भारतीयको बढ्दो संख्यालाई प्रस्ट पार्छ। भारतीय साधनमा प्रहरीले खासै कडाइ नगर्ने र नहेर्ने, हेरे पनि कागजपत्र मात्र हेर्ने भएकाले तस्करले भारतीय कन्टेनरमा तस्करी गर्ने गरेको प्रहरीको भनाइ छ।
प्रहरीले गत पुस १९ गते गजुरी बजारबाट दुई सय ३५ किलो चरेससहित दुई भारतीयलाई पक्राउ गरेको थियो। विशेष सुराकीका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोसहितको टोलीले काठमाडौंबाट फर्कँदै गरेको भारतीय कन्टेनरमा क्याबिन माथिको भागमा फल्स बटन बनाई लुकाएर लैजाँदै गरेको अवस्थामा चरेस बरामद गरेको थियो ।
त्यस्तै गत माघ २७ गते तीन सय ६० किलो चरेससहित तीन भारतीयलाई पक्राउ गरेको थियो। काठमाडौंबाट चितवन हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एच आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरमा प्लास्टिकका १५ वटा बोराभित्र ७ सय २ वटा प्लास्टिकमा पोका फेला परेको थियो।
फागुन २६ गते गजुरी बजारबाट चेन्नई एक्सप्रेसको ना ५ ख २८१२ नम्बरको बसमा १ सय ५ किलो चरेससहित तीन जनालाई पक्राउ गरिएको थियो।
धादिङ प्रहरीले गत साउनदेखि चैत १४ गते सम्म ८ सय ७३ के.जीे चरेस, ६ सय ३५ के.जी ७ सय ९० ग्राम गाँजा, नाइट्रोभेट ५९ ट्याब्लेट, स्पास्मो १० ट्याब्लेट, कफट्याब १० ट्याब्लेट, ट्रमा लेखिएको क्याप्सुल १६ पिस, कलभम ६ सय २५ लेखिएको क्याप्सुल ४ ट्याब्लेट बरामद गरेको थियो।
लागुऔषध गाँजा र चरेस तस्करीमा संलग्नमा १ वर्षमा ३७ जना पक्राउ परेका छन्। जसमध्ये तीन वटा कन्टेनरसहित ८ जना भारतीय अनुसन्धानका लागि थुनामा छन्।