झापा। दशैंको अवसर पारेर बिर्तामोडको जायोन स्पोर्टस् क्लबले विदेशी टिम सम्मिलित स्तरीय गोल्डकप आयोजना गर्ने भएको छ। असोज ११ गतेदेखि १८ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप-२०७६ आयोजना हुन लागेको हो।
विगत २ वर्षदेखि खेलकुद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबले दुई विदेशी टिम र चार वटा ए डिभिजन क्लबसहित आठ वटा टिम गोल्डकपमा सहभागी हुने मंगलबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो।
आयोजकका प्रवक्ता अविनाश राईले प्रदेश १ मै प्रतिष्ठित गोल्डकपको रुपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए। ‘झापामा फुटबललाई अझ चलयमान बनाउने सन्र्दभमा हामीले पनि एउटा इँटा थप्ने प्रयास गरेका हौँ’, उनले भने, ‘त्यही अनुसार हामीले गोल्डकपको तयारी तीव्र पारेका छौँ।’ प्रतियोगितामा २ विदेशी टोली रहने भनिए पनि बंगलादेशसँग पनि सहभागिताका लागि कुरा भइरहेको उनको भनाइ छ।
बंगलादेशको सहभागिता नभएको खण्डमा नेपालका पाँच वटा ए डिभिजन क्लबको सहभागिता रहने आयोजकको भनाइ छ। आयोजकका तर्फबाट एउटा टिम रहने पनि आयोजकले जानकारी दिएको छ। तर, सहभागी टिमको बारेमा भने केही खुलाइएको छैन।
विजेतालाई १२ लाख रुपैयाँ प्रदान गरिने प्रतियोगिताको उपविजेतालाई ६ लाख २५ हजारसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले बताए। त्यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदयीमान खेलाडी, सर्वाधिक गोलकर्तालाई पनि जनही नगद पुरस्कार प्रदान गरिने भएको छ।
गोल्डकप सम्पन्न गर्न कम्तिमा ८० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि प्रायोजकको खोजी भइरहेको बताइयो।कार्यक्रममा बोल्दै झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतले यो प्रतियोगिता क वर्गको स्तरीय खेलअनुरुपको भएको बताए। झापा फुटबल संघको सहमति र एन्फाको अनुमतिमै प्रतियोगिता गर्न लागिएकाले सबैले सहयोग गर्न उनले अपिल पनि गरे।
हरि खड्का ब्राण्ड एम्बासेडर
पत्रकार सम्मेलनमा गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ब्राण्ड एम्बासेडर नियुक्त गरिएको जानकारी दिइयो। कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रशिक्षक खड्काले प्रतियोगितामा ब्राण्ड एम्बासेडर राखेको सम्भवतः पहिलोपटक भएको बताए। ‘नेपालमै पहिलोपटक हुन सक्छ, यस्ता कार्यले अन्य फुटबल प्रतियोगिता आयोजकलाई एम्बासेडर राख्न सहयोग पुग्छ’, उनले भने।
सम्झौतामा आयोजकले २ लाख रुपैयाँ दिने सहमति भएको प्रशिक्षक खड्काले जानकारी दिए। सोही समयमा उनले आफूले पाउने रकमबाट एक लाख रुपैयाँ आयोजकलाई सहयोग प्रदान गर्ने घोषणा गरे। ‘यो रकम अलिक धेरै नै भयो, आयोजकलाई अन्याय हुन्छ त्यसैले आधा रकम सहयोग गरेको हुँ।’ गोल्डकप सफल पार्नका लागि उनले सबैमा सहयोगको आह्वान पनि गरेका छन्।
कार्यक्रममा क्लबका सचिव महेन्द्र पाण्डेले स्वागत गरेको कार्यक्रममा सहयोगी संस्था कुरुम्बाङ होलो ब्लक अर्जुनधाराका सञ्चालनक मणिकुमार राईलगायतको उपस्थिति रहेको थियो।