नारायण भण्डारीकाठमाडौं । हरेक वर्ष भाद्रकृष्ण प्रतिपदा वा जनैपूर्णिमाको भोलिपल्ट काठमाडौ उपत्यकालगायत मुलुकका प्रमुख शहरमा परम्परागत गाईजात्रा पर्व मनाइन्छ । वर्षदिनमा दिवंगत भएकाहरुको सम्झनामा घरघरबाट गाईलाई सिंगारी वा मानिसले गाईको प्रतीकयुक्त वस्तु लगाई टोलटोलमा परिक्रमा गराएर गाईजात्रा मनाउने चलन छ ।
सनातन संस्कृतिमा मृत्युपश्चात पितृ गाईको पुच्छर समाई वैतरणी नदी तर्छन् भन्ने विश्वास छ । गाईलाई पितृउद्धार गर्ने पवित्र प्राणीको रुपमा पूजा गरिन्छ । गाईजात्रा वा सापारु विशेष गरी नेवारी समुदायको महत्वपूर्ण साँस्कृतिक पर्व हो । गाईको आकृति बनाई शिरमा लगाएर गाईजात्रामा निस्कनेले भजनकीर्तन,नाचगान, हास्यव्यङ्ग्य पनि गर्ने परम्परा छ ।
काठमाडौका प्रसिद्ध राजा प्रताप मल्लकी पत्नी पुत्रशोकमा परी विह्वल भएपछि हामीलाई मात्र होइन अरुलाई पनि यस्तै पीर परेको छ दुनियाका घरमा पनि मानिस मरेका छन् भनेर सम्झाउन राजाले दिवंगत व्यक्तिका नाममा गाई जात्रा निकाल्न लगाएको ऐतिहासिक कथन छ । यतिले मात्र पनि रानीको मन शान्त नभएपछि गाईजात्रामा सहभागी हुनेले हसाउने खालका प्रहसन गर्ने अनेक थरीका लुगाफाटो लगाई ठट्यौली गर्न पनि अह्राएको बताइन्छ । यो उपायबाट रानीको मन शान्त भएको र त्यस कार्यले निरन्तरता पाउँदा गाईजात्रा बनेको संस्कृतिविद सत्यमोहन जोशीको भनाइ छ ।
विगतको त्यो चलन यथावत् राखी अहिले पनि काठमाडौका गल्लीबाट जात्रा निकालेर हनुमानढोका हुँदै लैजाने चलन छ । जात्राका क्रममा सेतो वस्त्र ओच्छयाएर त्यसमा गाईलार्ई हिडाल्नेहरु जोगीको भेषमा हिड्ने र लाखे नाच पनि देखाउने चलन छ । जात्रामा सहभागीहरुले मृतकका राम्रा कामको गुणगान गर्ने, दिवंगत व्यक्तिको तस्वीर राखी कृष्णचरित्र,रामायणका श्लोक गाएर सुनाउँदै नगरपरिक्रमा गर्ने परम्परा छ ।
जात्रामा सहभागीलाई टोलका मानिसहरुले दूध,दही,अन्न, फलफूल चिउरा तथा द्रव्यदान गर्ने चलन छ । यस दिन काठमाडौको हनुमानढोका दरबारक्षेत्रमा गाईजात्रा पर्व मनाउनेको भीड देखिन्छ । महानगरका विभिन्न टोलबाट निकालिएको जात्रा हनुढोका दरबार प्रांगणमा पु¥याएर फर्कान्छ ।
यसैगरी ललितपुरको पाटन दरबारक्षेत्रमा पनि छत्रसहितको गाईजात्रा निकाल्ने र अवलोकन गर्नेको घुइँचो नै लाग्दछ ।साँस्कृतिक वैभवले भव्य शहर भक्तपुरमा मनाउने गाईजात्रा विशेष मानिन्छ । भक्तपुरको गाईजात्रामा बाँसको खट वा तमचा बनाई त्यसमाथि दिवंगत व्यक्तिको फोटो र उनले लगाउने वस्त्र राखी नगर परिक्रमा गराइन्छ । गाई रुपी यस आकृतिका साथमा आफन्तजनले धूपदीप लिएर जात्रा गर्ने गरिन्छ ।
भक्तपुरका विभिन्न गल्लीबाट जात्रा निकाली भक्तपुर दरबारक्षेत्र,न्यातापोल वा तौमडी,सुकुलढोका,गोलमडी,दत्तात्रय मन्दिरको परिक्रमा गर्ने गरिन्छ । जात्रामा ,घिन्ताङघिसी, माँक प्याखँ नाच, गिनी त्वाँग नृत्य धिमे तथा भुक्ष्या बाजालगायतका साँस्कृतिक प्रस्तुतिका कारण भक्तपुरको गाईजात्रामा विशेष आकर्षण पाइन्छ ।
मुलुकका अन्य शहर कीर्तिपुर, भीमेश्वर, बनेपा, धुलीखेल, खोटाङ, भोजपुर, चैनपुर धरान, नारायणगढ, वीरगञ्ज,पोखरा, तानसेन लगायतका शहरमा पनि गाईजात्रा मनाइन्छ । परम्परागत गाईजात्रा पर्वमा पछिल्लो समयमा समाजका कुरीति, प्रशासनिक कमजोरी,जिम्मेवार व्यक्तिका गलत प्रवृत्तिमाथि व्यङ्ग्य गर्ने चलन बढेको छ ।
गाईजात्राका अवसरमा राजनीतिक तथा राज्यका महत्वपूर्ण पदमा रहेका व्यक्ति, संस्था र सरकारको समेत आलोचना गरी छेडछाड हान्ने छुट हुन्छ । यसले गल्ती कमजोरी हटाएर समाजमा सुधार ल्याउन सहयोग गर्ने धारणा राख्नुहुन्छ संस्कृतिकर्मी जोशी ।
व्यङ्ग्यलाई साहित्यको बलियो विधा मानिन्छ । हास्यव्यङ्ग्यलाई साहित्यकै अंग मानेर नेपाल प्रज्ञाप्रतिष्ठानले गाईजात्रा महोत्सव मनाउन थालेको संस्कृतिविद् जोशी जानकारी दिनुहुन्छ । विगतका शासकले यस्तो हास्यव्यङ्ग्य गर्ने कार्यप्रति कठोरता देखाए पनि प्रजातन्त्रको प्राप्तिपछि जनताले खुलेर गाईजात्रा मनाएको उहाँको भनाइ छ ।
गाईजात्रा पर्वले नेपाली समाजको उदारता झल्काएको छ भन्दै उहाँले हास्यव्यङ्ग्य मानवीय तत्व भएकाले नेपालमा जस्तै बेलायत र चीनमा पनि व्यङ्ग्यवाणबाट समाज सुधारको प्रयास भएको संस्कृतिविद् जोशी बताउनुहुन्छ । तर गाईजात्रा जस्तो पर्वका सन्दर्भलाई बढी व्यापारिक र व्यवसायी मात्र बनाउन उपयुक्त नहुने उहाँको सुझाव छ । जनैपूर्णिमाको भोलिपल्टदेखि शुरु हुने गाईजात्रा आठ दिनसम्म मनाउने गरिन्छ । गाईजात्राको आठ दिने अवधिमा स्थान अनुसार रोपञीजात्रा, हिलेजात्रा,दीपयात्रा,राधाकृष्णजात्रा लगायतका विभिन्न जात्रा निकाल्ने परम्परा छ ।
देशका विभिन्न शहरमा आयोजना गरिने गाईजात्रा पर्वको अवलोकन गर्न देश विदेशका पर्यटक पनि आकर्षित भएको पाइन्छ । यस्ता जात्रा, पर्व र साँस्कृतिक प्रस्तुतिले नेपालको परम्परा बचाउन सहयोग गर्छन् । नेपाल र नेपालीलाई यिनैले चिनाउँछन् । देशमा पर्यटन विकासमा टेवा पुग्छ । जनवस्तीमा पाइने मनाइने यस्ता साँस्कृतिक पर्व स्थानीय मठमन्दिर र सम्पदाहरुको परिचय दिई तीर्थपर्यटनमा समेत सहयोग पु¥याउँछन् । यी साँस्कृतिक प्रस्तुति नै हाम्रो सभ्यताको उचाइ र विशालता बोध गराउने झलकहरु हुन् ।