विष्णु पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव । नेकपाभित्र अत्यन्त्रै कम र सान्दर्भिक बिषय वस्तुबारे मात्र बोल्ने नेताको रुपमा परिचित हुनुहुन्छ उहाँ । प्रधानमन्त्री केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अध्यक्ष बनाउन पौडेलको महत्वपूर्ण भूमिका छ ।एमाले र माओवादी केन्द्रबीचको एकतामा पनि उहाँको उल्लेखनीय योगदान छ । पार्टीभित्र गुटबन्दी हुँदा उहाँ मध्यमार्गी भूमिकामा रहँदै आउनुभएको छ । पौडेलले पार्टीमा व्यक्ति भन्दा विचारलाई महत्व दिँदै आउनु भएको छ । त्यही स्वभावकै कारण पछिल्लो समय पार्टीभित्र उहाँले फड्को मार्नु भएको हो ।
पञ्चायतकालदेखि वामपन्थी राजनीतिमा सक्रिय हुँदै आउनु भएका पौडेल लोकतन्त्र स्थापनापछि जलस्रोत मन्त्री बन्नुभयो । उर्जा क्षेत्र त्यसबेला जलस्रोत अन्तरर्गत थियो । विभिन्न विद्युत आयोजनामा लगानी जुटाउन देखि उर्जा क्षेत्रको बिसंगति हटाउने प्रयास गर्नुभयो । केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा उहाँ अर्थ मन्त्री हुनुहुन्थ्यो । अर्थमन्त्रीको जिम्मेवारीमा रहेका बेला उहाँले सामाजिक सुरक्षा भत्ता दोब्बर, पत्रकारलाई सरकारी अस्पतालमा उपचार गर्दा उपचारमा छुट, वृद्धवृद्धा र बालबालिकालाई मुटुको निःशुल्क उपचार लगायतका फरक कार्यक्रम ल्याउनु भयो । वित्तीय क्षेत्रको सुधारको लागि विभिन्न कार्यक्रम ल्याउनु भयो ।
नेकपाको महासचिव भएपछि पौडेलको व्यस्तता झन् बढ्दै गएको छ । एकतामा विभिन्न समूहलाई मिलाउनदेखि पार्टीको आगामी कार्यदिशा तय गर्न समेत उहाँको जिम्मेवारी छ । प्रस्तुत छ, व्यस्तताको बाबजुत महासचिव पौडेलले जनताकर्मीकान्ति न्यौपानेसँग गर्नुभएको संक्षिप्त वार्ता :
स्कुल विभागको विवाद कसरी टुंगियो ?
पार्टीभित्र स्कुल विभाग ठूलो विवादको बिषय नै थिएन । बाहिर हल्ला मच्चिए जस्तो पेचिलो र विवादित बिषय थिएन । पार्टीको आन्तरिक जीवनमा स्कुल विभाग सामान्य छलफलमा थियो । सचिवालय बैठकमा सामान्य छलफल भयो र सहज ढंगबाट टुंगियो ।
स्कुल विभागमा दाबेदार त धेरै थिए नी ?
स्कूल विभागको प्रमुख ईश्वर पोखरेललाई बनाउने विषय विरोधको बिषय नै होइन । पार्टी पंक्तिभित्र विरोध पनि थिएन । पार्टीको औपचारिक र आधिकारिक विचार तथा संस्थागत निर्णय पार्टी पंक्तिभित्र लिएर जाने काम स्कुल विभागको हो । पार्टीको आधिकारिक दृष्टिकोण लिएर कार्यकर्तामाझ स्कुल विभागले काम गर्ने हो । कमरेड ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउँदा सहमति र सर्वसम्मतिले निर्णय भएको छ । कसैको कुनै असहमति र विमति छैन । सर्वसम्मत निर्णयले विगतमा भएको विवादको चर्चा पनि निराधार हो भन्ने पुष्टि भएको छ । पार्टी एकता र एकीकरण प्रकृया टुंगो लाग्न ढिलाई हुनुमा स्कुल विभाग मूल कारण होइन । अन्य कार्य व्यस्तता र गृहकार्य नपुगेर हो ।
कमरेड बामदेव गौतम आन्दोलनका अगुवा नेता हुनुहुन्छ । पार्टी र राज्यको पनि महत्वपूर्ण जिम्मेवारी वहन गर्नुभएको छ । आन्दोलनको समयमा उहाँले अनेक उकालीओराली पार गर्नुभएको छ । पञ्चायत र राजतन्त्रको अन्त्यको लागि भूमिका खेल्नु भएको छ । उहाँले जेलजीवन बिताउनु भएको छ । अत्यन्त विषम र प्रतिकूल परिस्थितिमा पार्टी निर्माणका लागि योग्यतापूर्ण नेतृत्व गर्नुभएको छ । उहाँको इतिहास, योग्यता र योगदानको पार्टीले भरपूर सदुपयोग गर्न सचिवालयले उहाँलाई पार्टीको उपाध्यक्ष पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
पार्टीभित्र अचानक उपाध्यक्ष पदको किन आवश्यकता पर्याे ?
सचिवालय बैठकले कमरेड बामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव पार्टीको स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ । यो प्रस्ताव पार्टीको स्थायी कमिटीले स्वीकार गरेपछि लागू हुन्छ । कमरेड बामदेव गौतम आन्दोलनका अगुवा नेता हुनुहुन्छ । पार्टी र राज्यको पनि महत्वपूर्ण जिम्मेवारी वहन गर्नुभएको छ । आन्दोलनको समयमा उहाँले अनेक उकालीओराली पार गर्नुभएको छ । पञ्चायत र राजतन्त्रको अन्त्यको लागि भूमिका खेल्नु भएको छ । उहाँले जेलजीवन बिताउनु भएको छ । अत्यन्त विषम र प्रतिकूल परिस्थितिमा पार्टी निर्माणका लागि योग्यतापूर्ण नेतृत्व गर्नुभएको छ । उहाँको इतिहास, योग्यता र योगदानको पार्टीले भरपूर सदुपयोग गर्न सचिवालयले उहाँलाई पार्टीको उपाध्यक्ष पदमा बढुवा गर्ने निर्णय गरेको हो । वरियताक्रममा यो निर्णयले कुनै फरक पर्दैन । पार्टीका अध्यक्षद्वय , वरिष्ठ नेताहरु त्यसपछि उपाध्यक्ष नै रहनुहुने छ । जिम्मेवारीका हिसाबले उपाध्यक्षको थप भूमिका हुनेछ ।
ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउने निर्णय सर्वसम्मति भएको हो । यसमा कसैको कुनै असहमति र विमति छैन
तल्लो कमिटीबाट विरोध वा प्रतिक्रिया आउने सम्भावना कत्तिकाे देख्नुहुन्छ ?
केन्द्रीय कमिटीको जिम्मेवारी बाँडफाँडमा तल्लो कमिटीले असहमति जनाउने बिषय होइन । यसमा कसैले असहमति पनि जनाउँदैनन् ।
पार्टी एकता प्रकृयाको बाँकी कार्य कहिलेसम्म पूरा हुन्छ ?
एकताको छिनोफानो प्रकृया अन्तिम चरणमा पुगेको छ । यद्यपि पार्टी एकीकरणको अझै केही काम बाँकी छन् । कार्यकर्ता पंक्तिबाट एकताको काम बाँकी छन् –बाँकी छन् भनेर उठेको आवाज हामीले पनि सुन्दै आएका छौं । त्यसमा सत्यता पनि छ । तर काम अगाडि पनि बढ्दै छ । नेपाल कम्युनिष्ट पार्टीको कार्यसम्पादन तपाईंहरुले पनि देखिरहनु भएको छ । हुँदै हुँदैन र असम्भव भनेको कार्य पनि सफलतापूर्वक सम्पन्न भएको छ । प्रायः सवै कार्य सफलतापूर्वक सम्पन्न भएको छ । एक समयमा भनिन्थ्यो, ‘दुई पार्टीको एकता भएर नेकपा बन्दैन, दुई पार्टी मिलेर सँगै चुनावमा जान सक्दैन’ नेताहरु एक आपसमा लड्नेछन् र भिड्नेछन् भनेर हल्ला चलाइएको थियो । तर हामीले सवै निर्णय सर्वसम्मतिले गर्दै आएका छौं । केही बाँकी काम छन् । तर त्यो पनि चाँडै सर्वसम्मतिमै टुंगिन्छ । छिट्टै टुंगिन्छ ।
स्थायी समिति र केन्द्रीय कमिटीको बैठक नबोलाइएकोमा असन्तुष्टि बढिरहेको छ नी ?
केही कमरेडहरुले स्थायी समिति र केन्द्रीय कमिटीको बैठक माग गर्नुभएको छ । बैठक छिटो हुनुपर्छ भन्नुभएको छ । त्यो अत्यन्त सकारात्मक कुरा हो । सम्बन्धित कमरेडहरुले भन्ने, विचार व्यक्त गर्ने र बैठकको आवश्यकता महशुस गर्ने कार्य नराम्रो होइन । हामीले चाहेको कुरा के हो भने, सचिवालय बैठकमा र स्थायी समिति बैठकमा पर्याप्त गृहकार्य होस् । केन्द्रीय कमिटी बैठकमा यथेष्ट प्रस्ताव लिएर जान सकियोस् भनेर विलम्ब भएको हो । विलम्ब भएको कुरा साँचो हो । सत्य हो । तर अब यो विलम्ब धेरै लम्बिदैन । स्थायी समिति बैठक र केन्द्रीय कमिटी बैठक छिट्टै हुन्छ । केही कमरेडहरुको जिममेवारी बाँडफाँडको काम अझै बाँकी छ । त्यो पनि छिट्टै निर्णय हुन्छ ।
एकताको सन्देश पार्टीको तल्लो तहसम्म कहिले पुग्छ ?
हामी अब छिट्टै यो एकता र एकीकरण प्रकृया सक्छौं । स्थायी समिति र केन्द्रीय कमिटी बैठक हुन्छ । हामी गहन छलफल गर्छौं । पार्टी पंक्ति परिचालनका लागि र जिल्ला पंक्ति परिचालनका लागि एजेण्डा लिएर जान्छौं ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे केही भन्नु हुन्छ कि ?
प्रधानमन्त्री केपी ओली सम्पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ । बिहीबार उहाँलाई सामान्य ज्वरो आएको थियो । एक डेढ घण्टा उहाँले आराम गर्नुभएको हो । त्यो भन्दा परको सबै अनुमान र सम्प्रेषण यथार्थ हो । प्रधानमन्त्री स्वस्थ र फिजिकल्ली कम्पलिट र फिट हुनुहुन्छ ।
https://youtu.be/ehJO1EtHiL8