पुष्पराज अधिकारीमकवानपुर । जिल्लामा धार्मिक पर्यटनका हिसाबले थुप्रै स्थलहरु विकास भइसकेका छन् । जसले पर्यटकलाई आकर्षित गरिरहेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१९ सानान्टारस्थित चनौटा जङ्गलमा रहेको उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ्ग धाम नयाँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
पाँच वर्षअघि जङ्गलमा रहेका ढुङ्गाहरुमा विभिन्न भगवानको आकृति भेटिएपछि यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको हो । उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ्ग धामको रुपमा प्रसिद्ध यो तीर्थस्थल विकास भएको छ । जङ्गलको बीचमा रहेको धाममा साउनको सोमबार दर्शनार्थीहरुको बिशेष भीड लाग्ने गर्दछ भने विभिन्न चाडपर्व तथा विशेष अवसरमा तपोवनमा सर्वसाधारणको घुँइचो लाग्छ । तपोवनमा मकवानपुर लगायत आसपासका विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् ।
तपोवनको विकासका लागि हेटौंडा उपमहनगरपालिकक–१९ नम्बर वडाले ८ लाख रुपैयाँ उपलब्ध गराएको छ । सो रकमबाट तपोवनसम्म पुग्ने बाटो निर्माण गरिएको छ । वडा कार्यालयले यो धामको विकासका लागि गुरु योजना बनाएको छ ।
प्रदेश सरकारले पनि धामको विकासका लागि यो आर्थिक वर्ष ३० लाख रुपैयाँ विनियोजन गरेको छ । आन्तरिक तथा बाह्य पर्यटक बढिरहेको जानकारी दिँदै वडा अध्यक्ष सुवेदीले उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ्ग धाम तपोवनको विकासलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो ।
स्थानीय हरिबहादुर अधिकारीको सपनामा सानान्टारको जङ्गलमा रहेको खोल्सामा विभिन्न भगवानको आकृति, नाग लगायतको शिला रहेको जानकारी आएपश्चात तपोवनको पत्ता लागेको बताइएको छ । स्थानीय र ब्राह्मणहरु मिलेर यस स्थलको नाम उमामहेश्वर निलकण्ठ ज्योर्तिलिङ्ग धाम तपोवन स्थल राखिएको हो ।
धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै आफ्नो कला संस्कृतिको जगेर्र्ना गर्ने र पर्यटक भित्र्याई समग्र मुलुकको विकास गर्ने लक्ष्य स्थानीय सरकारले समेत राखेको देखिन्छ ।
मकवानपुरको धार्मिक पर्यटन मध्ये यो धाम पनि आफ्नो छुट्टै अस्तित्व निर्माण गरिरहेको छ ।