Logo मंसिर ११, २०७७ बिहीबार


पुडासैनी मृत्यु प्रकरण : ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ ।

सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड दिइएको छ ।

पोलिएका व्यक्तिलाई यसअघि पटक–पटक अनुसन्धानको दायरामा ल्याइएको र मुद्दा चलाइएका घटना रहेकाले अनुसन्धानलाई नै प्रभावित पार्ने मनसायले कुनै पनि पक्षबाट प्रदर्शन गर्न नहुने कानून व्यवसायी बताउँछन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्ति दोषी हो या निर्दोष हो भन्ने कुरा अदालतले निर्णय गर्ने भएकाले पक्ष वा विपक्षमा प्रदर्शन गर्नुको अर्थ नहुने उनीहरुको भनाइ छ ।

घटनाको अनुसन्धानका लागि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना समातिएपछि भइरहेका गतिविधिबारे नेपाल बार एशोसिएसन चितवनका पूर्वअध्यक्ष गोपीलाल देवकोटाले कानूनमा आधिकारिक निकायलाई कुनै पनि घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्ने अधिकार रहेको बताउनुभयो ।

देवकोटाले भन्नुभयो, ‘पत्रकार पुडासैनीको आत्महत्याको ढंगबा मृत्यु भएको देखिन्छ, मृत्युकालीन घोषणामा केही व्यक्तिको नाम पोलेको छ, यसलाई अदालतले निक्र्यौल गर्ने कुरा हो, अनुसन्धानलाई दबाब दिनु हुँदैन र प्रदर्शन जरुरी पनि छैन, राज्यले पनि उनीहरुमाथि दबाब सिर्जना गर्नु हुँदैन ।’

प्रहरीले उक्त घटनामा पत्रकार पुडासैनीले मर्नुअघि मोबाइलमा श्रव्यदृश्य रेकर्ड गरेको भिडियोमा नाम किटान भएअनुसार पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले न्यायिक चरणमा पुगिसकेकाले घटनामा न्यायालयको फैसला पर्खनुको विकल्प नरहेको प्रतिक्रिया दिनुभयो । ‘संयम भएर फैसला कुर्नुभन्दा अरु केही देखिँदैन’, खतिवडाले भन्नुभयो । लामिछानेको समर्थनमा सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन भइरहेको र अर्कोतर्फ पुडासैनीले न्याय पाउनुपर्छ भन्दै ¥याली निकाल्ने काम भएको उहाँले जानकारी दिनुभयो ।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले चितवनमा भइरहेको उच्छृङ्खल गतिविधिको सूक्ष्म निगरानी भइरहेको र धैर्यका साथ संयम भएर प्रहरीले काम गरिरहेको बताउनुभयो ।

घटनाको विषयमा नेपाल पत्रकार महासङ्घले केही दिनअघि विज्ञप्ति जारी गरी सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ । महासङ्घले सञ्चारगृहमा गएर गरिएको सञ्चारकर्मीको गिरफ्तारीको पनि विरोध गरेको छ । नागरिक समाज चितवनले पनि शनिवार विज्ञप्ति जारी गरी जाहेरीउपर अनुसन्धानको सिलसिलामा मानिस पक्राउ गर्नु स्वाभाविक भएको उल्लेख गर्दै उक्त घटनाको निष्पक्षरूपमा छानबिन र अनुसन्धान गर्न माग गरेको सचिव गोपीलाल देवकोटाले बताउनुभयो ।

विज्ञप्तिमा छानबिनको विषयमा कुनै पनि किसिमको दबाब सिर्जना नगर्न र निष्पक्ष छानबिनका लागि सहयोग गर्न नागरिक समुदायसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

बिहीबार सार्वजनिक भएको पुडासैनीले मर्नुअघि मोवाइलमा रेकर्ड गरेएको भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखलढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

उक्त भिडियोको प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । परीक्षणमा रेकर्ड गरिएको भिडियो उनकै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।