धनुषा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेकपाको सरकार पाँच वर्ष टिक्नेमा शंका नगर्न आग्रह गर्नुभएकाे छ ।
धनुषाको बरमझीयामा आयोजना गरिएको शहीद रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा जनकपुर आउनुभएका दाहालले विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै आफनो पार्टीको सरकार पाँच वर्ष टिक्ने बताउनुभएको हो ।
दाहालले विगतमा सरकारले आवश्यक कानून निर्माणतर्फ बढी ध्यान दिनुपरेको कारणले विकासको कार्यहरुमा सरकारको ध्यान नगएको जस्तो लागेपनि सरकार अबका दिनमा विकासको कामलाई बढी प्राथमकितामा राखेर अगाडि बढ्ने बताउनुभयो ।
केपी ओलीको सरकार पाँच वर्ष टिक्ने हो वा पार्टीको सरकार भन्ने पत्रकारको प्रश्नमा दाहालले पार्टीको सरकार पाँच वर्ष टिक्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य आकांक्षा अनुसार सरकार अघि बढेको दाबी गर्दै अब संवैधानिक र कानुनी आधार तयार भइसकेकाले विकासले पनि विस्तारै गति लिने विश्वास व्यक्त गर्नुभयो ।
सरकार एक वर्षको कामको समीक्षा गरी अघि बढने प्रक्रियामा रहेको भन्दै उहाँले प्रधानमन्त्री ओली पनि समझदारी अनुसार अघि बढ्ने बताउनुभयो । ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भन्ने मेरो भनाइको अपव्याख्या गरिएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो ‘मैले त्यसो भनेकै होइन, पार्टी एकता गरिसकेका छौं, अब विकल्प छैन भनेको हो, मिडियामा अपब्याख्या गरियो ।’
आफूले बोलेको त्यो कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल पनि उपस्थित रहेको र मिडियामा अपब्याख्या भएर आउँदा पौडेल पनि आश्चर्यमा परेको दाहालले सुनाउनुभयो ।
पहिलो वर्ष कानुनी जटिलताका कारण जनताले चाहेको मुलुकमा विकास हुन नसकेको भन्दै दाहालले अब विकासले गति लिने बताउनुभयो ।