काठमाडौं । संसदीय समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल बारे सरोकारवाला मन्त्रीसँग छलफल गर्ने भएको छ । त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल लामो समयदेखि सञ्चालनमा नआएकाले समितिले त्यसबारेमा छलफल गर्न लागेको हो ।
संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले अस्पतालको अवस्थाबारे शिक्षा, स्वास्थ्य र सहरी विकास मन्त्रालयसंग छलफल गर्ने भएको हो । सिंहदरबारमा मंगलबार बसेको बैठकमा सदस्यहरुले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको बहुवर्षीय परियोजना अन्र्तगत सन् २०११ मा ३ बर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको अस्पताल अहिलेसम्म नबन्नु सरकारी गैह् जिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धित मन्त्रीलाई बोलाई कडा निर्देशन दिन सभापतिको ध्यानाकर्षण गराएका थिए ।
समिति सदस्य अञ्जना विशंखेले लामो समय भइसक्दा पनि निर्माण नभएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि समितिमा बोलाउनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी समितिका अर्का सदस्य जीवनराम श्रेष्ठले सरकारकै आयोजनाका बारेमा सरकारी निकायले नै खोजी नगर्नू गैरजिम्मेवारीको पराकाष्टा भएको भन्दै सम्बन्धीत निकायलाई कडा कारवाहीको निर्देशन गर्नुपर्ने तर्क गर्नुभयो ।
समितिका सदस्यहरु खगराज अधिकारी, उमाकान्त चौधरी र उमेश श्रेष्ठले पनि अस्पताल निर्माण बारे सम्बन्धित मन्त्रालयले गरेको लापरवाहीबारे मन्त्रीलाई बोलाई छलफल गर्नुको साथै कडा निर्देशन दिनुपर्नेमा सभापतिको ध्यानाकर्षण गराउनुभयो । छलफलपछि समितिले सरोकारवाला मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयलाई छलफलका लागि बोलाएको हो ।
स्वास्थ्य मन्त्रालयको बहुवर्षीय परियोजना अन्तरगत सन् २०११ डिसेम्बर १४ गते ३ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि २ पटक भेरिएशन आदेश र तेश्रो पटक म्याद थप भइसकेको छ । पटक पटक थप भएको समयमा निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएशन स्वीकृति र म्याद थपको प्रक्रिया नै अगाडि बढाइएको छैन ।