काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धित विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिनुभएको छ ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहतका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिनुभएको हो ।
सभापति विमल श्रीवास्तवले सम्बन्धित विषयमा सरोकार राख्ने पक्षसँग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बन्नुभयो । मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै उहाँ बसेको कुर्सीबाट उठ्नुभएको थियो । बैठक छोडेर मन्त्री बाहिरीन खोजेपछि केहीबेर स्थिति असहज बनेकाे थियाे ।
समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडियाप्रति पनि आक्रोस पोख्नुभयो । उहाँले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुका साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराउनुभयो ।
औद्योगिक व्यवसाय सम्बन्धि विधेयकमा छलफलका लागि बसेको बैठकको शुरुदेखि नै तनावपुर्ण बनेपछि समिति सदस्यहरुले समितिको संबैधानिक अधिकार, संसदीय पद्धती, क्षेत्राधिकार लगायत बारे आवश्यक ज्ञान राख्न मन्त्रीलाई सुझाएका थिए ।
समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपनि बैठक निर्धारित विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । अर्को बैठक शुक्रबार बस्ने जनाइएको छ ।