नारायण थापा भक्तपुर । भक्तपुरमा साताव्यापी रुपमा मनाइने गाईजात्रा पर्व शुक्रबारबाट सम्पन्न भएको छ ।
जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको भक्तपुरको गाईजात्रा पर्व शुक्रबार तलेजुको पूजा गरेपछि सम्पन्न भएको हो ।
जनैपूर्णिमाको भोलीपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिनताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइने गरिन्छ ।
जात्रा समापनका क्रममा शुक्रबार दरबार क्षेत्रमा घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जंगली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाइएको थियो भने भैरब मन्दिरहरुमा नेवारी धोती हाकुपटासी लगाएर लामवद्ध सयौं महिलाहरुले टोलटोल घुमेर बत्तीसमेत दिएका थिए ।
श्रीकृष्ण जन्माष्टमी समेत रहेकाले नारायणको पूजा गरी नारायण बत्ती बालेर शुक्रबार भक्तपुरका बालबालिका एवं युवाहरुले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी गएर सम्पन्न भएको थियो ।