‘वर्ष साहित्य पुस्तक, कृति अभिलेख हो’

‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ । यससँगै पुस्तकका चारवटा शृङ्खला पूरा भएका छन् । कृतिमा वर्षभरि प्रकाशित कृतिको सारभूत समीक्षा गरिएको छ । संकलक एवम् लेखक रमेश शुभेच्छुले वर्ष साहित्य पुस्तक लेख्दै आउनुभएको छ । पुस्तकलाई ठाकुर शर्मा भण्डारी र विनयकुमार शर्मा नेपालले सम्पादन गर्नुभएको हो । शुभेच्छुका कविता, काव्य, महाकाव्य, समालोचना, बालसाहित्य, सम्पादन र पाठ्यपुस्तक गरी चार दर्जनभन्दा बढी कृति प्रकाशित छन् । साहित्य सिर्जना, समीक्षा, सङ्गठन, साहित्यिक पत्रकारितामा शुभेच्छु सक्रिय हुनुहुन्छ । वर्ष साहित्य पुस्तकमा आधारित भएर शुभेच्छुसँग गरिएको कुराकानी : 

वर्ष साहित्य पुस्तकको संकलन र लेखन गर्दे आउनुभएको छ । यसले नेपाली साहित्यमा के टेवा पुर्याउँछ ? 

नेपाली साहित्यमा कृति अभिलेखनको माध्यम बनेर वर्ष साहित्य पुस्तक भर्खरै प्रकाशनमा आएको छ । ‘वर्ष साहित्य पुस्तक–२०७४’ को प्रकाशनसँगै यस पुस्तकका चारवटा शृङ्खला प्रकाशनमा आइसकेका छन् । यस कृतिमा वर्षभरी प्रकाशित साहित्य र समग्र वाङमयका कृतिको सारभूत समीक्षण भएको छ । यसबाट नेपाली साहित्यका स्रष्टालाई प्रोत्साहन, द्रष्टा र अनुसन्धातालाई विशेष सामग्रीको हैसियत राखेको छ ।

यस लेखनमा कस्ता विषय क्षेत्र समेटिएका छन् ?

प्रा.राजेन्द्र सुवेदीले नेतृत्व गर्नुभएको साहित्य संवद्र्धन केन्द्र काठमाडौँको परिकल्पना र योजनामा आरम्भ भएको यस कृति लेखन एवम् प्रकाशन अभियानले नेपाली भाषा साहित्य र वाङमयको वर्तमान अनुहारलाई सफासँग देखाउँछ । यसमा साहित्यि मात्र नभई समग्र भाषा वाङमयलाई समेट्ने सामथ्र्यका साथ साहित्यको अर्थ विस्तारका रूपमा भएको छ ।

यसमा कविता, आख्यान, नाटक, निबन्ध र यिनका उपविधासहित वाङमयका र ज्ञानविज्ञानका बहुमुखी क्षेत्रका विषयवस्तु समेटिएका छन् । यस कृतिमा लेखकले दिएका टिप्पणी, विधा परिचय, विधा चिन्तनसम्बन्धी वर्षभरि भए गरेका प्रयास आदिलाई पनि समेट्तै वर्तमान साहित्य सन्दर्भको सग्लो आकृति उतार्ने प्रयत्न गरेको छ । प्रत्येक विधाका कृतिको सर्वेक्षण र लघुसमीक्षणपछि तिनका मूलभूत प्रवृत्ति निरूपणको प्रयास पनि भएको छ ।

वर्ष साहित्य पुस्तकमा साहित्यमा कतिवटा कृति समेटिएका छन् ? कुन विधालाई महत्व दिइन्छ ?

पुस्तकमा ४८ वटा कविता, १४ वटा काव्य, १४ वटा महाकाव्य, तीन वटा गीत, ६ वटा गजल, सात वटा मुक्तक, दुई वटा हाइकु र एक सिजोसमेत गरी ९५ वटा कविता विधा केन्द्रित कृति समेटिएका छन् । यसले कविता विधाको लोकप्रियतालाई औँल्याउँछ । कविता धेरै लेखिने विधा हो भन्ने पक्षलाई बुझाउँछ । यस कृतिमा ६१ वटा उपन्यास, ४१ कथा र लघुकथाका गरी जम्मा १०२ वटा आख्यान कृति समेटिएका छन् । एकै वर्षमा १०२ आख्यान कृति समेटिनुले आख्यान विधाको लोकप्रियतालाई देखाएको छ । आख्याननै वर्तमान साहित्यको देशीय र अन्तर्राष्ट्रिय सन्दर्भमा पनि धेरै लेखिने र पढिने विधा हो भन्ने पक्ष प्रमाणित भएको छ ।

यस वर्ष पुस्तकमा नाट्यविधातर्फ सात वटा कृति समेटिएका छन् । नाट्य विधाका सिर्जना नेपाली साहित्यमा मात्र होइन विश्व साहित्यमै पनि कम मात्र भइराखेको यथार्थलाई यस कृतिले पनि देखाएको छ । यस कृतिमा निबन्ध प्रबन्ध विधातर्फ २०, नियात्रातर्फ १२, संस्मरणतर्फ १७ र आत्मकथा चिठी पत्र र लेखसंकलनका तीन गरी जम्मा ५२ निबन्ध कृतिको चर्चा गरिएको छ । यस तथ्यले निबन्ध विधाका उपविधाको बढ्दो प्रभाव र विकासलाई सङ्केत गरेको छ ।

कृतिमा २२ वटा समीक्षा कृतिको चर्चा गरिएको छ । यस तथ्यले पनि समीक्षालाई कम लेखिने र पढिने एवम् बढी मिहिनेत पर्ने विधाका रूपमा चिनाएको छ । त्यस्तै कृतिमा वाङमयतर्फ इतिहास संस्कृतिका आठ, दर्मदर्शनका छ, अनुवादका १९, भाषा व्याकरणका ११, कोश आठ, विविध १४ गरी जम्मा ६६ वटा कृतिको चर्चा गरिएको छ ।

यसले वाङमयका क्षेत्रमा नेपाली बौद्धिक समाजको सक्रियतालाई देखाउँछ । यसै कृतिमा ‘वर्ष साहित्य पुस्तक–२०७३’ मा छुट भएका विविध विधाका २२ कृतिलाई पनि यस वर्ष प्रकाशित कृति जस्तै गरी समेटिएको छ । यसले वर्ष पुस्तक लेखन त्यति सहज नभएको र लेखन भन्दा बढी कृति संकलन कार्य जटिल भएको पक्षलाई संकेत गरेको छ । समग्रमा चार सय कृति समेटिएको एउटै ग्रन्थ प्रकाशकको साधन स्रोतअनुसार जे जस्तो रूपमा आए पनि नेपाली साहित्यमा उल्लेख्य काम बनेर आएको छ ।

यो कृति लेखन तथा प्रकाशनका लागि आर्थिक स्रोत कसरी जुटाउनुभएको छ ?

यो काम हेर्दा कुनै सरकारी संस्थाले मोटो रकम खर्च गरेर विज्ञ समूहलाई लगाएर तयार गरिए जस्तो देखिन्छ तर साधारण साहित्यिक संस्थाको तत्परता र लेखकको जाँगरमा प्रकाशित हुँदै आएको छ । कृतिलाई प्रकाशन गर्ने र लेखन वृत्ति प्रदान गर्ने कुनै स्थायी कोशको स्थापना गर्न सके यसबाट नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउन पनि ठूलो सहयोग पुग्ने देखिन्छ ।

यो कृति संकलन होकी समीक्षा ?

यस कृतिलाई कृतिकोश र समीक्षा दुवै अर्थमा बुझ्न सकिन्छ । यसमा कृतिको विवरण र समीक्षा दुवै छ । कृतिलाई मोटामोटी विधा वर्गीकरण गरी सोहीअनुरूप लेखकका नामका वर्णानुक्रममा र दुई वा सोभन्दा बढी कृति भए पुनः कृतिका वर्णानुक्रममा प्रस्तुत गरिएको छ । हरेक कृतिको विवरण दिने काम मात्र नभई ती कृतिमा थोरै भए पनि समीक्षा दृष्टि र प्रायः कृतिको मूल्यनिर्णय प्रयास पनि गरिएको छ । यस आधारमा यो कृति नेपाली समीक्षाका इतिहासमा, साहित्येतिहासका इतिहासमा, कृतिकोशका इतिहासमा पनि उल्लेख्य कृतिका रूपमा प्राप्त छ । यस कृतिले साहित्य मात्र नभई साहित्येतर वाङमयिक कृतिहरू र अन्यभाषाका कृतिलाई पनि परिचय गराएकाले यसको वाङमयिक महत्व नेपाली भाषा वाङमयमा मात्र नभई विविध नेपाली मातृभाषी जगत्मा पनि उँचो रहेको छ ।

कृतिकारको तयारीका क्रममा परेको समस्यासापेक्ष लेखकीय धारणा कस्तो रहेको छ ?

प्रस्तुत पुस्तक लेखनको आफ्नै इतिहास छ । यस कृतिको लेखनमा लाग्ने क्रममा पुस्तक प्राप्तिका लागि गरेका मेहनत वा दुःखको कथा फरक छ । यहाँ निजी प्रकाशन संस्थाले एउटा कृति दिंदा घाटा लाग्ने प्रतिक्रिया दिएदेखि सरकारी निकायका किताब वर्ष पुस्तकका लागि दिने नियम-विनियम छैन भन्ने पदाधिकारीको सोझो जवाफले निराश बनाउन नखोजेको पनि होइन । पटक–पटक पहल गर्दा पनि प्राप्त हुन नसकेका कतिपय कृतिहरू छुटेका छन् । कसैको कृति पनि नियतवस नछुटाउनुलाई लेखकीय धर्म मानिएको छ । अहिले नबुझेर वा हामीलाई नपत्याएर कृति दिन अस्वीकार गर्ने लेखक र प्रकाशकले कुरा बुझ्नुहुने छ र आगामी शृङ्खलामा समेट्न सकिने छ भन्ने विश्वास छ ।

यस कृतिका निर्माताको चाहना कृतिका भूमिकामा कसरी अभिव्यक्त गरिएको छ ?

प्रस्तुत कृति र समीक्षा वा शोध होइन । यो सर्वेक्षणात्मक अन्वेषण हो । यहाँ उपलब्ध विधालाई सकेसम्म न्यायोचित ढंगले समेट्ने प्रयत्न गरिएको छ । कृतिको तस्बिर राख्न सके र लेखकको फोटो प्रयोग गर्न सके अझ राम्रो हुन्थ्यो भन्ने लाग्दा लाग्दै पनि पहिला अभिलेखलाई महत्त्व दिइएको छ । कृतिमा उपलब्ध भएसम्म लेखकका नामसँगै जन्ममिति र स्थान अंकन गरिएको छ । सारभूत रूपमै भए पन कृतिका मूल प्रवृत्ति र प्राप्ति निरूपण गर्ने प्रयत्न गरिएको छ यस सम्बन्धमा पाठक प्रतिक्रियाअनुसार थप राम्रो बनाउने प्रयत्न निरन्तर रहने छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, काम छिटो बन्नेछ । मिथुन– सन्तानले खुशी दिनेछन्,…

बिआरआइ इतिहास, सभ्यता, विचारधारा, राजनीतिक तथा आर्थिक प्रणालीहरुको भिन्नताका साथ साझा भविष्यको खोजी गर्ने पहल कदमी हो ।

अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महानगर कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ का बासिन्दाले शनिबार नाका बन्द गरेका हुन् ।

देशलाई समृद्धितर्फ अगाडि बढाउन युवा सक्रियता आवश्यक छ ।