काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक सचिवालय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली स्वास्थ्य परीक्षणको लागि सिंगापुर जानुभएपछि दाहालले केही दिनलाई पार्टीको नेतृत्व गर्ने अवसर पाउनु भएको हो । विधानमा दुई अध्यक्षको अधिकार बराबर छ तर पार्टी संचालन र निर्णयमा अहिलेसम्म ओली नै निर्णायक हुँदै आउनुभएको छ ।
एमाले र माओवादी एकता हुँदा बैठकको अध्यक्ष आलोपालो गर्ने सहमति भएको थियो तर अहिलेसम्मका सबै बैठकको अध्यक्ष ओलीले नै गर्दै आउनु भएको छ । यस अघि ओलीको अगुवाईमा भएका निर्णयमा दाहालले अध्यक्षको हैसियतमा हस्ताक्षर गर्ने अवसर मात्र पाउनु भएको थियाे ।
प्रधानमन्त्री ओली उपचारकाे लागि सिंगापुर रहेका बेला दाहालले यसपटक भने पार्टीको बैठक बोलाउनु भएको छ । एमाले र माओवादी केन्द्र एकीकरणको १५ महिनापछि दाहालले पार्टीमा नेतृत्वको अवसर पाउनु भएको हो ।
दाहाललाई बैठक बोलाउने अधिकार दिइए पनि निर्णयको अधिकार भने दिइएको छैन । निर्णय ओलीसँग सल्लाह गरेर मात्र गर्ने भनिएको छ । यस्तो अवस्थामा दाहालको अध्यक्षतामा सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्दैछ । सचिवालय बैठक पहिलो पटक पार्टी मुख्यालयमा बस्दैछ । यस अघि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुँदै आएको थियो ।
नेकपाको एकीकरण अन्तिम चरणमा पुगेको छ । पोलिटव्युराे गठन लगायत केही महत्वपूर्ण निर्णय भने हुन बाँकी छ । पार्टीमा पछिल्लो समय एक व्यक्ति एक पद हुनुपर्ने अवधारणा आएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइरहनु भएको छ । नेता नेपालले त्यसको कार्यान्वयनको लागि सचिवालयमा ७ बुँदे असहमतिपत्र नै पेश गर्नुभएको छ । तर उहाँको अहमतिपत्रबारे सचिवालयमा छलफल भएको छैन । सोमबारको सचिवालय बैठकमा त्यसबारे छलफल हुने स्रोतले जनाएको छ ।
एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन गर्दा ओलीले प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद छोड्नु पर्ने हुन्छ । ओली आउँदो आगामी महाधिवेशनसम्म अध्यक्ष नछोड्ने मनस्थितिमा हुनुहुन्छ । उहाँले प्रधानमन्त्री पद छोड्ने स्थिति पनि देखिएको छैन । नेकपामा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने प्रावधान छ ।
सामान्यतया: पार्टी अध्यक्ष नै संसदीय दलको नेता हुने परम्परा छ । नेकपाको संसदीय दलमा ओलीले नै नेतृत्व गरिरहनु भएको छ । संसदीय दलको नेता परिवर्तन सहमति वा निर्वाचन प्रणालीबाट हुने गर्छ । सहमतिबाट ओलीले संसदीय दलको नेता छोड्ने अवस्था छैन । त्यस्तै यसबारे नेकपाका सांसदहरुबीच निर्वाचन नै भइहाले संसदमा अहिलेसम्म ओली पक्षकै वर्चश्व देखिएको छ । त्यसकारण प्रधानमन्त्री ओलीको हकमा एक व्यक्ति एक पद लागू नहुने देखिएको छ ।
अन्य नेताले भने त्यो अवधारणा कार्यान्वयन गर्न थालिसकेका छन् । उपाध्यक्षमा प्रस्तावित वामदेव गौतमले संगठन विभागको नेतृत्व समाले लगत्तै किसान महासघको अध्यक्ष पद त्याग्नु भएको छ । त्यसकारण दाहालको अध्यक्षतामा हुने सचिवालय बैठकमा पोलिटव्युरो र एक व्यक्ति एक पद लगाएतका बिषयमा छलफल भए पनि ठोस निर्णय हुने संभावना भने देखिएकाे छैन ।