काठमाडौं । संसदीय समितिले सबै किसिमका महिला हिंसा अन्त्यको अनुभूति हुने गरी प्रभावकारी र परिणाममुखी गर्न महिला मन्त्रालयलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तरगत महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले महिला विरुद्धका हिंसाका घटनामा कमी आउन नसकेको, हिंसाको दोषीलाई कारबाहीको दायरामा ल्याउने काम नहुदा दण्डहीनता बढ्दै गएको भन्दै हिंसा अन्त्यको क्षेत्रमा परिणाममुखी कार्य सम्पादन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
महिला मन्त्रालयबाट समितिमा पेश भएको हिंसा अन्त्यका लागि भएको प्रयास र प्राप्त उपलब्धि सम्बन्धी प्रतिवेदन सन्तोषजनक नभएको भन्दै समितिले तत्काल प्रभावकारी रणनीति, कार्यनीति तयार गरि परिणाममुखी कार्यसम्पादन गरी त्यसको जानकारी आवधिक रुपमा समितिलाई गराउन निर्देशन दिएको हो ।
समिति सदस्यहरुले हिंसाका घटनामा कमी आउनुको सट्टा बढ्दै गएको, तथा हिंसा मुक्त समाज निर्माणका लागि आवश्यक पहल कदमी नभएकोतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उनीहरुले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका लागि जोड दिए ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थम माया थापाले हिंसा अन्त्यका लागि मन्त्रालयले तात्कालिक र दीर्घकालीन गरी विभिन्न चरणका कार्ययोजना बनाई लागू गरिरहेको बताउनुभयो । कानुन कार्यान्वयनले मात्रै महिला हिंसा अन्त्य नहुने भन्दै उहाँले हिंसा अन्त्यका लागि सबै नागरिक सचेत हुनुको साथै दायित्व बोध गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
गत वर्ष भदौ ८ गते प्रतिनिधिसभाबाट महिला हिंसाविरुद्धको संकल्प प्रस्ताव पारित भएपछि हिंसा अन्त्यका क्षेत्रमा मन्त्रालयले गरेका कार्य र प्राप्त उपलब्धि बारेमा समितिले संकल्प प्रस्तावक, समर्थक र सम्बन्धीत मन्त्रीसंग छलफल गरेको हो ।