प्रकाश न्यौपानेभैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी क्षेत्रको विकासमा आकर्षक योजना अघि सार्नुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलोपटक औपचारिक भ्रमण तथा अनुगमनका लागि लुम्बिनी आउनुभएका भट्टराईले आकर्षक योजना अघि सार्नुभएकोहो ।
मन्त्री भट्टराईले साउन ३२ गते प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, पर्यटन सचिव मोहनकृष्ण सापकोटासहित नागरिक उड्डयन प्राधीकरणका पदाधिकारी लिएर आन्तरिक भ्रमण तथा अनुगमनमा आउनुभएको थियो । उहाँले लुम्बिनीसहित रामग्राम, देवदह र तिलौराकोटको भ्रमण गर्नुका साथै भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको स्थलगत अनुगमन गर्नुभएको थियो ।
गौतमबुद्ध विमानस्थलमा आयोजित अन्र्तक्रियामा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न विमानस्थल समयमै निर्माण सम्पन्न गरी संचालन गर्नुपर्ने बतानुभएको थियो । त्यसको ठीक १० दिनपछि सोमबार भदौ ९ गते उहाँले मन्त्रालयका प्राथमिकतामा रहेका १४१ योजना घोषणा कार्यक्रममा लुम्बिनी क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुभएको छ ।
मन्त्री भट्टराईद्वारा सार्वजनिक योजनामा गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा बुद्धका सन्देश समेतलाई समेटेर डकुमेन्ट्री तयारदेखि ३ वर्ष भित्र लुम्बिनीमा पाँच लाख फलफूलका विरुवा रोप्नेसम्म छन् ।
लुम्बिनी उद्यान क्षेत्रमा अहिले सिसौं लगायतका रूख हुर्किएर ठूला भइसकेका छन् । ती रूख अनुत्पादक भएको भन्दै प्रधानमन्त्री केपी ओलीले समेत २५६३ औं बुद्ध जयन्ती तथा प्रदेश पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ उद्घाटन सत्रमा बोल्दै लुम्बिनी गार्डेनमा फलफूलका बिरुवा रोप्ने घोषाण गर्नुभएको थियो ।
फलफूलका बिरुवाले उत्पादन पनि दिने र सुन्दरता पनि थप्ने भएकाले सरकारले प्राथमिकतामा राखेको हो । ‘स्थानीय र निजी क्षेत्रसँग समन्वयन नगरी गरिने कार्यक्रम सफल पनि हुँदैन भने अर्को कनेक्टिभिटीमा सारिएका योजना कार्यान्वयन हुनेमै हामीलाई शंका छ’, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो) प्रदेश ५ अध्यक्ष एवम् पर्यटन व्यवसायी संजय बजिमयले भन्नुभयो, ‘यदि मन्त्रीले बोलेका कुरा पूरा भए नेपालकै पर्यटक विकास ठूलो टेवा पुग्ने छ ।
मन्त्री भट्टराईले आन्तरिक शान्ति, तनाव व्यवस्थापन तथा पर्यटकको बसाइँ अवधि लम्ब्याउने गरी लुम्बिनी वातानुकूल डार्क च्यान्टिङ रूम नियमित संचालनको व्यवस्था गर्ने, बुद्ध दर्शन, लुम्बिनी, रामग्राम, गौतमबुद्ध र मायादेवी लगायतका प्राचीन, ऐतिहासिक कथालाई समेटेर खुला नाटक प्रदर्शनको व्यवस्था मिलाउन अध्ययन गरी यसको प्रबन्ध गर्ने, दुई वर्षभित्र लुम्बिनी गुरुयोजना बमोजिमका बाँकी कार्यहरू सम्पन्न गर्न मास्टर प्लान बनाई कार्यान्वयन गर्ने, ग्रेटर लुम्बिनी सर्किट गुरुयोजना तयार गर्ने घोषणा गर्नुभएको छ ।
अहिले गुरुयोजना पूरा गर्न भन्दै लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय स्तरका परामर्सदाता ल्याएर काम गरिरहेको छ । ‘हामीले कम्तिमा ३ वर्ष भित्र गुरुयोजना सक्ने लक्ष्य लिएका थियौं, मन्त्रीज्यूले २ वर्षमै सक्ने योजना सार्नुभएको छ । यो आफैमा हामी सुखद् कुरा हो’, कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले भन्नुभयो, ‘विश्व धार्मिक तथा शान्ति स्थलको विकास छिटो हुनु भनेको नेपाली पर्यटन क्षेत्रमा कायापलट हुनु हो ।’
कोषले बाँकी गुरुयोजनाको काम पूरा गर्न करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । यद्यपि परामर्सदाताले विस्तृत योजना बनाइरहेकाले लागत थपघट हुनसक्ने छ । गुरुयोजनाको अहिलेसम्म गरि ८० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।
मन्त्रीका योजनामा लुम्बिनी क्षेत्रमा निर्माणाधीन ५ हजार जना अट्ने ग्लेबल शान्ति र ध्यान केन्द्र निर्माण समयमै सक्ने, यस क्षेत्रको ऐतिहासिकतासँग जोडिएका स्थानीय उत्पादनमा आधारित गिफ्ट सपको संचालन गर्ने व्यवस्था मिलाउने, नेपाल भ्रमण वर्षको सफल पार्न २५६४औं बुद्ध जयन्ति भव्य रूपमा मनाउने, तेस्रो विश्व बुद्धिष्ट सम्मेलन गर्ने, लुम्बिनीमा तीन वर्षभित्र ५ लाख फलफूलका विरुवा रोपेर गौतम बुद्ध फलफूल बाटिका बनाउने योजना समावेस छन् ।
लुम्बिनीमा पर्यटकको वसाइँ अवधि बढाउन बौद्ध–बिहार बसाइँ अवधारणा विकास गरी कार्यान्वयन गर्ने, स्थलमार्गबाट लुम्बिनीमा आउने पर्यटकलाई सहज सेवा दिन बेलहियामा पर्यटक तथा तीर्थयात्री स्वागत केन्द्र निर्माण गर्ने मन्त्री भट्टराईले घोषणा गर्नुभएको छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन आयोजना गर्ने समेत मन्त्री भट्टराईको योजनामा उख्लेख गरिएको छ । अघिल्लो वर्ष अखिल नेपाल भिक्षु महासंघको आयोजनामा पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन भएको थियो । यसपटक पनि यो कार्यक्रमलाई निरन्तरता दिइँदै छ । भारतको बोधगया र कुशिनगरमा बिगत १६ वर्षदेखि त्रिपिटक वाचन हुँदै आएको छ । मन्त्री भट्टराईले सन् २०१९ भित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकेर त्यसको तीन महिनाभित्र परीक्षण उडान गर्ने घोषणा गर्नुभएको छ ।
परीक्षण उडान सफल पछि भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुनेछ । ‘यो विमानस्थलबाट बौद्धिष्ट देशहरुमा सीधा उडान भर्न सके करोडौं बौद्धमार्गी लुम्बिनी आउने छन्’, कोषका उपाध्यक्ष मैत्तेयले भन्नुभयो ।