भगीरथ भण्डारी इलाम । अस्पताल यस्तो चिज हो जहाँ मानिसको जिन्दगीसँगको सम्बन्ध रहेको हुन्छ । मृत्यूसँग संघर्ष गरिरहेका बिरामी बचाउँन पनि अस्पतालको सबैभन्दा ठूलो हात रहेको हुन्छ । डाक्टरमाथि बिश्वास र भरोसा गरिएको हुन्छ ।
सामान्य स्वास्थ्य समस्या आउँदा पनि मानिस अस्पतालनै पुग्ने गर्दछन् । अस्पतालमाथि यति धेरै बिश्वास सर्वसाधारणले गरिरहँदा इलाम अस्पतालले सर्वसाधारणलाई भ्रममा पार्न थालेको छ । इलाम अस्पतालले भदौ १ गते थाइराइड परीक्षण गर्ने मेशिन सञ्चालन गर्ने भनेर सार्वजनिक गरेको थियो तर अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन ।
भदौ १ गतेदेखि प्रयोग गर्ने भनिएको थाइराइड परीक्षण गर्ने चाइनिज मेशिन अस्पतालले दश लाखमा खरिद गरेको बताएको छ । अस्पताल भने प्राविधिक समस्या देखाउँदै मेशिन सञ्चालन गर्न नसकेको बताउँछ । मेशिन कसरी सञ्चालन गर्ने भन्ने योजना नै नगरी मेशिन किनेर ल्याउने र थाइराइड परीक्षण गर्न अन्त जानु पर्देन भनेर जनतालाई भ्रम फैलाउने काममात्र भइरहेको छ । कहिलेदेखि परीक्षण हुन्छ भन्नेमा अस्पताल केही बोल्न सकिरहेको छैन ।
इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझीले मेशिनको कार्टेज लिएर आउनुपर्ने इन्जिनियर आइनपुगेका कारण भदौ १ गतेदेखि सञ्चालन गर्न नसकिएको बताउनुभयो । पत्रकारसँग कुरा गर्दै रायमाझीले मेशिन सञ्चालन गर्न कम्पनीको इन्जिनियर आएर प्रयोग गरेर अस्पताललाई जिम्मा लगाउनुपर्ने भएको हुँदा इन्जिनियर पाँचथर र इलाममा एकै पटक काम सक्ने गरी आउने भएकाले सञ्चालन हुन नसकेको बताउनुभयो । तर अस्पतालमा मेशिन आइपुगेको महिनौ बितिसकेको छ । उहाँले भदौ १ गते दुईतीन दिनभित्रमा इन्जिनियर आइपुग्ने र इन्जिनियर आइसक्दा मेशिन सञ्चालन हुने बताउनुभएको थियो तर भदौ ११ गते बितिसक्दा पनि इन्जिनियर कहिले आउने भन्ने टुङ्गाे छैन ।
गाउँका अस्पतालमा यो सेवा हुँदा यसबाट दुर्गममा भएका गरिब र सामाजिक स्वास्थ्य बीमा भएका बिरामीलाई राहत पुग्ने बिश्वास थियो । पाँच वर्ष अगाडि शैयामा स्तर उन्नति भएको अस्पतालमा बहिरंग, इमरजेन्सी साथै एक्स रे, भिडियो एक्स रे लगायतका सेवा सञ्चालनमा रहेका छन् । भरपर्दो सुविधा नहुँदा बिरामीहरु अन्यत्र रिफर लिएर जाने गरेका थिए ।
इलाम अस्पतालमै आधुनिक उपकरण जडान भएपछि अन्य अस्पतालमा धाउन बाध्य सेवाग्राहीलाई सजिलो हुने बिश्वास लिएका सर्वसाधारण निरास बन्ने अवस्थामा पुगेका छन् ।