काठमाडौं । सदरमुकाम मंगलसैनबाट करिब ३ घण्टाको दूरीमा रहेको खेताडा गाउँको एक छेउमा कलु पाध्याय बस्छिन् । उमेरले ४६ वर्ष टेकेकी कलु न हिँड्न सक्छिन् न त राम्रोसँग बोल्न । १५ वर्ष अघि मंगलसैन ७ का गोरे पाध्यायसँग उनको बिहे भएको थियो ।
त्यो बेला कलु र गोरेको उमेरमा ३१ वर्षको अन्तर थियो । उनीहरुका २२ वर्षीया एकमात्र छोराको मृत्यु भएपछि गोरेले अर्को विवाह गरे । छोराको मृत्यु अघि गोरेकी पत्नीको मृत्यु भयो । पाध्यायलाई विहे गर्न समाजले दबाब दियो । छोरा नभए अपुताली हुन्छ भन्ने मान्यताले गोरेले अर्को बिहे गरे । लगत्तै वर्षदिनकै अन्तरमा २ छोरा र एक छोरी भए । तर ०७४ साउनमा गोरेले यो संसार छाडेर बिदा भए । यता श्रीमानको मृत्युपछि कलुका दुःखका दिन सुरु भए । जेठा छोरा विनोदको बढेर १३ वर्ष पुगे ।
स्कुल जान थालेको छोरालाई कापी, कलमको जोहो गर्न नसक्ने अवस्था भएपछि कलुका छोराले स्कुल छोडेर भारतमा चौकीदारी गर्न गएका छन् । यता कान्छो छोरालाई गाउँकै केही मानिसले पढाइ दिन्छौं भनेर कता लगे पत्तो नभएको कलुले बताइन् । छोरो कता छ कलुलाई केही थाह छैन् ।
बोगटीको अग्रसरतामा कलुलाई घरहाल अफ्रिकामा रहेका अछामकै मंगलसैन नगरपालिका ३ का भरत बोगटीले एक पत्रिकामा माथिको आशयमा आएको समाचार पढेपछि कलुलाई सहयोग गर्ने सोच बनाए । वास्तविकता बुझेपछि बोगटीले उनलाई सहयोग जुटाउन अभियान नै थाले । नेपालमा रहेका साथीहरूलाई बोगटीले सहयोगका लागि लाग्नुपर्ने सल्लाह गरे ।
सुरुमा उनलाई लाग्यो आफू एक्लैले सकेको सामान्य सहयोग गरुँ । तर साथीहरूले सबै मिलेर सहयोग गरौं भनेपछि बोगटी पनि आबद्ध रहेको अछामकै ‘शोडषा भूतपूर्व विद्यार्थी समाजले अभियानै चलायो ।’ अभियानले जुटाएको सहयोग रकमबाट कलुलाई ४ कोठे घर बनाइयो ।
‘शोडषा भूतपूर्व विद्यार्थी समाज' र बोगटीको अगुवाइमा कलुको घर निर्माण गर्न ४९ हजार पैसा जट्यो । नेकपाका नेता समेत रहेका समाजका अध्यक्ष अध्यक्ष शंकर भण्डारीका अनुसार मंगलसैन नगरपालिकालाइृ पनि कलुको परिवारलाई सहयोग गर्न अनुरोध गरियो । नगरपालिकाले उपलब्ध गराएको १ लाखले थप अभियानलाई थप सार्थक तुल्यायो ।
भण्डारीले भने, ‘अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, हालका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रहरी प्रमुख (डीएसपी) जनकबहादुर शाहीले लगायतले घर निर्माणमा सकेको सहयोग गरेका थिए ।
आजभोलि नयाँ घरमा बस्न सुरु गरेकी कलु खुसी छन् । भन्छिन्- ‘अब अरूको घरमा बास माग्न जानुपर्ने दिन सकिए । मलाई घर बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद छ ।’