Logo मंसिर १७, २०७७ बुधबार


दिदीबहिनीको दीर्घायुका लागि दाजुभाइकाे व्रत

भिम चौधरी
कैलाली । पश्चिम नेपालका थारु समुदायको प्रमुख मध्येको एक मौलिक सांस्कृतिक, धार्मिक पर्व अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ ।

अट्वारी पर्व हरेक वर्ष भदौ शुक्ल पक्षको पहिलो आइतबार मनाइने गरिन्छ । यो पर्वमा थारु समुदायका पुरुषले दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्छन् ।

शनिबार मध्य रातमा माछा र तोरैयाको तरकारी र भातको दर खाएर दाजुभाइले आइतबार दिनभर व्रत बस्ने गर्दछन् । व्रत बसेका पुरुषले बिहानभरी घरको कामकाज सकेपछि गहुँ, चामल र अण्डी चामलको विभिन्न थरीका रोटी पकाउने गर्दछन् । यसका साथै दही, घ्यु, केरा, काक्रो, अम्बा आदि सगुनको रुपमा प्रयोग गरिन्छ । दिनभरीको व्रतपछि बेलुका सूर्य अस्ताउने बेला अन्नी पुजा गरेर अट्वारी व्रत खोल्ने चलन छ । व्रत खोले पनि व्रतालुले तरकारी र नुन खुर्सानी भने खान पाइदैन ।

अट्वारी पर्वका क्रममा सोमबार बिहानै खानाका विभिन्न परिकारहरू (भात, कर्कलो, तामा, गेडागुडी, पकौडी, खेरिया लगायत) तयार गरी फलाहार गरिन्छ । आइतबारको व्रत तोड्दा र सोमबार बिहान फलाहार गर्दा पहिलो भाग दिदीबहिनीका लागि छुट्याएर सोमबार नै दिदीबहिनीका घर पुर्याउने चलन छ ।

किम्वदन्ती अनुसार प्राचीन कालमा थारु समुदायका एक छोरीमाथि भइरहेको अत्याचारबाट उनलाई पाँच पाण्डव मध्येका माहिला भाइ भिमले उद्धार गरेको कारणले आइतबार दिउँसोसम्म भिमको नाममा व्रत बस्ने र उनको पूजा गर्ने चलन थारु समुदायमा रहेको छ । अर्कोथरी भनाइ अनुसार भिमले थारुका राज दङ्गीशरणलाई युद्धमा सहयोग गरेको कारण उनको लागि पूजापाठ र व्रत गर्ने गरीरन्छ । भिम सुर्खेतको काक्रे बिहार घुम्न आएको बेला दाङका राजमाथि शत्रुबाट आक्रमण भएको थियो । त्यसैबेला रोटी पकाउँदै गरेका भिमले काम छोडेर भोकभोकै राज दङ्गीसरणलाई सहयोग गरेको भनाइ पाईन्छ । उनको सहयोगमा राजाले शत्रुमाथि विजय गरेको पाण्डव भाइ भिमको पूजा गरिने गरेको बताइन्छ । राजालाई सघाएको हुनाले भिमको नाममा घरका दाइभाइले व्रत बस्ने गरेको पाईन्छ ।

यो पर्वमा दाइभाइले दिदीबहिनीको रक्षाका लागि पानीसमेत नपिएर आधा दिनसम्म व्रत बस्ने गरिन्छ ।

आइतबार आधा दिनसम्म व्रत बसेका दाइभाइले दिउँसो एक/दुई बजेतिर पूजापाठ गरेर फलफूल र अन्डीको रोटी खाने गर्दछन् । सबै परिवारले खानुपूर्व सबैबाट आधा भाग झिकेर छुट्टै राख्ने गरिन्छ । छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रुपमा दिने गरिन्छ ।

अट्वारी पर्वको दोश्रो दिन बिहानै खरिया, खुर्मा, फुलौरी, भात र माछा सहित विभिन्न सात प्रकारका तरकारीको परिकार तयार भइसकेपछि व्रतालुले नुहाइधुवाई गरेर पुजापाठमा बस्ने गर्दछन् । पूजापछि खानाको सम्पूर्ण परिकार व्रतालुलाई दिइन्छ । आफ्नो अगाडि राखिएको सम्पूर्ण खानाको परिकारबाट आधा भाग दिदीबहिनीका लागि छुट्याएपछि भोजन गरिन्छ ।

सोमबार बिहानको भोजनलाई ‘फढार’ भनिन्छ । दुईदिन दाइभाइले आफ्नो भागबाट निकालेको खानाको परिकार विवाहित छोरीलाई यसैदिन दिने चलन छ । आफ्नो छोरीलाई वर्षभरीको सम्झना स्वरुप पठाउने कोसेलीलाई ‘अग्रासन’ भन्ने गरीन्छ ।

अट्वारीमा विवाहित छोरीले आफ्नो माईतको कोसेली कुरेर बसेका हुन्छन् । घरको कोसेली आएपछि त्यो खाने र दिदीभाइ दाजुबहिनी बीच सुखदुःखको कुरा हुने गर्दछ । यसबाट दाइबहिनी बीचको सम्बन्धलाई अझ प्रगाढ हुने बिश्वास राखिन्छ । यो दिन दाजुभाइले एकै प्रकारको तरकारी खाएपनि विवाहित छोरीचेलीलाई सात प्रकारका तरकारीसहित विभिन्न पकवान दिने गरिन्छ ।

सपरिवार धुमधामका साथ मनाईने यो पर्व कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लाका थारु समुदायले मनाउने गर्दछ । सुदूरपश्चिम प्रदेश सरकारले अट्वारी पर्वको अवसर पारेर सार्वजनिक बिदा दिएको छ ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा थारुको बाक्लो बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…