प्रावि शिक्षककाे भरमा धानिएका छन् मावि

प्रकाश न्यौपाने
भैरहवा । भदौ १२ गते शिक्षक अभावमा आफूहरुले पढ्न र परीक्षा दिन वञ्चित भएको  भन्दै जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर–३ मा रहेको श्रीमती मनराजीदेवी  माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिए । आक्रोसित विद्यार्थीले  गाउँपालिकाले शिक्षक व्यवस्थापन नगरेको भन्दै पालिका कार्यालय तोडफोड समेत गरे  । विद्यार्थीको तोडफोडबाट कार्यालयको एउटा ढोका र ३ वटा सीसाका झ्याल फुटेका
छन् । त्यो विद्यालयमा करिब २ वर्षदेखि शिक्षकको चरम अभाव छ ।

प्रावि तहका  शिक्षकले यहाँ माविमा अध्यापन गराइरहेका छन् । ‘प्राविका शिक्षकले माविमा पढाउनु पर्ने बाध्यता छ, विद्यार्थीको पढाई विगार्न भएन, पालिका र सरकारले शिक्षक उपलब्ध गराउँदैन’, प्रधानाध्यापक राजदेव प्रसाद मौर्यले भन्नुभयो, ‘दरबन्दी नभए पनि करार, निजीस्रोत, ज्यालादारी शिक्षक भए तापनि विद्यार्थीले  राम्रोसँग पढ्न पाउँथे, त्यो पनि छैन । बाध्य भएर विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।’

त्यहाँ करिब एक हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । बालविकासदेखि कक्षा १२  सम्म पढाई हुन्छ । बालविकास र प्रावि तहमा शिक्षक पर्याप्त भए पनि निमावि, मावि  र प्लस टु पढाउने शिक्षक निकै कम छन् । ‘हामीले शिक्षक भर्ना गर्ने भनेर व्यवस्थापन
समितिको निर्णयगरी दुईपटकसम्म विज्ञापन प्रकाशन गर्यौ तर परीक्षा संचालन गर्न  गाउँपालिकाले अनुमति नै दिएको छैन । न पर्याप्त शिक्षक उपलब्ध गराएको छ’, वडा  अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुकेश यादवले भन्नुभयो । त्यो विद्यालयमा कक्षा ७–१० सम्म अध्ययनरत विद्यार्थी धेरै हुँदा सेक्सन ए र बी गरी  छुट्याइएको छ ।

एउटा सेक्सनमा १ सय ३७ जना विद्यार्थी कोचाकोच गरेर अध्यापन  गराइँदै आएको छ । निमावि तहमा सेक्सन छुट्याउँदा ५ वटा कक्षामा विद्यार्थीलाई  अध्यापन गराउनु पर्ने हुन्छ । तर निमाविमा एक जना दरबन्दी, एक जना राहत र १  जना निजी स्रोतबाट शिक्षक छन् । तर यो पर्याप्त नभएको प्रधानाध्यापक मौर्यले बताउनु भयाे  । विषयगत शिक्षकसहित निमावि तहमा कम्तिमा थप ७ शिक्षक आवश्यक पर्ने उनले
बताए । निमावि तहमा विज्ञान, गणित, अँग्रेजी कम्प्यूटर पढाउने शिक्षक नै छैनन् ।  विषय विज्ञभन्दा बाहिरका प्रावि तहका शिक्षकले निमावि र माविलाई पढाउँछन् ।

कक्षा ९ र १० मा दरबन्दीका शिक्षक नै छैनन् । यी कक्षामा अध्यापन गराउने ३ जना  राहतका शिक्षक मात्रै छन् । थप ९ जना विषयगत शिक्षक आवश्यक छ । यहाँ  प्राविधिक शिक्षा समेत पढाई हुन्छ । प्राविधिकतर्फ इलेक्ट्रिक इन्जिनियर पढाइ हुँदै  आएको छ । यो क्षेत्रमा पढाउने २ जना सहायक प्रशिक्षक मात्रै छन् । प्रशिक्षक समेत  नहुँदा प्राविधिक पढ्ने विद्यार्थीको भविष्य अन्यौलमा छ । प्राविधिकतर्फ कम्तिमा २  प्रशिक्षकसहित थप ४ जना शिक्षक आवश्यक पर्ने विद्यालयले जनाएको छ ।

विषयविज्ञ  शिक्षक नहुँदा विद्यार्थीको भविष्यमाथि नै खेलवाड भइरहेको अभिभावकको चिन्ता छ ।  दुई कक्षामा सेक्सन समेत भएकाले सबै कक्षा एकैपटक संचालन गर्न समस्या भएको  विद्यालयले जनाएको छ । ९ र १० मा अनिवार्य विषयहरु प्राविधिक विषय नपढ्ने
विद्यार्थीहरुसँगै राखेर पढाउँदै आएको विद्यालयले जनाएको छ ।  ‘२०७४ बाट सुरु भएको प्राविधिक विषयमा विद्यार्थीको आकर्षण छ । तर प्रशिक्षक  नहुँदा विद्यार्थीले राम्रो ज्ञान प्राप्त गर्न सकेका छैनन्, सय बढी विद्यार्थीको भविष्य  अन्यौलमा परेको छ’, प्रधानाध्यापक मौर्यले भन्नुभयो । प्लस टु मा दुई जना मात्रै अनुदान  प्राप्त शिक्षक छन् । शिक्षक अभावकै कारण प्लस टु दिउँसोमा संचालन नगरी  बिहानमा संचालन गरिएको छ । दिउँसो प्रावि तह पढाउने शिक्षकले बिहानमा प्लस टु  पढाउँदै आएका छन् ।

शिक्षा र बाणिज्य संकायमा यहाँ पढाइ हुँदै आएको छ । प्लस टु  राम्रोसँग संचालन गर्न यहाँ थप विषयत ९ शिक्षक आवश्यक पर्छ । ‘जिल्लाकै दुर्गम  ठाउँमा विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको यो एउटा नमूना मात्रै हो ।  गापाभित्रका धेरै विद्यालयले शिक्षक अभावमा यस्तै सास्ती खेप्दै आएका छन्’,  व्यवस्थापन समिति अध्यक्ष यादवले भन्नुभयो ।  यहाँ विषय विज्ञ भन्दा पनि जुन कक्षा खाली हुन्छ, त्यहाँ तल्लो तह पढाउने शिक्षकले अध्यापन गराउँदै आएका छन् । एउटा शिक्षकको भागमा कम्तिमा ९ पिरियड पर्ने  गरेको सहायक प्रधानाध्यापक प्रमोद यादवले बताए । ‘सामान्यतः दैनिक एउटा  शिक्षकले ६ पिरियड पढाउने भन्ने प्रावधान हुन्छ । तर यहाँ एउटा शिक्षकको भागमा ९  पिरियड पर्छ । जसरी भए पनि व्यवस्थापन मिलाएर विद्यार्थीलाई पढाउँदै आएका छौं’,  उहाँले भन्नुभयो । यादवले आफू प्राविको स्थायी शिक्षक भए पनि निमावि, मावि र प्लस  टुलाई गरी ९ पिरियड पढाउँदै आएको बताए । दिनमा ७ पिरियड पढाई हुन्छ । एउटा  कक्षाकोठामा ५० भन्दा बढी विद्यार्थी राख्न नपाइने भए पनि यो विद्यालयमा भेडाबाख्राजस्तै १ सय ३७ जनासम्म विद्यार्थी कोचेर अध्यापन गराइन्छ । जसले विद्यार्थीले  राम्रो शिक्षा त पाएका छैनन् नै गर्मी मौसममा सरुवा रोगको खतरा समेत बढेको छ ।

जिल्ला शिक्षा समन्वय समितिको अनुमतीमा विद्यालयले २०७४ र २०७५ माघ  महिनामा शिक्षक दरबन्दी पूरा गर्न विज्ञापन गरेको थियो । विज्ञापन प्रकाशितपछि  शिक्षकको परीक्षा लिन स्थानीय सरकारको अनुमती चाहिन्छ । गाउँपालिकाले परीक्षा  संचालनको सहमति नदिँदा समन्वय समितिले परीक्षा समेत लिन पाएको छैन ।  मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले विद्यालयले भनेजस्तो शिक्षकको  अभाव नभएको दावी गर्नुभयो । उनले कानूनी प्रावधानले गर्दा शिक्षक राख्न नसकिएको  बताए । ‘कानूनले हामीलाई शिक्षक राख्न मिल्दैन । हाम्रो क्षमताले भेटेसम्म ज्यालादारी  र निजी शिक्षक भए पनि व्यवस्था गरेका छौं । अपुग शिक्षक पनि पालिकाको बैठकबाट  निर्णय गरेर पूर्ति गर्ने तयारी गरिरहेका छौं’, उहाँले भन्नुभयो ।

गाउँपालिकाभित्र १५ वटा सामाुदायिक विद्यालय छन् । जसमध्ये ४ वटा मावि छन् भने  अन्य प्रावि र निमावि हुन् । निमावि र मावि संचालित अधिकांश विद्यालयमा दरबन्दीका  शिक्षक त छैनन् नै राहत र निजीस्रोतका शिक्षक समेत नहुँदा विद्यार्थी पढ्नबाट  बञ्चित हुँदै आएका छन् । दुर्गम क्षेत्र भएकाले यहाँका विद्यालयहरुमा पढाउने शिक्षक  सरुवा भएर अन्यत्र जाने समस्या समेत उस्तै छ । कतिपय राहत र निजी स्रोतका
शिक्षकले शिक्षकसेवा आयोगमा नाम निकालेर अन्यत्र जाँदा विद्यालयहरु शिक्षकबिहीन भएका छन् । यसले सयौं विद्यार्थीको भविष्य संकटमा परेको छ । यहाँका धेरै विद्यालयले  शिक्षक अभावकै कारण नियमिय संचालन गर्नुपर्ने परीक्षा समेत संचालन गर्न सकेका
छैनन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

खनालले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपालाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रुपमा पुरा गर्ने बताउनुभएको हो ।

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।