गुरुकूलमा वन्दनास्तोत्रसँगै अंग्रेजी (भिडियोसहित)

नम्रता बानियाँ
काठमाडौं । सुकुल बिछ्याइएको कोठा, दौरा–सुरुवाल, कोट र ढाका टोपीमा ठाँटिएका ठिटा लहरै बसेका छन् त्यो पनि पलेँटी कसेर । सबैको खुट्टा खाली छ, अनि हातमा चाहिँ पुस्तिका । छिसिक्क हल्ला सुनिन्न । अत्यन्त शान्त र सौम्य माहौल ।

देख्दा लाग्छ यो वातावरण कुनै ध्यान शिविरको हो । यस्तो शीतलताको आभास गराउने परिवेश अन्त कहाँको होला ? तर, नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय, वनकाली पुगियो भने यो अनुमान गलत साबित हुन्छ । किनभने, वैदिक संस्कृत अध्यापन हुने यस विद्यालयको हर कक्षा कोठाको माहोल यस्तै शान्त छ । कोठा विद्यार्थीले भरिएको हुन्छ तर गाइँगुइँ पटक्कै सुनिन्न । सुनिन्छ त केवल विद्यार्थीले संस्कृत मन्त्र पाठ गरेको, मधुर आवाज ।

कक्षा कोठाभित्रको माहोल मात्र होइन, पूरा विद्याश्रमको संरचना र परिवेश नै ध्यान केन्द्रजस्तै शान्त छ । हुलिया र बनोट पनि मन्दिर जस्तै । र, यहाँ अध्ययनरत १६ वर्षमुनिका यी विद्यार्थी बटुक भनेर चिनिन्छन् । हुन त यो पनि विद्यालय नै हो । विद्यार्थीको पोशाक, प्रकृति, पढाइ पद्धति, आन्तरिक रहनसहन र अनुशासनका यावत् मानक आमविद्यालयको भन्दा अलग छ । अरू त अरू, भोजनमा समेत छुट्टै तौरतरिका र नियम छ । यहाँ पढ्ने विद्यार्थीले सात्विक भोजन मात्र गर्न पाउँछन् अर्थात् माछा, मासु, लसुन, प्याज पूर्णरुपमा निषेध छ ।

विद्यार्थीले प्रत्येक बिहान एक–एक घन्टा वेद र स्तोत्र पाठ गर्नैपर्छ । आखिर गुरुकुलीय शिक्षा पद्धति अनुसार पढाइ हुने नेपालको सबैभन्दा पुरानो र केन्द्रीय विद्यालय न पर्यो । जहाँ नेपाल सरकारले तोकेको वेद विद्याश्रम शिक्षा प्रणालीअन्तर्गतका पाठ्यपुस्तक अध्यापन हुन्छ । देशको धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो विद्यालय खोलिएको थियो । त्यसैले यस विद्यालयको पाठ्यक्रम र अध्यापन शैली त्यही लक्ष्यको लागि भएको प्रधानाध्यापक केशवप्रसाद अधिकारी बताउनुहुन्छ ।

२०२८ सालमा नयाँ शिक्षानीति लागू भएपछि एसएलसीको पाठ्यक्रमबाट संस्कृत विषय हटाइयो । त्यसअगाडि एक सय पूर्णाङ्कको संस्कृत पढ्नु पर्थ्याे । पूर्वीय दर्शन र हिन्दू धर्म संस्कारप्रति आस्था राख्ने विद्वानहरुले संस्कृत विषय निषेधप्रति विरोध गर्दै तत्कालीन राजा महेन्द्रसँग बिन्ती बिसाए, संस्कृत हटाउँदा पूर्वीय दर्शनमै संकट आइलाग्छ भनेर । त्यही समयमा राजा महेन्द्रले पनि आमपाठ्यक्रममा एक सय पूर्णांङ्कको विषय राख्ने मात्र नभइ, गुरुकुलीय पद्धति अनुसार संस्कृत अध्ययनका लागि छुट्टै संरचना बनाउने प्रण गरे । त्यसकै प्रतिफल हो, यो विद्याश्रम ।

विद्याश्रम पशुपति क्षेत्रभित्र संचालित छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल विद्याश्रमलाई कोषले आवश्यक सहयोग गरिरहेको बताउनुहुन्छ । २०२८ सालबाटै भवन बनाउन शुरु गरेको भए पनि तीन वर्षपछि अर्थात् २२ कात्तिक २०३१ बाट मात्र औपचारिक अध्ययन शुरु भएको थियो । त्यतिबेला १० कक्षामा मात्र सीमित गर्ने होइन, विश्वविद्यालयकै स्वरूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । स्नातक तहको मान्यता रहने ११ वर्षे पाठ्यक्रम विकास नै गरियो तर ती योजनाले मूर्त रूप पाउन सकेन, स्थापनाको चार दशक नाघिसक्दा पनि विद्याश्रम १० कक्षाबाट अगाडि बढ्न सकेको थिएन ।

खासमा २०३६ सालको राजनीतिक अस्थिरताका कारण स्थापनाको सुरुको एक दशक यसको विकास शून्यजस्तै भयो तर २०४३ सालमा शिक्षा मन्त्रालयसँग समन्वय गरेर एसएलसी दिने व्यवस्था मिलाइयो । पहिलो वर्ष एक मात्र विद्यार्थी एसएलसीमा उत्तीर्ण भए, रामचन्द्र सुवेदी । सहभागी हुने पनि उनै मात्र थिए । दोस्रो ब्याजमा दुई विद्यार्थी उत्तीर्ण भए, अहिलेका प्रधानाध्यापक अधिकारी तीमध्ये एक हुन् । २०५५ देखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनुभएका अधिकारीले त्यतिबेला बुबाको पुरेत्याइँलाई निरन्तरता दिन नुवाकोटबाट यहाँ संस्कृत पढ्न आउनुभएको थियो । अहिलेका अधिकांश शिष्य पनि बाबुकै पदचाप पछ्याउन विद्याश्रम पुग्छन् ।

अधिकारीका पालामा जम्माजम्मी २७ जना विद्यार्थी थिए, त्यो पनि वाग्मती अञ्चल वरपरका मात्र । अहिले दुई सय २५ विद्यार्थी पढिरहेका छन् करिब ६० जिल्लाका । ब्राह्मण मात्र होइन, जुनसुकै जातका बालकले पनि यहाँ पढ्न पाउँछन् तर त्यस्ता विद्यार्थीको उपस्थिति छैन ।जातीय नभए पनि क्षेत्रीय विविधता भने देखिन्छ । अझ दुर्गम मानिएको कर्णाली अञ्चलका त प्रत्येक जिल्लाका विद्यार्थी यहाँ वेद अध्ययन गरेर हिन्दु धर्म संस्कृति जोगाउन लागि पर्दैछन् । कतिपय बटुकको सपना सेनामा भर्ती र पण्डित्याइँमा मात्र सीमित छैन । उनीहरू संस्कृतबाट आफ्नो ज्ञानको दायरा फराकिलो बनाउँदै अन्य क्षेत्रमा पनि सफलता हाँसिल गर्ने धुनमा छन् । विद्यार्थी र समयको चाहको घेरो फैलिँदै गरे पनि विद्याश्रमको संरचना र प्रणालीमा सोही अनुरूप विकास हुन भने सकेको छैन । जसले गर्दा संस्कृत पढ्ने इच्छा हुँदाहुँदै पनि सबै समेटिन सकेका छैनन् । एसएलसीको पाठ्यक्रममा अंग्रेजी विषय राखिएको दुई वर्ष मात्र बित्यो । नत्र ‘अंग्रेजी पढ्दा पाप लाग्छ’ भनेर निषेध गरिएको थियो ।

अर्कोतिर अहिलेसम्म यो विद्यालयभित्र विद्यार्थीका लागि कम्प्युटर छिर्न सकेको छैन, । पाठ्यक्रममा अंग्रेजी विषय समावेश गर्न लामो संघर्ष गरेका प्रधानाध्यापक अधिकारीको अनुभव छ । समयानुकूल आधुनिकतातर्फ लम्कने योजना छ । तर, आर्थिक संकटका कारण कतिपय पक्ष चाहना र आवश्यकता हुँदा पनि उपलब्ध गराउन नसकेको दुखेसो पोख्नुहुन्छ । हिन्दु परम्पराको रक्षाका लागि पनि सरकारले विद्याश्रमलाई विशेषरूपमा हेर्नुपर्छ र पुजारी उत्पादन केन्द्रका रूपमा विकास गर्नुपर्ने प्रधानाध्यापक अधिकारीको भनाइ छ ।

विद्यालयमा शुक्ल आयुर्वेद, संस्कृत भाषा, संस्कृत व्याकरण, कर्मकाण्ड, ज्योतिष र न्याय विषय संस्कृतमा पढाई भइरहेको छ । त्यसबाहेक नेपाली, सामाजिक, गणित र अंग्रेजी पनि पढाई भइरहेको छ । लामो संघर्ष पछि २०७६ सालबाट माध्यमिक शिक्षा अर्थात प्लस टु को अध्यापन शुरु गर्ने भएको छ । विद्यालयमा हाल १२ जना शिक्षकहरु कार्यरत छन् । जसमध्ये ३ जना शिक्षक मात्रै दरबन्दी अन्तर्गतको नियुक्ति छ । अन्य शिक्षक लामो समयदेखि अस्थायी शिक्षकको रुपमा काम गर्दै आइरहेका छन् । संस्कृत विषयमा एक कक्षा कोठामा १० जना मात्रै विद्यार्थी राखेर पढाउने चलन छ । तर, शिक्षक र कोठा अभावमा ४० जनासम्म राखेर पढाउनु परेको शिक्षकहरुको गुनासो छ ।

विद्यालयका लागि ४९ रोपनी जग्गा छुट्याइएको थियो । तर अहिले जग्गामा प्रहरी कार्यालय लगायत अन्य कार्यालय बसेकाले साँघुरो भएको विद्यालयको भनाइ छ । जग्गा अभावकै कारण विद्यार्थीलाई खेल्ने चउरसमेत छैन । पशुपति क्षेत्र विकास कोषले विद्यालय भवनको छाना फेरिदिएको छ भने नयाँ भवन, वाउण्ड्री वाल निर्माण र छात्रावास भवन तथा खाट व्यवस्था गरिदिएको सदस्यसचिव ढकालको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्रीलाई संसदीय समितिले अठ्यारोमा पार्न थालेका छन् ।

एक्कासी केही नभनी उसले झोलामा ल्याएको पैसा मलाई दिएर गएको हो ।’

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…