काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री धनबहादुर बुढा र चीनका सिचुवान प्रान्तका उपप्रमुखबीच भेटवार्ता भएको छ ।
सिचुवानमा हुने अन्तर्राष्ट्रिय पर्यटन महोत्सवमा औपचारिक सहभागिताका लागि चीनको सिचुवान पुग्नुभएका मन्त्री बुढाले उपप्रमुखसहित प्रान्तका सरकार प्रमुखलगायत उच्चपदस्थ व्यक्तिसँग भेटवार्ता गर्नुभएको हो।
दुई पक्षबीच भएको भेटवार्तामा राज्यमन्त्री बुढाले नेपाल र चीनको सिचुवान प्रान्तबीच संस्कृति, पर्यटन, प्रविधि आदानप्रदान, दक्ष जनशक्ति निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन लगायतका विषयमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सिचुवानका उपप्रमुखले दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउँदै संस्कृति र पर्यटनमा विकास गर्नुपर्ने बताउनुभयाे ।
भ्रमणमा राज्यमन्त्री बुढासँगै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी, राष्ट्रियसभाका सांसद दुर्गा उपाध्याय, तानशेन नगरपालिकाका मेयर अशोककुमार शाही, रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ अधिकृत डा. सागर न्यौपाने तथा नेपाल भ्रमण वर्ष २०२० परियोजनाका व्यवस्थापक रोहिणी खनाल सहभागी हुनुहुन्छ ।
औपचारिक भ्रमण चार दिनकाे रहने बताइएकाे छ ।