काठमाडौं । चिकित्सकले डेंगु रोगको संक्रमण हुन नदिन लामखुट्टेको टोकाईबाट बच्न सुझाव दिएका छन ।
चिकित्सक डा. बासुदेव पाण्डेले लामखुट्टेको टोकाईबाट बच्न सके यो रोगबाट बच्न सकिने बताउनुभएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले डेंगू रोगको संक्रमण बढेपनि महामारीको रुपमा नफैलिएको प्रष्ट पार्नुभयो । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका निर्देशकसमेत रहनुभएका डा. पाण्डेले धेरैजसोमा रोगको सामान्य संक्रमणमात्रै देखिएको बताउनुभयो ।
चिकित्सकका अनुसार यो रोग नेपालमा महामारीको रुपमा फैलिएको छैन । यो रोगबाट बच्न सरकारले लामखुट्टे नियन्त्रण गर्ने अभियानलाई घरघरमा संचालन गरिरहेको पनि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालले बताउनुभयो । उहाँले सबैभन्दा बढी रोगको संक्रमण कास्की जिल्लामा देखिएको पनि प्रष्ट पानुभयो ।
सरकारको पछिल्लो तथ्यांक अनुसार हालसम्म ४२ भन्दा बढी जिल्लामा यो रोगको संक्रमण देखिएको र साउन १ गतेदखि भदौ १७ गतेसम्म २ हजार पाँच सय ५९ जनामा डेंगु रोगबाट संक्रमित भएको देखिएको छ ।
चिकित्सक लालले हालसम्म प्रदेश १ मा ७ सय ५३ जना, प्रदेश २ मा २३ जना, प्रदेश ३ मा एक हजार ९३ जना, प्रदेश ४ मा ५ सय ७२ जना, प्रदेश ५ मा १ सय पाँचजना, प्रदेश ६ मा २ जना र प्रदेश ७ मा १२ जना डेंगु रोगबाट संक्रमित भएको बताउनुभयो ।