नारायण थापा भक्तपुर । मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपको माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलोसिस् गर्ने औषधिमा कालोबजारी भएपछि बिरामीले मूल्य तिर्न बाध्य भएका छन् ।
भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितले सरकारले निःशुल्क भनेको डायलोसिस् सेवा लिन आफूहरुले बढी रकम तिरेर कालोबजारीमा औषधि किन्नु परेको गुनासो गरेका छन् । सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले बिरामीलाई औषधि नदिई मूल्य बृद्धि गरेपछि बिरामीले बाध्य भएर मंहगोमा औषधि किनेर डायलोसिस् गर्नु परेको गुनासो गरेका हुन् ।
मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले सरकारले गत साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलोसिस् गर्ने प्रबिधि सिएपिडि फ्युडको मूल्य प्रति प्याकेट ४ सय ८ निर्धारण गरेको तर बिक्रेताले ४ सय ३० भन्दा घटेर नदिएपछि बिरामीले बाध्य भएर औषधिमा बढी मूल्य तिर्नुपरेको बताउनुभयो ।
डायलोसिसको औषधि आयात गरी बिक्री गर्ने नेपालको एक मात्र बिक्रेता डिके मेडी सेल्सले सरकारले निर्धारण गरेको मूल्यमा औषधि दिन नसक्ने भनेर बिक्री रोकेपछि ज्यान जोगाउन बाध्य भएर बिरामीले पैसा तिर्नुपरेको उहाँले बताउनुभयो । शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट स्वीकृत पत्र लिएर बिक्रेताबाट निःशुल्क औषधि लिदै आएका बिरामीले औषधि नपाएपछि सोझै कम्पनीसँग सरकारले दिने रकमबाट प्रति प्याकेट थप २२ रुपैयाँ तिरेर औषधि किन्नु परेको सुवेदीले बताउनुभयो । प्रति बिरामी दैनिक ३ प्याकेट औषधि लाग्नेमा निःशुल्क प्राप्त हुनुपर्ने औषधिलाई बिरामीले दैनिक ६६ रुपैयाँका दरले मासिक १ हजार ९ सय ८० थप रकम तिर्नु परेको बताउदै अस्पतालबाटै निःशुल्क औषधि दिने व्यबस्था गर्न सरकारसँग बिरामीले माग गरेका छन् ।
मिर्गौलाको उपचार हुँदै आएको शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले यहाँबाट औषधिको व्यवस्था गर्न नसक्ने भन्दै सबै बिरामीलाई पत्र पठाउँदै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ सम्मिलित आरोग्य फाउण्डेसनद्धारा सञ्चालित निदान अस्पतालमा पठाएपछि बिरामीले थप मूल्य तिर्नु परेको गुनासो गरेका छन् । बिरामीले बिक्रेताबाट महंगोमा औषधि किनेर निदान अस्पतालमा जानु पर्ने बाध्यता आएको र निदानले पनि उपचार गर्न नसक्ने भनेर केही दिन यता बिरामीलाई फर्काइदिए पछि बिरामी अलपत्र परेको मिर्गौला पीडित बिके पाल्पालीको पत्नी रेनुका भट्टराईले बताउनुभयो । सरकारले भक्तपुरको शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाटै औषधि दिने ब्यवस्था गरिदिए मिर्गौला पीडितले राहत पाउने बताउँदै औषधिको मूल्यमा भएको असमानता तत्काल हटाई बिरामीलाई कालो बजारीबाट औषधि किन्नु पर्ने बाध्यताबाट मुक्त गरिदिन आग्रह गर्नुभयो ।
मिर्गौला पीडित सरोकार समितिले स्वास्थ्य मन्त्रालयमा उप प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी समस्याको बारेमा जानकारी गराउँदै थप रकम तिर्नुपर्ने बाध्यता हटाउन माग गरेपनि बिरामीको माग सम्बोधन नभएको समितिका अध्यक्ष सुवेदीले गुनासो गर्नुभयो । एक सातासम्म बिरामीको माग सम्बोधन नभए मिर्गौला पीडितले स्वास्थ्य मन्त्रालयमा धर्ना दिई आन्दोलन गर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा मिर्गौला बिरामी कोपिला बस्नेतले बिरामीलाई औषधि किन्न धोबीघाट जानुपर्ने र उपचारका लागि निदान जानुपर्ने बाध्यता हटाउँदै भक्तपुरबाटै औषधि र उपचार दिने ब्यवस्था मिलाइदिन आग्रह गर्नुभयो।
औषधि बिक्रेताका प्रतिनिधि सञ्जय अधिकारीले भने सरकारले निर्धारण गरेको मूल्यमा औषधि दिन नसकिने भएकाले बाध्य भएर मंहगोमा औषधि बिक्री गर्नुपरेको बताउनुभयो । उहाँले सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्री गर्न नसकिने बताउदै बाध्य भएर बिरामीसँग बढी रकम लिनुपरेको बताउनुभयो ।
मेशिनबाट गराउने हेमोडायलोसिस् भन्दा यो प्रबिधि सहज भएको भन्दै हाल १ सय ७० भन्दा बढी बिरामीले यो प्रविधिबाट मिर्गौलाको डायलोसिस् गराउदै आएका छन्।