भगीरथ भण्डारी इलाम । हरेक मानिसले दिवस र जन्म दिनलाई मोजमस्ती र भोजभतेरमा हजारौँ खर्चने गर्दछन् । कुनै पनि दिवस मनाउँदा खेल्ने र रमाउनेमा नै सीमित रहन्छ । समाजमा कुनै पनि विशेष दिनमा मनोरञ्जनमै मनाउने चलन छ । तर निजामति कर्मचारी दिवसमा त्यो भन्दा परक देखिएको छ ।
इलाममा शनिबारदेखि नै केही निजामति कर्मचारीले राजनीतिक दलसँगको मैत्री पूर्ण खेल खेलेर रमाए । तर सन्दकपुर गाउँपालिकाका कर्मचारीले भने निजामति दिवस अनाथालयका बालबालिका र वृद्धाश्रममा सहयोग गरेर मनाएका छन् । १६औं निजामती दिवसको अवसर पारेर सन्दकपुर गाउँपालिका कार्यरत् कर्मचारीले इलामको राहसल बाल अनाथालय र माइभगवति वृद्धाश्रमलाई सामग्री उपलब्ध गराएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई र नगरपालिका प्रवक्ता गिरीराज खनाल सहितको टोलीले राहसल बाल अनाथालयमा दुई बोरा चामल, एक कार्टुन तेल, दाल, एक कार्टुन साबुन, दुई प्याकेज टुथपेष्ट ब्रस, ३० वटा पुस्तक, फटवल, ब्याडमिन्टन, फ्रुटी, फलफूल लगायातका सामग्री उपलब्ध गराएको हो । राईले अनाथालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चौहानलाई सामग्री हस्तान्तरण गरे । त्यस्तै माइभगवती वृद्धाश्रममा दुई बोरा चामल, एक कार्टुन तेल, एक कार्टुन साबुन, कपडा, फलफूल, हरलिक्स वितरण गरिएको थियो । माइभगवती वृद्धाश्रममा रहेका १३ जना वृद्धवृद्धाको स्वास्थ्य परीक्षण र औषधि समेत वितरण गरिएको छ ।
सामग्री वितरण गर्दै प्रमुख प्रशासकीय अधिकृत राई र गाउँपालिकाका प्रवक्ता खनालले अनाथालय र वृद्धाश्रमको आवश्यकता अनुसार गाउँपालिकाले संस्थागत रुपमा समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।