सडक मर्मत गर्न सडक हेरालु नियुक्त

हुमाकान्त पोखरेल

गुल्मी । इस्मा गाउँपालिकाले गाउँपालिकाभित्रको स्थानीय सडक मर्मत गर्न ५० जना लेन्थ वर्कर (सडक हेरालु) नियुक्त गरेको छ ।

वर्षातले क्षति पुर्याएका सडक संजाल नियमित रुपमा शुचारु गर्न लेन्थ वर्कर नियुक्त गरिएको हो ।

गाउँपालिकाले गत वर्षदेखि २० जना लेन्थ वर्करलाई वर्षभर नै नियमित सडक मर्मतका लागि राखेको थियो । यो वर्ष थप ३० जना भर्ना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । गाउँपालिकामा लेन्थ वर्करका लागि ६४ जनाले निवेदन दिएका थिए । जसबाट ३० जना नियुक्त गरिएको हो । गत वर्षका २० र यो वर्ष ३० गरी छनोट भएका ५० जना लेन्थ वर्करले आइतबारदेखि सडक मर्मतको काम शुरु गर्ने बस्नेतले बताए ।

इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले विपन्न परिवारको जिविकोपार्जनसँगै सडक नियमित बनाउने योजना अगाडि बढाएको बताए । गत वर्ष दशैंमा मात्रै सडक मर्मत गर्दा गाउँपालिकाले २० लाख बढी खर्च गरेको थियो । ठुला मेशिनको प्रयोगले एउटा व्यक्तिलाई मात्रै फाइदा हुने भएकाले लेन्थ वर्करको संख्या बढाएको विष्टले बताए । ‘लेन्थ वर्करमार्फत काम गर्दा बाटो र आटो दुवै चल्ने सोचेका छौै ।’ उनले भने, ‘गत वर्ष मेशिन प्रयोग गर्दा २० लाख खर्च भो, अहिले त्यो पैसा ५० परिवारसम्म पुग्ने छ ।’ उनले लेन्थ वर्करको अवधि थप गरेर ठुला मेशिनको प्रयोगलाई निरुत्साहित गर्दै अधिकत्तम रोजगार सिर्जना गर्ने गरी सडक मर्मत गर्ने बताए ।

धेरै विदेशबाट फर्किएका
गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई लेन्थ वर्करमा प्राथमिकता दिएको छ । जसअन्तर्गत नियुक्त गरेका ५० जना लेन्थ वर्करमा ५२ प्रतिशत विदेशबाट फर्किएका छन् । भारतसँगै खाडी मुलुक मलेसिया, कतारमाबाट फर्किएका युवाहरुले गाउँपालिकामा आवेदन दिएका थिए । ‘परिवारसँगै काम गर्ने अवसर पाएँ, म जस्तै थुप्रै युवाले परदेशको गुलाम गरेका छन् ।’ मलेसियाबाट फर्केका इस्मा गाउँपालिका ४ का इश्वर विष्टले भने, ‘चाड पर्वको मुखमा ५० जनाको घरमा गाउँपालिकाले खुशी दिएकोे छ ।’ नियुक्ति लिएका ५० जनामा १४ जना महिला रहेका छन् । गाउँघरमा मेलापात वा अन्य कुनै काम गर्दा महिला र पुरुषको ज्यालामा विभेद गर्ने गरिन्छ । तर गाउँपालिकाले नियुक्त गरेका कामदारमा महिला र पुरुषको ज्याला पनि समान रहेको छ ।

पुरस्कार र दण्डको व्यवस्था
गाउँपालिकाले लेन्थ वर्करका लागि दण्ड र पुरस्कारको व्यवस्था गरेको छ । सडक मर्मतमा नियमित, अनुशासन र तोकिएको काम समयमै पुरा गर्ने लेन्थ वर्करलाई पुरस्कृत गरिने गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । उनले गत वर्ष पनि तीन जनालाई पुरस्कृत गरिएको बताउँदै राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र ठग्ने तथा मदिरा सेवन गर्नेलाई कारबाही गर्ने गरी पदमुक्त गरिने जानकारी दिइन् । साथै लेन्थ वर्कर कर्मचारी प्रति उत्तरदायी बनाइएको छ । जनप्रतिनिधिसँग भोटको धम्की दिएर काम नगर्ने प्रवृतिको अन्त्य गर्न अहिले सबै कामको व्यवस्थापन कर्मचारीले गर्ने खत्रीले बताइन् ।

पहिलो चरणमा तीन महिना
इस्मा गाउँपालिकाले पहिलो चरणमा तीन महिना लेन्थ वर्कर भर्ना गरेको हो । शुरुमा मुख्य सडक र त्यसपछि शाखा सडक मर्मत गर्न अहिले लेन्थ वर्करको सेवा अवधि तीन महिना बनाइएको गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले जानकारी दिए । तीन महिनापछि कामको प्रभावकारिता मुल्याङ्कन गरेर थप निर्णय गरिने अधिकारीले बताए । एक जनाको लागि अहिले १३ हजार पाँच सय मासिक पारिश्रमिक तोकिएको छ । कामको प्रभावका आधारमा १० प्रतिशतसम्म पारिश्रमिक थप गरिने प्रवक्ता अधिकारीले बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…