चरित्र परीक्षण

एकादेशमा हरिहर आचार्य नामका गुरू थिए । नदी किनारमा उनको आश्रम थियो । त्यहाँ पढ्न देश–देशावरका विद्यार्थी आउँथे, बाध्यता थियो– टाढाटाढासम्म अर्को आश्रम थिएन । कडा स्वभावका लागि गुरू प्रख्यात थिए– विद्यार्थीको सानो–तिनो गल्तीमा पनि लठ्ठीले ढाड मस्काउनु र सिस्नो पानी लगाउनु उनको लागि मामुली थियो । त्यो जमानाका विद्यार्थी गुरूको अत्याचारका विरुद्धमा केही बोल्न पनि सक्दैनथे ।

गुरूले नियमित रुपमा विभिन्न विषय पढाउनुका साथै बेलुकीको खानापछि मधुर वाणीमा प्रवचन दिन्थे । उनका प्रवचन आदर्शले भरिएका हुन्थे । एकदिन चोरीको विषयमा गुरुले प्रवचन दिए । प्रवचनको निश्कर्ष थियो– ‘चोरी गर्नु महा पाप हो । अर्काको धनमाल चोरी गरी लिएमा रौरव नरकमा परिन्छ ।’ प्रवचन समाप्त भएपछि एकजना विद्यार्थीले सोधे– ‘गुरू, अरुको धनमाल चोरी गर्नु हुँदैन भन्ने त बुझियो। बाटोमा कसैको धन खसेको भेटिएमा के गर्ने नि ?’

चेलाको प्रश्न सुनेर गुरु एकछिन घोरिए । उनले निर्णय सिन्धु पुस्तक पल्ट्याएर केही हेरेजस्तो गरे र गला सफा गर्दै भने– ‘हेर बाबु हो, कसैको धन–माल कतै बाटोमा वा कतै बेवारिसे अवस्थामा भेटियो भने पनि त्यत्तिकै लिन हुँदैन । कुनै अग्लो ठाउँमा गएर सात पटकसम्म ‘यो सामान कस्को हो, यो सामान कस्को हो’ भनेर जोडजोडले चिच्याउनु पर्छ । त्यसो गरिसकेपछि पनि कसैले माग–दाबी गर्न आएन भने सात गाउँ घुमेर यो कस्को हो, यो कस्को हो  भन्दै भेटिएको सामानको प्रदर्शन गर्नुपर्छ । त्यति गर्दा पनि त्यस धन–माल बारे कसैले माग–दाबी गरेन भने लिए हुन्छ । त्यति विधि पुर्याएपछि भेटिएको धन–माल उपभोग गर्दा कुनै पाप लाग्दैन ।’

विद्यार्थी भित्रभित्रै धेरै चलाख थिए । उनीहरूलाई जाँच्न मन लाग्यो– यति मीठो प्रवचन दिने कडा स्वभावका गुरूको चरित्र कस्तो छ भनेर । उनीहरुले फुटेको घैंटोका खपटा (खबटा) गोलो–गोलो बनाए र सुनौलो रंग पोते । घैंटोका खपटा ठ्याक्कै सुनका असर्फीजस्ता देखिए । अर्कोदिन गुरू झिसमिसेमै नुहाउन नदी किनारतिर गए । चेला पनि गुरूले थाहा नपाउने गरी पछिपछि लागे । उनीहरुले गुरू फर्किने बाटोमा ठाउँ ठाउँमा ती नक्कली असर्फी खसाले र बयरको झाडीले छेलिएर लुकेर बसे ।

नुहाई–धुवाई, जप–तप सन्ध्या गरी विविध मन्त्रोच्चारण गर्दै गुरू फर्किंदै थिए । एकाएक उनका नजर बाटोभरी छरिएका नक्कली असर्फीमा परे । गुरूले ती असर्फी असली नै ठाने । ती असर्फी देख्दा गुरूका आँखा उज्याला भए । उनले फटाफट ती असर्फी उठाए र गम्छामा पोको पारे । त्यसपछि नजिकैको गहिरो ठाउँमा गएर श्वासैश्वासले, चरा वा मुसाले पनि नसुन्ने गरी, ‘यो कसको हो, यो कसको हो’ भने । त्यसपछि पल्र्याकपुर्लुक यताउति हेरे र गाउँतिर लागे । हातको कुटुरो लिएर गुरू सात गाउँ घुमे । उनले सासै सासले ‘यो कसको हो, यो कसको हो’ भनिरहेका थिए । उनको आवाज सुनिएको थिएन, ओंठ चलेको मात्रै देखिन्थ्यो । गाउँलेलाई लाग्यो– ‘अवश्य पनि गुरू लोक कल्याणका लागि कुनै धार्मिक कार्य गर्दैछन् । उ, बिचरा मन्त्र पढ्दै हिँडिरहेका छन् ।’ विद्यार्थी भने गुरुले चाल नपाउने गरी लुक्दै, छेलिँदै दिनभरी गुरूको पछि–पछि गएका थिए ।

साँझ पख भोक–प्यासले लखतरान परेका हरिहर गुरू आश्रम घरमा फर्किए । शरीरमा थकान भए पनि उनको मुहारमा गज्जबको सन्तुष्टिभाव थियो, मुहार उज्यालो थियो । आश्रमको आफ्नो निवासमा पुगेर गुरूले ढोका लगाए । विद्यार्थीहरूले भित्ताको खटप्वालबाट चियाएर भित्र हेर्न थाले । श्रीमतीले प्रश्नसूचक आँखाले श्रीमानलाई हेर्दै थिइन्, दिभरी कता हराएको भनेर सोध्ने शुरमा थिइन् । श्रीमतीले केही भन्न नपाउँदै गुरुले मायालु पाराले हेर्दै श्रीमतीलाई भने– ‘हेर बुढी, अब हाम्रा दुःखका दिन गए । अब दुनियाँका केटा–केटीको सिँगान पुछेर बसिन्न । अब शहरमा गइन्छ, ठूलो घर बनाइन्छ, नोकर–चाकर राखिन्छ, जीवनमा मोज गरिन्छ ।’  यति भन्दै हरिहरले कुटुरो खोलेर देखाए र कसरी ती भेटिए भनेर बेलिविस्तार लगाए ।

टुकीको मधुरो प्रकाशमा चम्किला असर्फी देखेर गुरूआमा पनि दंग परिन् । एकछिन पछि उनले भनिन्– ‘हजूर, यी असर्फी यत्तिकै बजारमा लगेर बेच्दा त शंका हुनसक्छ । यो माल हराउनेले पक्कै सुनारकोमा खबर गरेको पनि हुनसक्छ । यसैले यी असर्फी माटोको भाँडोमा राखेर गलाउँ र डल्लो बनाउँ । त्यसपछि सुनारले पनि चिन्ने छैन, शंका पनि हुने छैन ।’

श्रीमतीको सुझाव सुनेर हरिहर गुरू खुशीले गदगद भए र च्याप्प गालामा म्वाई खाए । ‘छि, बुढेसकालमा पनि कस्तो बैंस आएजस्तो गरेको होला !‘ भन्दै श्रीमती मस्किइन् ।

श्रीमतीले माटोको हाँडी अगेनोमा बसालिन् । हरिहरले सबै असर्फी हाँडीमा राखे । हाँडी तात्दै गयो । सुन पग्लिनुको सट्टा धुवाँ निस्कियो । केही बेर अघिका पहेँला असर्फी कालाकाला देखिए । ‘के भो यस्तो’ भन्दै हरिहरले चिम्टाले एउटा खपटा झिकेर हेरे । कालो–कालो खबटाजस्तो के होला यो भन्दै सिलौटोमा राखेर लोहोरोले प्याट्ट हान्दा माटोको खपटा फु्ट्यो ।

भित्रको दृश्य हेरिरहेका विद्यार्थी ताली बजाउँदै उफ्रिए र नारा लगाउदैं छात्रावासतिर गए– ‘असर्फी खपटाको फुट्यो पोल, गफाडी गुरूको फुट्यो ढोल !‘  विद्यार्थी अर्को दिन बिहान उठ्दा गुरूको निवासको ढोका खुल्लै थियो । कुम्लो–कुटुरो कसेर गुरु कता गएछन्, थाहा भएन । विद्यार्थी घर फर्किए र नयाँ गुरू खोजिदिन अभिभावकहरुलाई आग्रह गरे ।

(यो लोक कथा मैले कक्षा आठमा पढ्दा कुनै पुस्तकमा पढेको थिएँ । सम्झनाको भरमा यो कथा लेखेको छु तर भाव फरक परेको छैन भन्नेमा दृढ छु । अहिले त्यो पुस्तकको नाम र मूल लेखक/ संकलकको नाम सम्झना भएन । यसका वास्तविक लेखक/ संकलकलाई हार्दिक नमस्कार छ ।)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम विभागले मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

मुक्तिनाथतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको छ ।

ठेकेदारको लापरबाहीले केही पुलमा एक दशकमा १० प्रतिशत मात्र काम भएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–काममा भार बढ्नेछ, रमाइलोमा खर्च हुनेछ । वृष– व्यापारमा फाइदा हुनेछ, आर्थिक सहयोग मिल्नेछ । मिथुन– सरकारी फाइदा हुनेछ, सन्तानबाट…

अछामको रामाराेशन गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ ।