डा. कुन्दन अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार । पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा सशक्त रुपले सक्रिय हुँदै आउनुभएको छ । अर्याल पत्रकारिताको प्राध्यापक समेत हुनुहुन्छ । उहाँले पढाएका थुप्रै विद्यार्थी अहिले पत्रकारितामा क्रियाशील छन् । पत्रकारितासँगै राजनीति र समाजको विविध पक्षलाई गहिराईबाट बुझ्नु भएका अर्यालले प्रधानमन्त्री कार्यालयमा गहन जिम्मेवारी बहन गरिरहनुभएको छ । बिहान झिसमिसेदेखि राति अबेरसम्म नै व्यस्त हुनुहुन्छ उहाँ । व्यस्तताको बाबजुद जनता टेलिभिजनको कार्यक्रम ‘‘सन्दर्भ’ मा उहाँले सामसामयिक धारणा राख्नुभयो । प्रस्तुत छ ‘सन्दर्भ’ मा उहाँसँग गरिएको कुराकानी :
सरकारका नियमित काम कारबाहीमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाले कत्तिको असर पारेको छ ?
स्वास्थ्यमा समस्या आउँदा नियमित कार्यमा असहजता आउनु स्वभाविक हुन्छ । तर स्वास्थ्यमा केही समस्या भएपनि सरकारका नियमित काममा भने कुनै असर परेको छैन । प्रधानमन्त्रीेले हरेक समय उच्च मनोबलका साथ काम गरिरहनुभएको छ । बिहानदेखि साँझसम्म अत्यन्तै खटेर काम गर्नुहुन्छ । सिंगापुरमा उपचारकै क्रममा रहँदा पनि उहाँले मन्त्रीहरुसँग नियमित अपडेट लिने, सोध्ने, परामर्श गर्ने तथा निर्देशन गर्ने काम निकै तदारुकताका साथ गर्नुभयो ।
हाइहेलो मात्रै भएको भनिएकाे प्रधानमन्त्रीले सिंगापुर रहँदा बोलाएको मन्त्रिपरिषद् बैठकको आलोचना भयो नि ?
त्यत्रो गम्भीर विषयलाई हाइहेलो मात्रै त भन्न नमिल्ला ? देशका सञ्चालकहरुबीच बसेको बैठक हाइहेलो कदापि हुन सक्दैन । त्यहाँ प्रधानमन्त्रीको स्वास्थ्य स्थिति कस्तो थियो ? भन्ने जानकारी पनि भएको थियो । तर त्यो तपाइँले संकेत गरेको जस्तो मन्त्रिपरिषदको बैठक चाँहि होइन । प्रधानमन्त्रीले देशमा भइरहेका घटनाबारे चासो लिन मनत्रीहरुसँग परामर्श मात्रै गर्नुभएको अर्थमा बुझ्दा ठिक हुन्छ । राष्ट्रप्रति उहाँको संवेदनशीलता कति छ ? भन्ने त्यहाँ देखिन्थ्यो । पछिल्लोसमय बितेको १ वर्ष संघीयता कार्यान्वयनका लागि सिकाई र वैधानिक बाटो तय गर्ने सन्दर्भमा केन्द्रित रह्यो तर अब सरकारले रफ्तार लिने बेला आएको प्रधानमन्त्रीले बताउँदै आउनुभएको छ । मन्त्री र सचिवलाई आफ्नो - आफ्नो मन्त्रालयका गतिविधिबारे समीक्षा गर्दै, अपूर्णतालाई ख्याल गरेर अगाडि बढ्न निर्देशन दिइरहनु भएको छ ।
तर यत्रो जनसर्मथन हुँदाहुँदै पनि नेकपा सरकारले चुनावअघि गरेका घोषणा अनुसार काम गर्न सकेन भन्ने गुनासो बढिरहेको छ, यसलाई कसरी लिनुभएको छ ?
काम नभएको होइन । धेरै काम भएका छन् । सरकारले दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिरहेको छ । भइरहेका कामलाई हामीले गहिराईबाट नियाल्नुपर्छ । उदाहरणको लागि बाटोमा खाल्डो परेको मात्रै होइन, पुरिएको पनि देख्नुपर्छ । धुलो उडेको मात्रै होइन नउडेको पनि देख्नुपर्छ । भ्रष्टाचार बढेको देख्दा नियन्त्रणमा भइरहेका पहललाई ध्यान दिनुपर्छ । सरकारका कामलाई राम्ररी नियाल्ने हो भने केही पनि नभएको भन्ने होइन, धेरै महत्वपूर्ण काम भएका छन् । यसमा हामीले कसरी मूल्यांकन गरिरहेका छौं ? भन्ने पनि निर्भर हुन्छ । कुनै एउटा घटनालाई लिएर सरकारको आलोचना गर्नु राम्रो होइन । मुख्यतया प्रधानमन्त्रीले भन्नुभए जस्तै नेपाल हरेक दिन एक कदम अगाडि बढ्नेगरी काम भइरहेको छ । विगतका सरकारको तुलनामा अहिलेको सरकारले निकै राम्रा काम गरिरहेको छ ।
सरकारले हरेक दिन एक कदम अघि भनिरहँदा निजगढ विमानस्थल, मेलम्ची र महत्वपूर्ण लोकमार्गको विकासजस्ता राष्टिय गौरवका आयोजनामा आशातीत काम हुन सकिरहेको छैन नि ?
ती सबै ठाउँमा काम पनि त भइरहेका छन् नि ? मेलम्चीको सन्दर्भ एकै दिन अथवा आजकाे मात्रै कुरा होइन, शुरुवातदेखि नै यसको व्यवस्थापन तथा नियन्त्रणमा समस्या हुँदै आयो । अन्य योजनामा पनि स-साना कुराले अवरोध गरिरहेको देखिन्छ । तर यसलाई समग्रतामा हेर्ने हो भने मेलम्ची जतिसक्दो चाँडो सम्पन्न गर्न सरकार दृढताका साथ लागि परेको छ । मुलुकमा पछौटेपन र विकास निर्माणमा ढिलासुस्ती अहिले भर्खरै आएको र यो सरकारले ल्याएकाे समस्या हाेइन । इतिहासदेखिका सबै समस्याको निराकरण गर्दै देशलाई निश्चित गति दिने दायित्व यो सरकारको काँधमा आएको छ ।
https://youtu.be/5as55j-S8bQ