नारायण थापाभक्तपुर । बिपी नेत्र प्रतिष्ठानले नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा प्रदेश ३ अन्तर्गतका ६ जिल्लाका सामुदायिक विद्यालयमा दृष्टि जाँच कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रम भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक, धादिङ, र मकवानपुरमा सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।
भक्तपुरमा सरोकारवालालाई अभिमुखीकरण गरी शुरु भएको यस अभियान अन्तर्गत विद्यार्थीलाई दृष्टि जाँच सम्बन्धि तालिम दिई उनीहरुद्धारा नै आफ्ना सहपाठीको दृष्टि जाँच गरिने तालिम संयोजक राम केसीले बताउनुभयो ।
आँखाको समस्याका कारण विद्यार्थीको पढाई समेत कमजोर हुने गरेको तथ्य उल्लेख गर्दै केसीले बाँके, बर्दिया, सुर्खेत र जाजरकोटमा यो कार्यक्रम संचालन गरिसकिएको बताउनुभयो । उहाँले नमुना परीक्षणका क्रममा विद्यालय पढ्ने २० देखि २५ प्रतिशत विद्यार्थीमा दृष्टिदोष पाइएको बताउनुभयो ।
यो कार्यक्रम देशभर लैजान सके विश्वमै उदाहरणीय हुने र त्यो पहल भइरहेको बताउँदै संयोजक केसीले अन्धोपन निवारणमा विद्यार्थीको प्रयोगबाट प्रभावकारी देखिएको उल्लेख गर्नुभयो ।
प्रत्येक जिल्लाका जुनियर तथा युवा रेडक्रस सर्कल गठन भएका २० वटा विद्यालयका दरले जम्मा १ सय २० विद्यालयका करिब २४ हजार विद्यार्थीको आँखा परीक्षण गरी निशुल्क जाँच तथा चश्मा वितरण गरिने भएको छ । यस हिसाबले एक जिल्लामा २० विद्यालयका जम्मा ४ हजार विद्यार्थी समेटिने तर विद्यालय छनोट गर्दा छात्रा बढी भएका कम्तिमा २ सय विद्यार्थी भएका सामुदायिक माबिलाई प्राथमिकता दिने परियोजनाले जनाएको छ ।
परियोजनालाई प्रभावकारी बनाउन प्रत्येक जिल्ला र स्थानीय तहमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी प्राथमिकताको आधारमा विद्यालय, स्वास्थ्यकर्मी, शिक्षक विद्यालय व्यवस्थापन प्रतिनिधि र विद्यार्थी छनोट गरी तालिम सञ्चालन गरिने बताइएको छ ।
परियोजन अन्तर्गत विद्यार्थीद्धारा सहपाठीको दृष्टि जाँच गरी थप उपचार आवश्यक पर्नेको नजिकैको चश्मा पसल र आँखा उपचार केन्द्रमा थप जाँच गरी दृष्टि कमजोर भएका विद्यार्थीलाई चश्मा वितरण गरिने केसीले बताउनुभयो । विद्यालयलाई आँखा जाँच्नका लागि विभिन्न ८ सामग्री पनि उपलब्ध गराईने उहाँले बताउनुभयो ।
नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा भक्तपुर शाखा सभापति मनोज थापाले परियोजना अन्तर्गत नेत्र विशेषज्ञद्धारा आँखा जाँच तथा निशुल्क चश्मा वितरण गरिने छ । नेपालमा चेतनाको कमी, उपचार सेवामा पहुँच नपुग्दा, स्वास्थ्यकर्मीको अभाव, चश्मा नलगाउने विभिन्न कारणले बालबालिकामा आँखाको समस्या देखा परी पढाई समेत अवरुद्ध हुने गरेको र जीवन नै जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो । समयमै आँखा जाँच नगर्दा र चश्मा नलगाउँदा आँखा अल्छी हुने र पछि उपचार हुन नसक्ने सम्मको जोखिम बढ्ने गर्दछ ।
कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, सुर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मी, जिल्ला स्वास्थ्य कार्यालयका पार्थमणी न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले परियोजनाको प्रभावकारितामा जोड दिनुभएको थियो । प्रतिष्ठानले सामुदायिक स्वास्थ्य कार्यक्रमको विद्यालय स्वास्थ्य अन्तर्गत यस कार्यक्रमका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यु एसए आईडी) को सहयोग प्राप्त गरेको छ ।
प्रतिष्ठानले लोकन्थलीमा विगत ७ वर्षदेखि बाल, आँखा, कान, नाक र घाँटी अस्पताल एवं पुनःस्थापना सेवा सञ्चालन गरी सम्पूर्ण उमेर समूहका व्यक्तिका लागि समेत यी सेवा प्रदान गरिरहेको छ ।
प्रतिष्ठानले गाउँ गाउँमा पुगेर पहुँच नपुगेका नागरिकलाई बाह्य सामुदायिक स्वास्थ्य सेवा मार्फत पनि आँखा तथा नाक, कान घाँटीको स्वास्थ्य सेवा दिइरहेको परियोजना संयोजक विजय खत्रीले बताउनुभयो ।
देशभरबाट स्नायुजन्य अपाङ्गता (दृष्टि, श्रवण अपाङ्गता) भएका ३ देखि ८ वर्षका बालबालिकाको विभिन्न सञ्जाल र माध्यमबाट खोज गरी छात्रावास सहितको पूर्व बालविकास सबलीकरण केन्द्रमा निशुल्क जीवन उपयोगी तालिम दिई तथा पुनःस्थापना गरी बालबालिकालाई विद्यालय भर्ना गरेर शिक्षाको ढोका खोल्ने काम पनि गर्दै आएको जनाएको छ ।