काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी भदौ अन्तिम साता राजधानीमा आयोजना हुने भएकोे छ ।राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तल्ला डिइसीसीमा (सेप्टेम्बर १६ तारिखदेखि २२ तारिदसम्म) भदौ ३० गतेदेखि असोज ५ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९’ मेला आयोजना हुन लागेको हो ।
पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता/चप्पल, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध हुने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ ।
एक सातासम्म चल्ने मेलामा पाकिस्तानका ६० भन्दा बढी प्रतिष्ठित व्यापारीहरुको स्टल रहने छन् । ललितपुर उद्योग वाणिज्य संघको प्रवद्र्घनमा आयोजना हुन लागेको मेलामा पाकिस्तानबाट ३० वटा स्टल रहने छन् । मेलामा यसपालीदेखि नेपाल, भारत र बंगलादेशबाट पनि प्रतिष्ठित उद्योगका उत्पादनहरु समेटिएका स्टलहरु राखिने आयोजक पक्षले जनाएको छ ।
मेलाले आर्थिक गतिविधिलाई बढवा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले बताउनुभयो । पाकिस्तानमा निर्मित छालाका सामग्रीले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उहाँले मेलामार्फत दुवै देशहरुको उत्पादनको प्रवद्र्घनमा सघाउ पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
यस्तो मेलाले दुवै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले विगत छ दशकयताको द्धिपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हुने बताउनुभयो । मेला दुवै मुलुकबीचको जनतासँगको सम्बन्ध विस्तार गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै महर्जनले आर्थिक गतिविधिलाई बढवा दिएर दुवै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न मेला फलदायी हुने धारणा राख्नुभयो ।
यसपटक मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, बालबालिकाका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत रहने आयोजक पक्षले जानकारी दिएको छ ।