सुरज श्रेष्ठकाभ्रे । धुलिखेल नगरपालिका–२, रविओपीका ३ सय ६५ घरधुरीमा ‘एक घर एक धारा’ परियोजनाको शुरुवात गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले शुक्रबार परियोजनाको शुरुवात गर्नुभएको हो । काभ्रेमा विकासका विभिन्न परियोजनाहरु समयमै सम्पन्न हुने गरेका छन् । मन्त्री बास्कोटाले पनौती–लुभुलामाटार हुँदै ललितपुरको ग्वार्को जोड्ने तथा बनेपा–रविओपी–पाँचखाल सडकको शिलान्यास गर्नुभएको थियो ।
सडक मार्गको शिलान्यास गर्दै बास्कोटाले भन्नुभयो, ‘सरकारले काम गरेन भन्नेहरुले शहर होइन गाउँमा नजर लगाउनु पर्छ, अबको तीन वर्षमा सुखी नेपाली सम्वृद्ध नेपालको गुरुयोजना पुरा गर्न सरकार लागिपरेको छ ।’ बनेपा–रविओपी–पाँचखाल सडकलाई अरनिको राजमार्गको वैकल्पिक मार्गको रुपमा निर्माण गरिने बास्कोटाको भनाइ थियो ।
कार्यक्रममा कुशादेवी माविका एसईईमा उतिर्ण विद्यार्थीलाई सम्मान तथा पाँचखाल–१० मा नव निर्मित भवनको हस्तान्तरण भएको थियो । काभ्रेमा भएको सवारी चापलाई न्यूनिकरण गर्नका लागि अरनिको र बिपी राजमार्गलाई छिट्टै चारलेनको निर्माण कार्यको शुरु हुने बास्कोटाले बताउनुभयो ।
नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जुले भन्नुभयो, ‘गतवर्ष नगरपालिकाले–९ सय घरलाई स्वच्छ खानेपानीको व्यवस्था गरेका थियौं, यसवर्ष पनि दुई हजार घरमा खानेपानी पुर्याउने व्यवस्था गर्नेछौ ।’
खानेपानीको चरम अभाव रहेको काभ्रेका भमुण्डेबेसी, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध लगायतका स्थानमा करिब पाँच अर्ब रुपैयाँको लागतमा खानपानी आयोजना सञ्चालन हुनलागेको छ ।