बिआरआईबाट सबै राष्ट्रलाई लाभ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) बाट सबै राष्ट्रहरुले लाभ लिन सक्ने दाबी गर्नुभएको छ ।
नेकपाका विदेश विभाग प्रमुख समेत रहनुभएका वरिष्ठ नेता नेपालले चीनका राष्ट्रपति सी जिन पीङले सबै राष्ट्रको आर्थिक गतिविधिलाई बढाउने उद्देश्यका साथ अघि सारिएको अवधारणालाई कुनै पनि राष्ट्रले अन्यथा लिन नहुने स्पष्ट पार्नुभयो ।
काठमाडौंमा आइतबार आयोजित ‘बिआरआई’ बहस विषयक विचार गोष्ठीको समापन गर्दै नेपालले अवधारणाले कुनै पनि राष्ट्रमाथि अन्य राष्ट्रले हस्तक्षेप गर्न नपाउने व्यवस्थालाई पनि जोड दिइएको स्पष्ट पार्नुभयो ।
वरिष्ठ नेता नेपालले बिआरआईले कुनै एक राष्ट्रको मात्रै नभई विश्वका सबै राष्ट्रहरुको आर्थिक विकास र कनेक्टिभिटीमा जोड दिएकाले यसबाट चीनले मात्रै लाभ लिन खोजेको भन्ने भ्रममा पर्न नहुने तर्क पनि गर्नुभयो ।