बागलुङ । लाखौं रुपैयाँ खर्चेर जडान गरिएका सिसी क्यामेरा मर्मत र संरक्षण अभावमा अलपत्र परेका छन् । शहरी सुरक्षाका लागि जडित सिसी क्यामेरा नाममा मात्र सीमीत छन् ।
बागलुङ बजारमा जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा बिग्रेका छन् । ४ वटा चालु छन् । २०७१ साल फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय मिलेर सिसी क्यामेरा जडान गरेका थिए । मुख्य सडक, चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रेर काम नलाग्ने भएपछि सुरक्षा चुनौती थपिएको छ । सामाजिक, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले क्यामेरा जडान गरिएको थियो ।
समीक्षालय चोकका २, हल्लनचोकका २, अदालत चोकको १, लोकतान्त्रिक चोकका २, धवलागिरिचोकको १, जीपपार्कका २, श्रीनगरटोलको १, शिवधाराचोकको २, लालीगुराँसचोकका २ र देउरालीचोकमा जडान गरिएको क्यामेरा बिग्रेको हो । बिग्रनेमा अधिकांश व्यस्त सडक र ठूलो आवधि भएको बागलुङ नगरपालिका–२ का मुख्य चोकका क्यामेरा छन् । बजेट अभावमा क्यामेरा मर्मत हुन नसकेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युराज राज भण्डारी बताउनुभयो ।
मर्मतमा करिब सात लाख रुपैयाँ खर्च लाग्ने जनाइएको छ । नगरपालिकाले क्योमरा नियमित संचालनको लागि सहयोग उपलब्ध नगराएको संघको गुनासो छ । संघकै पहलमा अघि बढेको सिसी क्यामेरा जडान कार्यमा नगरपालिकाको ३० लाख र संघको २० लाख रुपैयाँको लगानी भएको थियो । कागजातसहित मर्मतको लागि माग गर्न आएमा तत्काल रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकै कारण क्यामेरा मर्मत र सञ्चालनमा समस्या नआउने उपप्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।