किटजन्य रोग डेंगुः यसरी हुन्छ नियन्त्रण

पृष्ठभूमि

सन् १९५० माथाइलैण्ड र फिलिपिन्समा महामारीका रुपमा तथा १९७० पहिले विश्वका ९ वटामात्र मुलुकमा देखिएको डेंगु ज्वरो अहिले अफ्रिका, वेष्टर्न पेसिफिक, अमेरिका, दक्षिण पूर्वी एशियाली मुलुकलगायत महादेशका सयभन्दा बढी मुलुकमा फैलिएको छ । विशेष गरेर डेंगु ज्वरोले वेष्टर्न पेसिफिक तथा दक्षिण एशियाली मुलुक भने गम्भीर रुपले प्रभावित भएको पाइन्छ । वंगलादेश, श्रीलंका, भारतलगायत मुलुकमा प्रभुत्व जमाएको डेंगु ज्वरोले सन् २००४ मा मात्र नेपालमा भित्रिएको थियो । तर अहिले डेंगु ज्वरो अमेरिका र दक्षिण एशियाको सबभन्दा पहिलो अस्पतालमा भर्ना गराउने तथा मृत्युको कारण बनेको छ ।

वर्तमानअवस्था

गत बैशाखदेखि फैलिएको किटजन्य रोग डेंगुबाट आजसम्म ७ हजारभन्दा बढी बिरामी सरकारी अस्पतालमा पुगिसकेका छन् । तर सरकारी स्वास्थ्य संस्थामा परीक्षण नगराई निजी स्वास्थ्य संस्थामा परीक्षण/उपचार गराएका बिरामीसमेत जोड्दा ७० हजार नाघेको अनुमान गरिएको छ । हालसम्म ६४ भन्दा बढी जिल्लामा फैलिएको डेंगु ज्वरोबाट आजसम्म १२ जनाजतिको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । डेंगु ज्वरो फैलिएका ६४ भन्दा बढी जिल्लामध्ये चितवनमा मात्र सवैभन्दा बढी अर्थात् १ हजार जनाभन्दा बढी विरामी भेटिएका छन् भने भरतपुर महानगरपालिकामामात्र ८ सय जना संक्रमित छन् । चितवनकै पुल्चोक र कमलनगरमा बढी डेंगुबाट संक्रमित भएका छन् । ज्वरो आएर परीक्षणका लागि सरकारी अस्पतालमा आएका मध्ये झण्डै २ हजार ९ सय बिरामीको परीक्षण गर्दा १ हजार ३६ जनाभन्दा बढी डेंगुबाट संक्रमित भएको पुष्टि भएको छ । डेंगु ज्वरो हाल नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रुपमा देखिएको छ ।

परिचयः

डेंगु ज्वरो इडिस इजिप्टाई र इडिस अल्वोपिक्टस प्रजातीको पोंथी लामखुट्टेद्वारा सार्ने किटजन्य सरुवा रोग हो । दिउँसै टोक्ने इडिस लामखुट्टेले फ्लेभीभाइरस प्रजातीको भाइरस (जिवाणु) मानिसको रगतमा प्रवेष गराएमा संक्रमण हुन्छ । यो रोग सबै उमेरका व्यक्तिलाई सर्न सक्छ, तर बालबालिका, बुढापाका, दीर्घरोगी, रागसँग लड्न सक्ने क्षमता कम भएका, पेटका पुराना (पेप्टिक अल्सर भएका) बिरामी, गर्भवती, मोटोपना भएका व्यक्तिलाई छिटो संक्रमण हुन सक्छ । डेंन१, डेंन२, डेन३ र डेंन४ गरी डेंगुज्वरो रोग चार किसिमका हुन्छन् । तर डेंगु२ बढी खतराजनक हुन्छ । डेंगु ज्वरो ग्रामीण भन्दा शहरी क्षेत्रका गरिब बस्तीमा बढी पाइएको छ । किनभने शहरका औद्योगिक क्षेत्रलगायत चारैतिर जथाभावी फालिने खुला टायर, ट्युव, फुटेका सीसा, गमला, बोतल, कुलर, खुला खानेपानीको टंकीमा भरिएको सफापानीमा इडिस लामखुट्टेले फुल पार्छ, पछि लार्भा र प्युपामा विकसित भई अन्ततोगत्वा रगत चुस्ने वयष्क इडिस लामखुट्टे बन्दछ । यसरी विकसित इडिस लामखुट्टे नै डेंगुको भेक्टर हो ।

कसरी सर्छः

इडिस इजिप्टाई वा इडिस अल्बोपिक्टस जातको शरीरभरी बुट्टा भएको पोंथी लामखुट्टेले डेंगुज्वरोद्वारा संक्रमित बिरामीलाई टोक्न पाएमा लामखुट्टे संक्रमित भएको हुन्छ, अनि यसरी संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्न पायो भने यसका जिवाणु (भाइरस) रगतको माध्यमबाट स्वस्थ व्यक्तिलाई सार्न सक्छ । यसरी डेंगुका जिवाणुद्वारा संक्रमित व्यक्तिलाई डेंगुज्वरो सर्दछ ।

चिन्ह र लक्षणहरु

डेंगु ज्वरोका भाइरस रगतमा प्रवेष गरेको ३ देखि १० दिनभित्र डेंगुज्वरोको चिन्ह र लक्षण देखिन्छन्, जसमा ९० प्रतिशत सामान्य ज्वरोका बिरामी हुने र १० प्रतिशतमात्र लाक्षणिक हुने डेंगु ज्वरोद्वारा संक्रमित बिरामीमा शुरुमा सामान्य रुघाखोकी जस्ता लक्षणहरु देखिन्छन् । यसका मूख्य चिन्ह र लक्षणहरुमा टाउको बेस्सरी दुख्ने, उच्च ज्वरो (१०४ डि. फरेनहाइट) आउने, जोर्नीसहित शरीर बेस्सरी दुख्ने, आँखाका गेडी दुख्ने, वाकवाकीलाग्ने र वान्ता समेत हुने, शरीरमा राता डावर आउने, नाक, गिजाबाट रगत बग्ने, समयमै उपचार व्यवस्था नभए कोमामा गई अन्त्यमा मृत्युसमेत हुन्छ ।

डेंगु ज्वरो नियन्त्रणमा चुनौती

बढ्दो जलवायु परिवर्तन, वर्षाको समय, शहरीकरण, औद्योगिकीकरण आदिका कारणले इडिस लामखुट्टे एवम् डेंगु ज्वरो नियन्त्रण गर्न गाह्रो भए तापनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यसबारे ठोस नीति नभएकाले मन्त्रालय बिल्कूलै अकर्मण्ड्य र गैह्रजिम्मेवार प्रमाणित भएको छ । मन्त्रालयले संघीयता कार्यान्वयनको वहानामा ७७ वटा जिल्लाका जनस्वास्थ्य कार्यालयलाई चुस्त संरचना गराउने भन्दै ३५ जिल्लामा घटायो, एक जिल्लालाई तीनवटा जिल्लाको व्यवस्थापनको जिम्मा (उदाहरणका लागि दाङले अर्घाखाँर्ची, कपिलवस्तुसमेत तीन जिल्ला, पाँचथरले इलाम र ताप्लेजु समेतको) लगायो । जिल्लाका विभिन्न जनस्वास्थ्य कार्यक्रम हेर्ने ८ जना सुपरिवेक्षकबाट घटाई ३ जनामा कायम ग¥यो, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, तालिमकेन्द्र, मेडिकल स्टोर कटौती ग¥यो, तर पछि उपाय नलागेपछि संरचना यथावत कायम गरे तापनि सुपरिवैक्षक र भेक्टरबर्न डिजिज कन्ट्रोल सहायक÷निरीक्षकदेखि विशेषज्ञसमेतको दरबन्दीभने काटेको छ । यसो गर्दा एकातिर जनस्वास्थ्य कार्यक्रमको जिम्मेवारी प्राप्त स्वास्थ्य जनशक्ति फाजिलमा पारी जिम्मेवारीबाट पन्छाएको छ, तर तलवभत्ताको आर्थिक दायित्व भने लिएकै छ । फाजिलमा पारिएका डेंगुलगायत भेक्टर वर्न डिजिज कन्ट्रोल गर्ने जनशक्तिलाई तलव, भत्ताभुक्तानी गरेपनि परिचालन गर्न सकेको छैन । अर्कोतिर संघीय, प्रदेश र स्थानीय सरकारसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीचको समन्वयको अभाव छ भने प्रदेश, स्थानीय तह तथा स्वास्थ्य निर्देशनालय र कार्यालयबीच पनि मतान्तर नभएको होइन । स्वास्थ्य कार्यालय र स्थानीय सरकारको तालमेल नमिल्दा हरेक जिल्लामा आपद्कालीन जनस्वास्थ्य समस्या समाधानका लागि गठन गरिएका र्यापिड रेस्पोन्स टिमलाई खटाउन सकेको छैन । यो रोगको निदानगर्न ¥यापिड डायग्नोष्टिक किटको आवश्यकता पर्छ, तर जिल्लाहरुबाट र्यापिड डायग्नोष्टिक किटको माग भइरहेको छ, तर मागबमोजिम पूर्तिकोे साटो बिरामीको रगत परीक्षणका माध्यमबाट रोगको निदान तथा व्यवस्थापन गर्न निर्देशन दिइएको छ । सरकारी अस्पतालमा डेंगु ज्वरोको परीक्षण निशुल्क हुन्छ, तर परीक्षण किट प्रयाप्त पुर्याउन सकेको छैन । निजी अस्पतालले यसको परीक्षण गर्दा चर्को शुल्क लिएको गुनासो बढेपनि स्वास्थ्य मन्त्रालयबाट अनुगमन तथा कार्यवाही गर्न सकेको छैन ।

रोकथाम

इडिस लामखुट्टेको टोकाईबाट बच्नुनै डेंगु रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो । यो रोग विरुद्ध खोप हाम्रो मुलुकमा उपलब्ध छैन । त्यसैले आफ्नो निवास वरीपरी समय–समयमा (हप्तामाएकचोटी) निरीक्षण गरी पानी भरिएका खाल्टामा माटोले पुर्ने वा मट्टितेल, डिजेल, पेट्रोल, मोबिल हालिदिने, फुटेका सीसा, बोतल, खुला फालिएका टायर, ट्युव, गमला तुरुन्त हटाउने, कुलर, पानी भरिएका खुला टंकी, बाल्टीलाई छोपेर राख्ने, ५ दिनभन्दा बढी एउटै भाँडोमा पानी नराख्ने, घरबाट निस्कँदा पूरा शरीर ढाक्ने लुगा लगाउने, लामखुट्टेको टोकाईबाट बँनमल्हम (रिप्लेण्ट)लगाउने, दिउँसो वा राती सुत्दा झुलभित्र सुत्ने । सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली लगाउनु लामखुट्टेबाट वच्ने उत्तम उपाय हो । साथै लामखुट्टेका फुल, लार्भा, प्युपा र वयष्कलाई ‘खोजीखोजी नष्ट गर्ने’ अभियान चलाउनु पर्दछ । यो रोग नियन्त्रण गर्न लामखुट्टेलाई नै नष्ट गर्ने मामिलामा हरेक नागरिक सचेत हुनुपर्छ । शहरी स्तरदेखि समुदाय स्तरसम्म डेंगु ज्वरो र यसको नियन्त्रणबारे व्यापक जनचेतना फैलाउनु पर्दछ । बेस्सरी कपाल दुख्ने, आँखाको गेडी र शरीर दुख्ने, ग्रन्थी सुन्निने, बिमिरा निस्कने, वाकवाकी र वान्ता आउने मध्ये कुनै दुईवटा लक्षण देखिना साथ तुरुन्त नजिकको सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराउनु पर्दछ ।

उपचार

डेंगु ज्वरो भाइरसबाट संक्रमित हुने हुँदा यस रोगको खास उपचार छैन । तर लाक्षणिक उपचार गर्नु पर्दछ भने घरेलु उपचार पनि गर्न सकिन्छ । जस्तै पोषिलो झोल खानेकुरा, आराम, सँधै खाने खानेकुरा खानु अत्यन्त राम्रो उपचार हो भने ज्वरो नियन्त्रण र शरीर दुखाई कम गर्न सिटामोल ६–६ घण्टामा दिन सकिन्छ, तर दुखाई कम गर्न एसेटाइल सेलीसैलिक एसिड (एस्पिरीन) र इबुप्रोफेन (ब्रुफेन ÷फ्लेक्सन) जस्ता औषधि कदापि खानु हुँदैन । जलवियोजन हटाउन पुनर्जलीय झोल वा प्रशस्त झोलिलो पदार्थ खानु पर्दछ र धेरै आराम गरी रहनु पर्दछ । तर फरक प्रकारको ज्वरो आउने, ३÷४ दिनसम्म पनि ज्वरो कमनहुने, वेस्सरी कपालदुख्ने, आँखाको गेडी र शरीर दुख्ने, बढी ज्वरो आउने, नाक, गिंजा र अन्य अंगबाट रगत बगेमा तुरुन्त नजिकको सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराउनु पर्दछ ।

डेंगुका बिरामीलाई ३ देखि ७ दिनसम्ममा ज्वरो नियन्त्रण भए तापनि गम्भीर रुपले पेट दुखेमा वा निरन्तर वान्ता भएमा, छालामा राता विमिरा, नाक, गिंजाबाट रगत वगेमा, वान्तावा दिसामा रगत देखिएमा, शरीर पहेंलो, रुखो, छाला चिसो भएमा खतराका संकेत मान्नु पर्दछ र तुरुन्त अस्पताल पुर्याउनु पर्दछ ।

डेंगु ज्वरो नियन्त्रणका उपाय

डेंगु ज्वरो नियन्त्रण गर्न निम्नलिखित उपाय अवलम्वन गर्नु पर्दछः
१. तीनै संघीय, प्रदेश र स्थानीय सरकारले बजेट व्यवस्था गर्नु पर्दछ ।
२. सरकारले स्वास्थ्य संस्थाको मागअनुसारका डेंगु परीक्षण किट आपूर्ति गर्नु पर्दछ । साथै हरेक जिल्ला स्वास्थ्य कार्यालयबाट उपचार व्यवस्थापन गर्न जनशक्तिको व्यवस्थापन र तालिम प्रदान गर्नु पर्दछ ।
३. सफा पानीमा पारेका लामखुट्टेका फुल र हुर्कंदै गरेका लार्भा, प्युपा एवम् वयश्क लामखुट्टटेलाई खोजी–खोजी नष्ट गर्न सरकारले किटजन्य रोगबारे जानकार तर अचेल फाजिलमा पारिएका जनशक्तिलाई परिचालन गर्नु पर्दछ ।
४. किटजन्य रोग नियन्त्रणमा महत्वपूर्ण जनशक्ति भेक्टर कन्ट्रोल सहायकदेखि विशेषज्ञको दरबन्दी कायम गरी परिचालन गर्नु पर्दछ ।
५. हाल ४० जिल्लामा रहेका भेक्टर कन्ट्रोल सहायक र ओलो सहायक लगायत जनस्वास्थ्यकर्मीलाई सर्भेक्षण एवम् सर्च एण्ड डिस्ट्रोए गर्ने काममा परिचालन गर्नु पर्दछ ।
६. फाजिलमा पारिएका ३५ जना भेक्टर कन्ट्रोल सहायक र ३५ जनाओलो सहायकलाई दरबन्दीकायम गरी काममा परिचालन गर्नु पर्दछ ।
७. सम्पूर्ण तहका स्वास्थ्य संस्थाका जनशक्तिलाई उच्च सतर्कता अपनाउन लगाउने र डेंगु ज्वरोको शंका लागेका बिरामीको तुरुन्त परीक्षण र व्यवस्थापन गर्ने र यस रोगको बारेका स्वास्थ्य, शिक्षा र सञ्चार सन्देश प्रवाह गरी नागरिकलाई सचेत गराएमा डेंगु ज्वरो नियन्त्रण हुन्छ।

(लेखक जनस्वास्थ्य प्रवर्द्धनविद् हुनुहुन्छ)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।